हेटौँडा : बुधबार साँझ हेटौँडा–६, विजयपथमा पैदलयात्री वृद्धलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालक हेटौँडा–६, हात्तिलेटका ४२ वर्षीय विदुर सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सापकोटाले चलाएको ना ५४ प १८७६ नम्बरको मोटरसाइकलको ठक्करबाट हेटौँडा–६, रामनगरका ६१ वर्षीय कमल बहादुर बोहोराको मृत्यु भएको छ ।
सापकोटा बिहीबार बिहान साढे ११ बजेको समयमा प्रहरीको सम्पर्कमा आएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बोहोराको उपचारको क्रममा बिहीबार बिहान २ बजेर २७ मिनेटमा चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।