हेटौँडा-२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा संगठन दर्ताको गर्दै अनेरास्ववियु (तस्वीर–१), नेविसंघ (तस्वीर–२), अनेरास्ववियु क्रान्तिकारी (तस्वीर–३) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (तस्वीर–४) ।

हेटौँडा : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सहभागी जनाउनका लागि मकवानपुरका विद्यार्थी संगठनले दल दर्ता गराएका छन् । मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, वंशगोपाल बहुमुखी क्याम्पस, मनहरी बहुमुखी क्याम्पस, पालुङ बहुमुखी क्याम्पसका विद्यार्थी संगठनले दल दर्ता गराएका हुन् । यस्तै वन विज्ञान अध्ययन संस्थानले भने मंगलबार मात्र दल दर्ताको कार्यतालिका राखेको स्वतन्त्र विद्यार्थी युनियनका कार्यवाहक अध्यक्ष अमृत देवकोटाले जानकारी दिनुभयो ।

मकवानपुर बहुमुखी क्याम्पसमा ७ वटा विद्यार्थी संगठन दर्ता भएको निर्वाचन अधिकृत सन्देश बिडारीले जानकारी दिनुभयो । यस्तै हेटौंडामा क्याम्पसमा ६ वटा दल दर्ता भएको निर्वाचन अधिकृत मनोज पोखरेलले जानकारी दिनुभयो । मनहरी बहुमुखी क्याम्पसमा पनि ६ वटा दल दर्ता भएका छन् । जसमा अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल समाजवादी बिप्लब र अनेरास्ववियू लगायतका छन् ।

२०७९ साल चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको कार्यकाल आगामी चैत ४ गते कार्यकाल सकिँदैछ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै चैत ५ गते मतदान हुने मिति तय गरेको छ । त्रिभुवन विश्वविद्यालयले मतदाताको सूचि फागुन २१ गते सार्वजनिक गर्नुपर्ने, उम्मेद्वारी दर्ता फागुन २७ गते तय गरेको छ । विद्यार्थीको हकहितको पक्षमा पैरवी गर्ने औपचारिक संस्थाको रुपमा स्ववियुको परिकल्पना गरिएको हो । स्ववियुले क्याम्पसको सञ्चालक समितिमा समेत विद्यार्थीको प्रतिनिधित्व गर्ने गर्दछ ।