हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरमा आज स्थानीय तहबीच समन्वय बैठक भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको बैठकमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले कोरोना लक्षित तयारीसँगै तत्काल आआफ्नो पालिकामा रहेका समस्याका बारेमा जानकारी गराएका थिए । स्थानीय तहबीच कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार लक्षित के कस्ता काम भइरहेको छ भन्ने विषयलाई प्राथमिकता दिएर आयोजना गरिएको बैठकमा स्थानीय तहका प्रमुख, उपप्रमुखहरुले राहत वितरण एकद्वार बनाउन नसकिएकोदेखि रासायनिक मलको अभाव भएको, तरकारी नबिकेको विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरेका थिए ।

बैठकले कोरोना भाइसरको संक्रमणको अवस्थालाई गम्भीरताका साथ लिएर पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको उचित व्यवस्थापन गर्ने निश्कर्ष निकालेको छ । वैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले क्वारेन्टाइनमा राख्नुपर्ने व्यक्तिलाई आइसोलेसनमा राखिएको उल्लेख गर्नुहुँदै क्वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । उहाँले वडा तहमै निगरानी समूह गठन गरेर संक्रमणको जोखिम न्यूनीकरणको काम गर्नुपर्ने पनि बताउनुभयो । स्वास्थ्यको जोखिमलाई ध्यानमा राखेर नियमित काम पनि सुचारु गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।

बैठकमा थाहा नगरपालिकाका मेयर लवशेर विष्टले प्रदेशको राजधानी हेटौंडामै कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण गर्ने प्रयोगशाला भएर पनि परीक्षणको दायरा बढ्न नसक्नु चिन्ताको विषय भएको बताउनुभयो । कोरोना संक्रमणको अवस्थाका बारेमा बुझ्न, संक्रमण भएको अवस्थामा त्यसबारे आवश्यक सूचना लेन–देन गर्ने फोकल पर्सनको अभाव लगायतका विषयमा मेयर विष्टले चिन्ता व्यक्त गर्नुभयो । थाहा नगरका एकजना व्यक्तिलाई काठमाडौंमा परीक्षण गर्दा कोरोना संक्रमित पुष्टि भएपछि संक्रमित व्यक्तिको बारेमा कसले कसरी बुझ्ने ? भन्ने अन्योल भएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘संक्रमित भनिएका व्यक्तिलाई नै संक्रमित भएको भन्ने जानकारी नभई मन्त्रालयले मकवानपुरका एकजना संक्रमित भनिदियो । को व्यक्ति ? कहाँका व्यक्ति ? भन्ने केही खुलेन । कसलाई सोध्ने ?’

उहाँले अगाडि थप्नुभयो, ‘थाहा नगरको भन्ने पहिचान भएपछि संक्रमित व्यक्तिको परिवारलाई आइसोलेसनमा राख्न, परीक्षण गर्न हेटौंडा पठायौं । उता संक्रमित भनिएका व्यक्तिलाई भने सम्पर्क गर्ने, आइसोलेसनमा राख्न कसैले वास्ता नै गरेनन् ।’ मेयर विष्टले जिल्लामा एकजना सक्षम व्यक्तिलाई फोकल पर्सन तोक्नुपर्ने बताउनुहुँदै जिल्ला जनस्वास्थ्य कार्यालयलाई सबै स्थानीय तहमा पुगेर त्यहाँका क्वारेन्टाइनको अवस्थाका बारेमा बुझेर आवश्यक भए सुधारका लागि सुझाव प्रस्तुत गर्न पठाउनुपर्ने बताउनुभयो । एकद्वार प्रणालीबाट राहत वितरण नमानेपछि प्लान इन्टरनेशनलको सहयोग समेत अस्वीकार गरेको उहाँले जानकारी गराउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले कोरोना भाइरस संक्रमित एकजना भए पनि संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइन र आइसोलेसनमा राखेर उचित व्यवस्थापन गर्नु अर्को चुनौतिको विषय भएको उल्लेख गर्नुभयो । हेटौंडास्थित तरकारीको थोक बजार बन्द गरे पनि व्यवसायीले थोकबजार बाहिर घरघरबाटै तरकारी वितरण गरेर झन अस्तव्यस्त बनाएको उहाँले जानकारी गराउनुभयो ।

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले एकद्वार प्रणालीबाट राहत वितरण गर्न नसकिएको जानकारी गराउनुभयो । यस्तै उहाँले गाँजा तस्करी गर्ने जंगलको बाटो हुँदै भारतबाट पर्सा जिल्ला हुँदै मनहरी गाउँपालिका आउने गरेकोले जोखिम बढेको बताउनुभयो । बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले भने विद्यालयलाई क्वारेन्टाइन र स्वास्थ्य संस्थालाई आइसोलेसन वार्डको रुपमा प्रयोग गर्ने तयारी गरिएको जानकारी गराउनुभयो । उहाँले परिवार संख्याका आधारमा राहत वितरण गरिएको जानकारी दिनुभयो ।

कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले कैलाश गाउँपालिकामा राहत वितरणको कार्य सुरु भएको र काम गर्नेलाई मात्रै राहत वितरण गर्न सुरु गरिएको जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमणको आशंकामा कसैलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था नआएको उल्लेख गर्नुहुँदै उहाँले पालिकाभन्दा बाहिरबाट आएकालाई निगरानीमा राखिएको जानकारी दिनुभयो । ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले भने लकडाउनका बेलामा स्थानीय प्रशासनको अनुमतिमा मात्रै सवारी साधन चल्नुपर्नेमा प्रहरीले सेटिङमा पास नभएका गाडीलाई पनि निर्वाध चल्न दिएको भन्दै बैठकमा सहभागी प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको ध्यानाकर्षण गराउनुभयो ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले राहतको खाद्यान्न आवश्यक नभएका परिवारले पनि राहत माग गर्ने गरेको गुनासो गर्नुभयो । यस्तै उहाँले हरेक वर्ष रासायिनक मलको अभावका कारण किसानहरु मर्कामा परेको बताउनुभयो । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले तराईका जिल्लाबाट धेरै सवारी साधन भीमफेदी, कुलेखानी हुँदै काठमाडौं जाने क्रम नियन्त्रण नभएको उल्लेख गर्नुभयो । बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीको पनि उपस्थिति रहेको थियो ।