श्रमिक बालकलाई बाल हेल्पलाइन लाग्दै ।

हेटौंडाः बालश्रमिक उद्दार तथा पुनस्र्थापना उपसमितिले हेटौंडा उपमहानगरपालिकाको २, ६ र ११ नम्बर वडामा स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । हेटौंडा उपमहानगरपालिका, श्रम तथा रोजगार कार्यालय बागमती प्रदेश हेटौंडा, बाल हेल्पलाइन मकवानपुर, सञ्चारकर्मी, जिल्ला प्रहरी कार्यालय र वडा सहजकर्ताको टोलीले गरेको संयुक्त अनुगमन तथा निरीक्षणको क्रममा आइतबार ३ बालकको उद्दार गरिएको हो । हेटौंडा–२ स्थित लुम्बिनी पराठा एण्ड रोटी हाउसबाट आन्दाजी १५ वर्षीय बालकको उद्दार गरिएको छ । उद्दार गरिएका बालक यसअघि बारा जिल्लाको सिमरास्थित होटलमा काम गर्ने गरेको बताइएको छ । मकवानपुरगढी–७, सुकौराका ती बालकलाई नातेदारले पराठा हाउसमा काम गर्न ल्याएको होटल सञ्चालक अर्जुन श्रेष्ठले जानकारी दिनुभएको छ ।

कक्षा–८ मा पढ्दापढ्दै बालकले बीचमै पढाइ छाडेको बताइएको छ । लुम्बिनी पराठा एण्ड रोटी हाउसका सञ्चालक श्रेष्ठका अनुसार उक्त बालक बारम्बार घरबाट भागेर काम गर्न हिँड्ने गरेका छन् । बालकको जन्मदर्ता फेला नपरेका कारण कति वर्षको हो भन्ने यकिन भएको छैन । श्रम तथा रोजगार कार्यालय हेटौंडाका भीम शर्माले कति वर्षको बालक हो यकिन गरेर १५ वर्ष पुगेको हकमा सरकारी प्रक्रिया पुर्याएर अभिभावकको सहमतिमा श्रममा लगाउने या नलगाउने निर्णय लिइने बताउनुभयो ।

हेटौंडा–६, हात्तीलेटमा एक बालकलाई काममा लगाएको भन्ने जानकारी प्राप्त भएपछि १२ वर्षीय बालकलाई उद्दार गरिएको छ । करिब ३–४ दिनदेखि भवनाथ सापकोटाको मिलमा काम गरिरहेको भन्ने जानकारी भएपछि बालकको उद्दार गरिएको हो ।

मिलका सञ्चालकले बालकलाई नसक्ने काम नलागएको दावी गर्नुभएको छ । यसअघि बालकले घाँस काट्ने काम गर्ने गरेको बताइएको छ । पढ्न नसकेका कारण कक्षा–४ मा पढ्दापढ्दै पढाइ छोडेको बालकको भनाई छ । मकवानपुरगढी–७, सुकौराका ती बालकको जन्मदर्ता नभएको र आमाको बिवाह दर्ता नगरेको मिलका सञ्चालक सापकोटाको भनाई छ ।

बाल हेल्पलाइन मकवानपुर संयोजक झविन्द्र ज्ञवालीले बालश्रममा उक्त बालक पर्नसक्ने अवस्थालाई मध्यनजर गरी बालकको उद्दार गरिएको बताउनुभयो । बालकसँग यकिन बयान लिने उहाँले जानकारी दिनुभयो । कसरी यहाँसम्म बालक आइपुगे र बालक श्रममा संलग्न छन् या छैनन् भन्ने कुराको बालकसँग अनुसन्धान गरिने उहाँको भनाई छ ।
यस्तै, हेटौंडा–११ स्थित रुस्तम ब्याट्री वर्कशपबाट १५ वर्षीय बालकको उद्दार गरिएको छ । वीरगञ्ज स्थायी ठेगाना बताउने ती बालकले ५ महिनादेखि वाइरिङको काम गर्दै आइरहेका छन् । आफूले ५ घण्टा काम गरिरहेको तर पारिश्रमिक भने नपाएको बालकको भनाई छ ।

वर्कशपका सञ्चालक रुस्तम अन्सारीले ती बालकले पानी, हावा चेक गर्ने काम गर्ने गरेको र पारिश्रमिक भने आफूले नदिएको स्वीकारेका छन् ।

हेटौंडा–११ मा रहेको हेटौंडा वर्कशपले आन्दाजी १५ र १७ वर्षीय बालक राखेकोमा सूचना प्राप्त भएपछि हटाएको बताइएको छ । सोही स्थानका एक वर्कशपले पनि एक बालकलाई श्रममा लगाएको र आधा महिनाअघि घर पठाइएको स्थानीयले बताएका छन् ।

हेटौंडा–६, चौघडामा रहेको अनिता होटलले एक बालकलाई काममा राखेको जानकारी पाएपछि हटाउन चेतावनी दिइएको छ । होटल सञ्चालक अनिता घिसिङका अनुसार बालकको जन्मदर्ता बाबुले दिएका छैनन् । बागमती गाउँपालिकाको फापरबारीका ती बालकको आमाले दोस्रो विवाह गरेको र बाबु मदिरा सेवन गर्ने गरेको घिसिङको भनाई छ । सहाराविहीन बालकलाई आफूले आश्रय दिएको उहाँले बताउनुभएको छ । आन्दाजी १४ वर्षीय बालकलाई श्रममा लगाउन नहुने जानकारी प्राप्त भएपछि घर पठाइएको छ । हेटौंडा–२ स्थित साईकृपा नान रोटी पराठा खाजा घरमा पनि निरीक्षण गरिएको छ ।

निष्कृष्ट बालश्रममा लगाए १० हजार रुपैयाँ जरिवाना, ३ महिना कैद वा दुबै सजाय हुने कानुनी व्यवस्था छ । यस्तै जोखिमपूर्ण काममा लगाए ५० हजार रुपैयाँ जरिवाना, एक वर्ष कैद वा दुबै सजाय हुने व्यवस्था छ । १४ वर्ष मुनिका कुनै पनि बालबालिकालाई श्रममा लगाउन पाइँदैन भने १४ वर्षभन्दा माथिका र १८ वर्षभन्दा मुनिका बालबालिकालाई सरकारी सेवा सुविधासहित अभिभावकको सहमतिमा श्रममा लगाउन पाइने कानुनी प्रावधान छ ।
हरेक वर्ष जुन १२ मा बालश्रमविरुद्ध विश्व दिवस मनाइँदै आइरहेको छ । बालश्रमविरुद्ध विश्वव्यापी आन्दोलनलाई बढावा दिने उद्देश्यले उक्त दिवस मनाउने गरिएको हो । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले बालश्रमविरुद्धमा विश्वव्यापी ध्यान केन्द्रित गर्दै यसलाई पूर्णरुपमा अन्त्य गर्न आवश्यक कार्य प्रयासमा ध्यान केन्द्रित गर्दै आइरहेको छ ।
बाल मजदुरको दुर्दशा उजागर गर्दै उनीहरूलाई कसरी मद्दत गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित रहँदै उक्त दिवस मनाइँदै आइरहेको छ । आज सोमबार विश्वभर बालबालिकाको सुनुवाईको अधिकार नारासहित सबैको लागि सामाजिक न्याय, बालश्रमको अन्त्य गरौं भन्दै दिवस मनाइँदैछ ।

दिवसको पूर्वसन्ध्यामा श्रमिक बालबालिकाको निरीक्षण तथा अनुगमन गरी उद्दार गरिएको बाल हेल्पलाइन संयोजक ज्ञवालीले जानकारी दिनुभयो । उच्च तापक्रमका कारण विद्यालय बन्द भएकाले दिवसको दिन कुनै पनि कार्यक्रम आयोजना नगरिएको उहाँको भनाई छ । मौसममा सुधार आएर विद्यालय खुलेपछि कार्यक्रम आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

आईएलओले विश्वव्यापी समुदायलाई बालश्रम उन्मुलन गर्न र आधुनिक दासत्व र मानव बेचबिखनलगायत अन्त्य गर्न तत्काल प्रभावकरी कदम चाल्ने र बालश्रम निषेध र उन्मुलनक लागि सन् २०२५ सम्म सबै प्रकारका बालश्रम अन्त्यका लागि कदम चाल्न जोड दिएको छ । विडम्बना राज्यले प्रभावकारी कदम चाल्न नसक्दा बालश्रम रोक्न सकिएको छैन । बालश्रम रोक्न चुनौतीपूर्ण देखिन्छ ।

हेटौंडा उपमहानगरकाले २०८० मंसिरसम्म बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने अभियान थालेसँगै श्रमिक बालबालिकाको उद्दार र पुनस्र्थापनाको कार्य १९ वटै वडामा अघि बढिरहेको छ । तर राज्यले बालश्रमिकको आधारभूत आवश्यकता परिपूर्ति र जिम्मेवारी लिन नसक्दा बालश्रम न्यूनीकरण हुन कठिन छ । बालमैत्री नगर सहजकर्ता सपना ढुंगानाले उक्त अभियानलाई निरन्तरता दिने बताउनुभयो ।