हेटौंडाः तीव्र विकास, समृद्धि, सुशासनको प्रत्याभूति हुन नसक्दा जनतामा असन्तुष्टि पैदा भएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताउनुभएको छ । आइतबार बागमती प्रदेशमा बजेट निर्माण विषयमा छलफलका लागि आउनुभएका पूर्वप्रधानमन्त्री भट्टराईले देश संकटमा छ भन्ने जनतामा अनुभूति भएको पनि बताउनुभयो । राजनीतिक परिवर्तनपछि संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर जनताको अपेक्षा पूरा गर्न नसक्नु नै अहिलेको कारण भएको पनि उहाँको भनाइ थियो ।
वैकल्पिक विचारसहितको अग्रगामी शक्ति निर्माण गरेर जनताको समृद्धि र सुशासनको आकांक्षा पूरा गर्ने आफ्नो लक्ष्य पनि पूरा हुन नसकेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले दुख व्यक्त गर्नुभएको छ । पुराना दलले इतिहासमा महत्वपूर्ण काम गरे पनि जनताको जीवनमा सकारात्मक परिवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गर्न नसक्दा पछिल्लो चरणमा नयाँ–नयाँ विकल्पहरु आएको उहाँले स्पष्ट पार्नुभयो । जनताका असन्तुष्टी जायज भएको उल्लेख गर्नुहुँदै पूर्वप्रधानमन्त्री डा. भट्टराईले भन्नुभयो, “अग्रगामी लोकतान्त्रिक प्रगतिशील विकल्प दिन नसकेमा खाली ठाउँमा प्रतिगामी गलत उद्देश्य बोकेका शक्तिहरुले भ्रम छर्ने र देश झन ठूलो समस्यामा जान सक्छ । देश गम्भीर अवस्थामा रहेकाले सबैले यसको समाधानका खोज्न लाग्नु पर्छ ।”
देश चरम गरिबीको रेखामुनी रहेको उल्लेख गर्नुहुँदै यसको समाधानका लागि संरचनात्मक र संस्थागत सुधारको काम गर्न आवश्यक रहेको उहाँको दावी गर्नुभयो । पछिल्लो समय कृषि र उद्योग–धन्दा धरासायी हुनाले रोजगारीको खोजीमा युवा पुस्ता विदेश जान बाध्य भएको उहाँको तर्क थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा उहाँले भ्रष्टाचार, विसंगति विभिन्न क्षेत्रमा लामो समयदेखि चर्चा भएको विधिसम्मत ढंगले सबैकुराको छानबिन गरेर उचित निश्कर्ष निकाल्नु पर्ने डा. भट्टराईले धारणा राख्नुभयो । नक्कली भुटानी शरणार्थी जस्ता थुप्रै प्रकरणहरु रहेको उहाँले दावी गर्नुभएको छ ।
नेपालको ऐन, कानुन कमजोर भएको, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अन्य संवैधानिक निकाय कमजोर भएको बताउनुहुँदै यी क्षेत्र सवल हुनुपर्ने उहाँको भनाइ थियो । देशमा गठबन्धन सरकार बन्ने, भत्कने हुनुमा शासकीय स्वरुपमा त्रुटि रहेको जीकिर गर्नुहुँदै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय निर्वाचन प्रणालीमा जान आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । सत्तामा भएका दलका नेताहरुको विचार, नीति, कार्यक्रम र शैली सुधार नगरेसम्म धेरै मान्छे जम्मा हुँदैमा गतिलो नहुने, राम्रा मान्छे हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।