मेयरकप स्नुकरको क्वार्टरफाइनलमा प्रवेश गरेका सोम लामा (बायाँ) र नितेश खण्डेलवाल (दायाँ) ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका नितेश खण्डेलवाल र सोम लामा बुटवल मेयरकप स्नुकर प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेका छन् । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा जारी प्रतियोगिता अन्तर्गत सोमबारको दुई खेलमा जीत निकाल्दै नितेश र सोमले क्वार्टरफाइनलको यात्रा पूरा गरेका हुन् ।

बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा भएको प्रिक्वार्टरफाइनल चरणको खेलमा हेटौंडाको प्रतिनिधित्व गरेका नितेशले काठमाडौं महानगरपालिकाका फूर्वा दोर्जे शेर्पालाई ५–२ को सेटले पराजित गरेका छन् । हेटौंडाकै अर्का खेलाडी सोम लामाले पाल्पाका कुनाल श्रेष्ठलाई ५–२ को सेटले पराजित गरेका हुन् ।

प्रतियोगिता अन्तर्गत आज मंगलबार क्वार्टरफाइनल चरणको खेलहरु सञ्चालन हुनेछ । क्वार्टरफाइनल चरणको खेलमा नितेशले घरेलु टोली बुटवलका रेजिन श्रेष्ठसँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने सोमले काठमाडौं महानगरपालिकाका कुमार शाहीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । हेटौंडाका नितेश र सोमले क्वार्टरफाइनल चरणको खेलमा जीत निकाल्दै सेमिफाइनको यात्रा पूरा गर्ने योजना बनाएका छन् ।

क्वार्टरफाइनल चरणसम्मका खेल वेष्टअफ ९ मा खेलाइने छ भने सेमिफाइनल चरणको खेल वेष्टअफ ११ मा र फाइनल चरणको खेल वेष्टअफ १३ मा सञ्चालन हुने नितेशले बताउनुभयो । प्रतियोगिता फागुन २४ गतेसम्म सञ्चालन हुने हेटौंडा–४ स्थित बुद्ध स्नुकर हाउसका सञ्चालक पूर्णभक्त लामाले जानकारी दिनुभएको छ । प्रतियोगितामा हेटौंडाका ७ जना खेलाडीहरुको सहभागिता रहेको उहाँले बताउनुभयो । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकासहित रुपन्देही, काठमाडौं, पोखरा, धरान, ललिलतपुर, भक्तपुर, नारायणगढ, इटहरी, बिर्तामोड, बनेपा, परासीलगायतका ठाउँहरुबाट करिब २ सय ५० जनाको हराहारीमा खेलाडीहरुको सहभागिता रहेको उहाँले बताउनुभयो ।

प्रतियोगिताको उपाधि विजेताले ३ लाख ३ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले एक लाख एक हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । हाइएस्ट ब्रेकरले ५५ हजार रुपैयाँ तथा सेमिफाइनलिष्टले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, राइजिङ्ग स्टार र अनुशासनको पालना गर्ने खेलाडीले स्नुकर स्टिक प्राप्त गर्नेछन् ।