हेटौंडाः नेपाल व्यावसायिक बाख्रापालक महासंघ मकवानपुरले बिरोध प्रदर्शनसँगै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । अइतबार महासंघ मकवानपुर अध्यक्ष विवेक सुवेदीको नेतृत्व, महासंघ केन्द्रीय अध्यक्ष गोबिन्द सुवेदीको प्रमुख उपस्थिति र अन्य बाख्रापालक व्यवसायीहरुको उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाइएको हो ।
महासंघले सरकारले पशुपछी तथा बाली बीमाको प्रिमियम शुल्क बीमा कम्पनीहरुलाई भुक्तानी नदिएको र बीमा कम्पनीहरुले बीमा गर्न र दावी भुक्तानी दिन बन्द गरेको विरुद्धमा बिरोध प्रदर्शनसँगै ज्ञापनपत्र बुझाएको हो । बिरोध प्रदर्शनको क्रममा बाख्रापालक व्यवसायीहरुले ब्यानर, प्लेकार्ड बोकेर नारा लगाएका थिए ।
प्रदर्शनकारीहरुले बीमाको दावी भुक्तानी समयमा नै दे, सबै उमेर र अवस्थाका पशुपछीको बीमा गर, कृषि तथा पशुपछीजन्य उत्पादनको बजार सुनिश्चित गर, बीमा गर्दा उचित मूल्य कायम गर, किसानको समस्या समाधान गर, खरिद मूल्यमा बीमा गर र हामी किसान राष्ट्रको शान भन्दै नारा लगाएका थिए ।
सरकारले बीमा कम्पनीलाई दिने अनुदान रकम नदिएपछि बीमा कम्पनीले किसानलाई भुक्तानी नदिएको भन्दै ३० बुँदे ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र बुझ्नुहुँदै सहायक प्रमुख जिल्ला अधिकारी शर्माले ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयसम्म पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।