मुलुकको सबैभन्दा बढी प्रभावकारी यातायात भनेको सडक यातायात नै हो । देशभर सडक सञ्जाल र सवारी साधनको संख्या वृद्धि हुँदै जाँदा सडक दुर्घटना पनि बढ्दै गएको छ । बढ्दो सवारी दुर्घटनाले निम्त्याइरहेको क्षति चिन्ताजन बनिरहेको छ । दिनहुँ देशका विभिन्न भागमा सयौं सडक दुर्घटना हुने गरेको छ । सडक दुर्घटनामा परेर दर्जनौं मानिसले ज्यान गुमाउनु परिरहेको छ भने घाइतेको संख्या उत्तिकै छ । सडक दुर्घटना डरलाग्दो गरी बढेका कारण आम मानिसको यात्रा सुरक्षित बन्न सकिरहेको छैन । सार्वजनिक तथा निजी, दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे, यात्रुबाहक तथा मालबाहक सबै प्रकारका सवारी साधन दुर्घटना हुने गरेका छन् । बागमती प्रदेशमा पनि सडक दुर्घटनाको संख्या वर्षेनि बढ्दै गएको छ । भएका सडक स्तरीकरण र फराकिलो हुन नसक्नु, सडकमा सवारी साधन वृद्धि हुँदै जानु, ग्रामीण क्षेत्रमा जथाभावी सडक निर्माण गरी सवारी सञ्चालन गरिँदा दुर्घटनामा वृद्धि भइरहेको छ ।
बागमती प्रदेशका १० वटा जिल्लामा सवारी दुर्घटना १५ प्रतिशतले बढेको प्रहरीको तथ्यांक छ । गत आर्थिक वर्षको साउनदेखि जेठसम्म एक हजार ३८ सवारी दुर्घटना भएकोमा चालु आर्थिक वर्षको जेठसम्म एक हजार एक सय ९४ सवारी साधन दुर्घटनामा परेको प्रहरीको तथ्यांक छ । बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पत्रकारसँग अन्तरक्रिया गर्ने क्रममा चालु वर्षको प्रगति विवरण सार्वजनिक गर्दै सवारी दुर्घटना बढेको तथ्यांक सार्वजनिक गरेको हो । सवारी दुर्घटनामा गतवर्ष ३ सय ७० जनाको मृत्यु भएकोमा चालु आर्थिक वर्षमा २ सय ६१ जनाको मृत्यु भएको बताइएको छ । सवारी दुर्घटनामा गतवर्ष ३ हजार ५ सय ८१ जना घाइते भएकोमा चालु आर्थिक वर्षमा २ हजार ५ सय १८ जना घाइते भएका छन् । सवारी दुर्घटना बढेता पनि मृत्यु हुनेको संख्या र घाइतेको संख्या भने घटेको छ । दुर्घटनामा मृत्यु हुने र घाइतेको संख्या घट्नुमा ठूला सवारी दुर्घटना कम भएको र साना दुईपाङ्ग्रे सवारी धेरै दुर्घटनामा परेको प्रहरीको भनाई छ ।
देशभर सडक यातायातको साधन दुर्घटनाबाट वर्षेनि करिब ४ हजार जनाले ज्यान गुमाउने गरेको पाइन्छ । सवारी दुर्घटनाका कारण वर्षेनि दश हजारभन्दा बढी घाइते हुने गरेका छन् । सवारी दुर्घटनाबाट हुने आर्थिक क्षतिको कुनै हिसाबकिताब पाइँदैन । सडक दुर्घटनाका धेरै कारण भए पनि त्यसबाट हुने क्षति भने एकै प्रकारका छन् । दुर्घटनाको प्रमुख कारण मानवीय लापरबाहीलाई मान्ने गरिएको छ । सडक दुर्घटनाका कारणहरुमध्ये सबैभन्दा बढी चालकको लापरबाही देखिएको छ भने दोस्रोमा तीव्र गतिमा चलाइने सवारी रहेको प्रहरीको निष्कर्ष छ । सडक दुर्घटनाको अन्य प्रमुख कारणमा मादक पदार्थ सेवन (मापसे) र ओभरटेक रहेको प्रहरीको तथ्यांकले देखाएको छ । सवारी दुर्घटनाका मुख्य कारण मानवीय त्रुटी नै रहेको यसले पुष्टिसमेत गर्दछ । सडकको अवस्थाअनुकूल सवारी साधन नहुनु र क्षमताभन्दा बढी भार तथा यात्रु बोक्नु पनि दुर्घटनाका कारण मान्ने गरिएको छ । ट्राफिक नियमको पालना नगर्दा र सडक सुरक्षालाई बेवास्ता गर्दा सवारी दुर्घटनाको दर बढेको हो ।
अधिकांश सडक सवारी दुर्घटनामा मानवीय त्रुटी मुख्य कारण देखिएकाले दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरु नै बढी सचेत बन्नुपर्ने हुन्छ । सवारी दुर्घटना बढ्दै जानुले हामीले प्रयोग गर्ने सडक सुरक्षित छैन भन्ने पुष्टि गर्दछ । सडकलाई सुरक्षित बनाएर सवारी दुर्घटना न्यूनीकरण गर्नु सबै सरोकारवालाको कर्तव्य हो । सडक यातायात नै निर्विकल्प भइरहेको अहिलेको अवस्थामा सुरक्षित सडक बनाउनु आवश्यक छ । यसका लागि तीनै तहको सरकारले सुरक्षित सडकका लागि आवश्यक नीति, नियमको तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गराउनुपर्छ । यातायात क्षेत्रमा देखिएका चरम लापरबाहीको अन्त्यबाटै दुर्घटना न्यूनीकरणको सुरुवात गर्नुपर्छ । यसका लागि यातायात व्यवसायी, चालक, यात्रु तथा सरकारी निकाय सबैले गम्भीर भएर आफ्नो कर्तव्य पालना गर्नु आवश्यक छ ।