कुनै पनि सूचना पाउने नागरिक अधिकार नै हो । त्यस्तै गोपनीयताको हक पनि उत्तिकै महत्वपूर्ण विषय छ । यिनै दुईवटा अधिकारको प्रयोग र उपयोगले नेपालमा कोरोना महामारी सम्बन्धी सूचनाले केही अन्यौल श्रृजना गराई दिएको छ । कोरोना भाइरसको संक्रमण भएको थाहा पाए टोल, समुदाय र आफन्त समेत टाढा भाग्ने समयमा विशेषतः सञ्चार माध्यमहरुले संक्रमितको पहिचान खुलाउन निक्कै प्रयास गरिएको देखिन्छ । अझ यसअघि स्थानीय तहहरुले विदेशबाट आएकाको विवरण सामाजिक सञ्जालमा समेत राखेर उनीहरुलाई समस्यामा पार्ने काम गरेको थियो ।

यस्ते परिस्थितिमा राष्ट्रिय सूचना आयोगले सम्बन्धित निकायलाई संक्रमितको नाम, ठेगाना सार्वजनिक गर्नु भनी निर्देशन जारी गरेको भन्ने समाचार समेत केही अनलाइन माध्यमले सार्वजनिक गरे । तर आयोगले यस किसिमको कुनै निर्देशन नै जारी नगरेको स्पष्ट पारिसकेको छ । सही सूचना, आवश्यक सूचना सार्वजनिक गर्ने कार्यलाई प्रोत्साहन गर्ने भनेर गठन गरिएको राष्ट्रिय सूचना आयोगकै नाममा गलत सूचना समेत सम्प्रेषण भइरहनु बिडम्बनाको विषय हो ।

नेपालको शासन प्रणालीले सूचनाको अधिकारलाई स्थापित गरेको छ । त्यस आधारमा नागरिकका मौलिक हकमै यसको व्यवस्था छ । तर, सबैखाले सूचना सार्वजनिक हुनु सार्वजनिक जीवनका लागि अनुकुल नहुन सक्छ । त्यसैले महामारी विरुद्धको अभियानमा नागरिकको साथ र सहयोगको अपेक्षा गर्दा उनीहरुलाई सूचना दिने भन्दा पनि रोगको संक्रमणको जोखिम न्यून गरी संक्रमितको सुरक्षालाई पनि ध्यान दिइनु जरुरी छ । वास्तविक सूचना सम्प्रेषण गर्ने विषयमा स्वास्थ्य मन्त्रालय सजग हुनुपर्छ । पर्याप्त समय लिएर, सूचनाको परीक्षण गरे सहि सूचतना सम्प्रेषण गर्नु पर्छ । सहि सूचनाको अभावमा मकवानपुरबासीले पनि तनावको अनुभूति गरेका छन् । केही दिन पहिला कोरोना पुष्टि भएकाको संख्या र ठेगाना उल्लेख गर्दा स्वास्थ्य मन्त्रालयले मकवानपुरमा पनि एकजना संक्रमित फेला परेको जनाएको थियो । रोग नियन्त्रण गर्न संक्रमितको यात्रा र सम्पर्क ट्रेसिङ महत्वपूर्ण पक्ष हो । त्यसका लागि एकदिन भरी मकवानपुरको समग्र प्रशासन, सन्चारकर्मी तथा स्थानीय तहहरु संक्रमितको घर ठेगाना पत्ता लगाउने प्रयासमा लागे । तर केही पनि पत्ता नलागेपछि साँझमात्र स्वास्थ्य मन्त्रालयले आफ्नो कमजोरी सुधार गर्दै संक्रमितको ठेगाना मकवानपुर नभएको जानकारी दिएको थियो ।

दुई दिन पहिला पनि मकवानपुर ठेगाना भएको एक जनामा संक्रमण भनिएको थियो तर उनको परिक्षण कहाँ गरियो र मकवानपुरको कुन स्थानीय तहका हुन् भन्ने स्पष्ट हुन नसक्दा अन्यौल भएको छ । मकवानपुरका मात्र हैन यस्ता घटना अन्य जिल्लामा पनि भएका हुन सक्छन् । सही र तथ्य सूचनाको अभावमा नागरिकमा थप बेचैनी थपिने अवस्था छ । महामारी विरुद्ध नागरिकलाई होशियार बनाउन कम्तिमा पनि संक्रमितहरुको नाम थर वा उसको पारिवारिक पृष्ठभूमि आवश्यक हुँदैन तर ठेगाना सहि भई दिएमात्र पनि त्यस क्षेत्रका नागरिक होशियार हुने र अन्य क्षेत्रकाले तनावमा बस्नु पर्ने छैन ।

संक्रमित मानिसको स्थायी वसोवास र अस्थायी ठेगाना फरक हुन सक्छ । त्यस्तै उ कहिलेदेखि कुन ठाउँमा थियो तथा कहाँ परिक्षण गरिएको जस्ता विषय अरुका लागि जरुरी हुँन्छ । आफ्नो क्षेत्रमा उ कहिले थियो वा उसको भेटघाट कोसँग भयो वा उ कस्ता कार्यक्रममा सहभागी भएको थियो भन्ने आधारमा संक्रमणको दायरा पत्ता लगाउन समुदायबाट सहयोग हुन सक्छ । त्यसैले संक्रमितको गोपनियताको अधिकार सुरक्षित राख्दै सर्वसाधारणलाई आवश्यक पर्ने तथ्यहरु सार्वजनिक हुन जरुरी छ । त्यस्तै दिएका सूचनाहरु पनि तथ्य र यकिन हुन पर्दछ । यसका लागि संक्रमित व्यक्ति सबैभन्दा ईमान्दार हुनु पर्दछ भने सूचना संकलन गर्ने पक्ष र प्रशारण गर्नेहरु बीच पनि उचित समन्वयको खाँचो छ । यतिबेला सूचना आयोगकै निर्देशन गलत सम्प्रेषण गर्ने अनलाइन माध्यमलाई पनि सचेत गराउनु आवश्यक छ ।