हेटौंडाः नेपाल मगर संघको ४३ औं स्थापना दिवसका अवसरमा बिहीबार हेटौंडामा मगर दिवस मनाइएको छ । र्याली, फुड फेस्टिबल तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै दिवस मनाइएको हो ।

मगर संघ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष सन्देश मगरको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा दिवस मनाइएको थियो । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले कार्यक्रमको उद्घाटन गर्नुहुँदै मुलुकमा भाषा र संस्कृति लोप भएमा जातीय पहिचान नै संकटमा पर्ने भएकाले सबैले आफ्नो भाषा र संस्कृति जगेर्ना गर्नुपर्ने बताउनुभयो ।

कलाकारहरु राधिका हमाल, शशी पुन मगर, अजित लोप्चनलगायतले गायन प्रस्तुत गर्नुभएको छ । मगर संस्कृति झल्कने कौरा, मारुनी, घाटु, हुर्रा नृत्यसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा मगर समुदायको मौलिक परिकारहरुको स्टल राखिएको थियो । बुद्ध चोकदेखि हुप्रचौरसम्म झाँकीसहितको ¥याली गरिएको थियो । मकवानपुरमा मगर समुदायको २० हजार ८ सय ३७ जनसंख्या रहेको छ ।