हेटौँडा : बागमती प्रदेश क्रिकेट संघको आयोजनामा जारी बागमती प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगितामा मकवानपुर जिल्ला क्रिकेट संघ सेमीफाइनलमा प्रवेश गरेको छ । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको समूह चरणको दोस्रो खेलमा जीत निकाल्दै मकवानपुरले सेमीफाइनलको यात्रा पूरा गरेको हो । बिहीबारको खेलमा मकवानपुरले नुवाकोट जिल्ला क्रिकेट संघको टिमलाई १ सय ४८ रनले पराजित गरेको छ ।
टस हारेर पहिले व्याटिङ्ग गरेको मकवानपुरले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ११ रन बनाउन सफल भएको थियो । मकवानपुरबाट तक्षक सिम्खडाले सर्वाधिक ४४ रन बनाए । मकवानपुरका गौरव खड्काले ४० रन, टिम कप्तान सुमन सुनारले ३७ रन, विशाल फूयालले २१ रन र शुभ कंशाकारले १२ रन जोडेका थिए ।
नुवाकोटका लागि अभिराज यादव, दिपेश कुमाल र अजय विश्वकर्माले समान २/२ विकेट लिएका थिए । यस्तै गणेश गौतमले १ विकेट मात्र लिएका थिए । जवाफी व्याटिङ्गमा उत्रिएको नुवाकोटले १५ ओभरमा ६३ रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो । नुवाकोटबाट अभियान बसनेतले नटआउट १७ रन बनाएका थिए भने राजेश रिमालले १४ रन बनाएका थिए ।
मकवानपुरका रिजन ढकालले सर्वाधिक ४ विकेट लिएका थिए । यस्तै, अशिम श्रेष्ठ र पिउश शर्माले समान २/२ विकेट लिएका थिए । म्यान अफ द म्याच रिजन ढकाल घोषित भएका छन् । पहिलो खेलमा पनि रिजन नै म्यान अफ द म्याच भएका थिए ।