हेटौंडाः चरणबद्व आन्दोलन अन्तर्गत बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई शिक्षा ऐेन जारी गर्न माग गर्दै शिक्षकहरुले ध्यानाकर्षणपत्र बुझाएका छन् । नेपाल शिक्षक महासंघ मकवानपुरको अगुवाइमा सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीको माग सम्बोधन हुनेगरी संसदको चालु हिउँदे अधिवेशनबाटै विद्यालय शिक्षा ऐेन जारी गर्न माग गर्दै मुख्यमन्त्री लामालाई ४ पृष्ठको ध्यानाकर्षणपत्र बुझाइएको हो ।
शिक्षा ऐेन जारी गर्न सरकारले अनेक बाहना गरेर भाग्ने प्रयत्न गरेको भन्दै विगतमा भएका सहमति सम्बोधन हुने गरी शिक्षा ऐन जारी गर्न ध्यानाकर्षण गराइएको छ । बालकक्षा शिक्षक, विद्यालय कर्मचारी र संस्थागत विद्यालयका शिक्षकको उचित तलबमान, शिक्षकको ग्रेड मिलान, शिक्षकको मर्यादाक्रम, शिक्षक अस्पताल, शिक्षक सरुवा कार्यविधि खारेजी, मासिक तलब भुक्तानीजस्ता विषयलाई शिक्षा ऐनमै सम्बोधन गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाइएको हो । स्थायी, राहत, साविक उमावि, शिक्षण सिकाई अनुदान, अस्थायी, प्राविधिक धार, विशेष शिक्षा, संस्थागत विद्यालयका शिक्षकका माग र मुद्दा सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन ल्याउनु आवश्यक रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेश अध्यक्ष शंकर अधिकारीले जानकारी दिनुभयो ।
गत माघ १६ र १७ गते बसेको नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको बैठक निर्णयअनुसार गत फागनु ६ गतेबाट पहिलो चरणको आन्दोलन सुरु गरिएको हो । सोही क्रममा नेपाल शिक्षक महासंघका विभिन्न समितिले बिहीबार ७ वटै प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री लामाले ध्यानाकर्षणपत्र बुझ्नुहुँदै शिक्षकबीचको द्वन्द्वकै कारण यस्तो अवस्था सिर्जना भएको जानकारी दिनुभयो । उहाँले शिक्षकको ध्यानाकर्षणपत्रलाई संघीय सरकारसमक्ष पुर्याउने प्रतिबद्धता जनाउनुभयो । यसअघि शिक्षक महासंघले सबै स्थानीय सरकारका साथै शिक्षा विकास तथा समन्वय इकाई प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाइसकेको छ । शिक्षा ऐेन जारी गर्न माग गर्दै फागुन २४ गते काठमाडौंको सिंहदरबार केन्द्रित आन्दोलन गरिँदैछ ।