प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ’अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७ औँ जयन्ती शान्तिको कामना गर्दै आज २०८० साल वैशाख २१ गते शुक्रवार नेपाल लगायत धेरै देशहरुमा मनाउन लागिएको हो ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६६ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कए । इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बुद्धगयास्थित पीपलको रूख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए ।
यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरूलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसापूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे । विश्वजगतमा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसै कारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुपधारण गरेको छ ।
वुद्धका चार आर्य सत्यः
वास्तवमा बुद्धको मार्गदर्शनलाई बुझनु आफैमा कठिन र बैज्ञानिक छ । उनले बताएका चार आर्य सत्यलाई बुझेर जीवनमा लागु गरेको खण्डमा हाम्रो जीवन सफल र पूर्ण बन्न सक्छ ।
१. पहिलो आर्यसत्यः यथार्थ दुःख
हाम्रो जीवन सामान्यतया असन्तुष्टिले भरिएको छ । यो नै पहिलो सत्य हो । जन्मदेखि मृत्युसम्म अनेकौं सुखका पलहरू हुन्छन्, तर तिनीहरू कहिल्यै पनि स्थायी हुँदैनन् । त्यस्तै धेरै पलहरू अप्रिय पनि हुन्छन् । दुःख–बिमारी, निराशा, एक्लोपन, चिन्ता र असन्तोष सजिलैसँग बुझ्न र अनुभव गर्न सकिन्छ । यी कुराहरूका लागि हाम्रो वरिपरिको वातावरण प्रतिकूल पनि हुनु पर्दैन । हामी आफ्नो सबैभन्दा प्रिय मित्रसँग बसेर मनपर्ने खाना खाइरहेको बेला पनि हामी दुःखी भैरहेका हुन सक्छौं ।
क्षणिक सुख – हामी जे कुरामा सुख खोजीरहेका हुन्छौं, ती कुनैपनि लामो समय टिक्दैनन् । ती कुनैले पनि सन्तोष दिँदैनन्, ती चाँडै दुःखमा परिणत हुन्छन्। जस्तो कि हामी ठिहिर्याउने चिसोमा छौं भने त्यसबाट बच्न तातो कोठाभित्र पस्छौं। तर केही छिनपछि त्यो तातो पनि असहनीय हुन थाल्छ, र हामी फेरी ताजा हावा खोज्न थाल्छौ । हाम्रो सुख स्थायी भए राम्रो हुन्थ्यो, तर हुँदैन । समस्या त्यहीँनेर छ ।
दोहोरिरहने समस्याहरू–सबैभन्दा समस्याको कुरा त, हामी जीवनको उतारचढावको सामना गर्न जुन उपायहरू अपनाउँछौं, तिनले झन् समस्याहरू मात्र थप्छन् । उदाहरणका लागि, हाम्रो कसैसँगको सम्बन्ध अस्वस्थकर हुन सक्छ। तर हामी त्यो अवस्थामा जे गर्छौं, त्यसले समस्यालाई झन् जटिल बनाउँछ । हामी सम्बन्ध तोड्छौं, तर हाम्रो बानी बिग्रिसकेको हुन्छ । त्यसैले हामीले नयाँ सम्बन्ध जोड्यौ भने त्यो पनि त्यस्तैखाले हुन्छ । त्यो पनि समस्याग्रस्त हुन्छ ।
२. दोश्रो आर्यसत्यः दुःखको यथार्थ कारण
हाम्रो दुःख र क्षणिक सुख अकारण उत्पन्न हुँदैन । त्यसका पछाडि अनेकौं कारण र परिस्थितिहरु हुन सक्छन् । बाह्य तत्त्वहरु (जस्तो कि हाम्रो समाज) हाम्रा लागि समस्याहरु उत्पन्न गराउने कारक तत्त्व हुन सक्छन् । तर बुद्धले हामीलाई आफ्नै चित्तको अवलोकन गर्न सिकाउनुभएको छ । घृणा, रिस, लोभ जस्ता अनेक अशान्त मनोभावहरुले हामीलाई आत्मविनाशकारी दिशातर्फ धकेलिरहेका हुन्छन् । तिनका कारण हामी मन, वचन, र कर्मबाट त्यस्तै काम गरिरहेका हुन्छौं ।
बुद्धले अझ गहिराईबाट यस्ता मनोभाव पछाडिको यथार्थ कारण र वास्तविकताबारे बताउनुभयो । यथार्थलाई हामी जुन ढंगमा बुझ्छौं, त्यो नै हाम्रा यस्ता मनोभावहरूको कारण बन्छ । आफूले गर्ने व्यवहारको दीर्घकालीन असरबारे द्विविधा रहनु र सचेतनाको कमी हुनु अनि हाम्रो आफ्नो, अरुको, र समस्त सृष्टिको अस्तित्वका बारेमा एकदमै भ्रमपूर्ण दृष्टिकोण भएका कारण यस्ता मनोभावहरू आउने हुन् । सबैथोक एक आपसमा अन्तरसम्बन्धित भएको नदेख्ने बरु ती सबै आफैं अस्तित्वमा आएका हुन् र अरुसँग विल्कुल सम्बन्धित छैनन् भन्ने धारणा हामीले राखिरहेका हुन्छौं ।
३. तेश्रो आर्यसत्यः दुःखको यथार्थ निरोध
हामीले यी सबै दुःखहरू भोगेर बसिरहनु पर्दैन । यी दुःखको कारण पत्ता लगाएर तिनलाई जरैदेखि उखेल्यौं भने तिनको परिणाम पनि उत्पन्न हुने छैन । यथार्थको बारेमा हामीमा जुन भ्रम छ, त्यसलाई हटाउन सकियो भने समस्याहरू आउने छैनन् । बुद्धले कुनै एक वा दुई समस्या हटाउने कुरा गर्नुभएको थिएन । बरु नयाँ समस्याहरू निर्माण गर्ने हाम्रो स्वभावलाई नै बदल्ने कुरा गर्नुभएको थियो ।
४.चौथो आर्यसत्यः चित्तको यथार्थ मार्ग
अज्ञानलाई पन्छाउन सकियो र यथार्थलाई राम्रोसँग जान्न सकियो भने समस्याहरू उत्पन्न हुन बन्द हुनेछन् । त्यसको उपाय हो – हामी सबै एक आपसमा अन्तरसम्बन्धित र अन्तरनिर्भर छौं भन्ने जान्नु । यही ज्ञानका साथ हामी सबै प्राणीप्रति मैत्री र करुणाको भाव जगाउँछौं। एक आपसको अस्तित्वका बारेमा हाम्रो भ्रम निर्मूल भएपछि हामी आफ्नो र अरुको भलाईको काम गर्न सक्छौ ।
हामी सबै खुशी हुन चाहन्छौं, तर खुशी हामीबाट टाढा भागिरहेको हुन्छ। बुद्धले प्रस्तुत गर्नुभएको चार आर्यसत्यको शिक्षाले हामीलाई वास्तविक खुशीको मार्ग बताएको छ । यो शिक्षा सार्वभौमिक छ, र २५६६ वर्ष अगाडि दिनुभएको ज्ञान अझै पनि उत्तिकै सान्दर्भिक छ।चार आर्यसत्यको ज्ञानद्वारा हामी आफ्नो दैनिक जीवनमा आइपर्ने समस्याहरुको सामना गर्न सक्छौ । त्यसका लागि बौद्ध धर्मावलम्बी हुनु पर्छ भन्ने छैन। सधैं हामीले सोचेजस्तो मात्र हुन सम्भव हुँदैन । तर त्यसै कारणले हामी हताश वा निराश भैहाल्नु पर्दैन । चार आर्यसत्यको शिक्षाले त्यो सबै कुरा समेटेको छ जुन हामीलाई सच्चा खुशी प्राप्त गर्न र आफ्नो जीवनलाई सार्थक बनाउन आवश्यक हुन्छ ।
बुद्धधर्ममा शरणगमन
बुद्धधर्ममा शरणगमन भनेको आफ्नो जीवनलाई एक सार्थक दिशा प्रदान गर्ने उपाय हो । त्यो दिशा भनेको आफ्ना सबै कमीकमजोरीबाट पार पाउनेतर्फ प्रयत्न गर्नु हो, र आफू तथा अन्य सबैको कल्याणका लागि उच्चतम मानवीय क्षमता हासिल गर्नु हो । बुद्धधर्मको शरणगमन जीवनका दिग्दारीहरु, भोक र तनावजस्ता कुराबाट अस्थायी मुक्तिका लागि होइन। यो कुनै बाह्य कुरा परिवर्तन गर्नुसँग पनि सम्बन्धित छैन। हामीले कुनै विशेष कपडा लगाउनु वा आफ्नो ‘हेयरस्टाइल’ परिवर्तन गर्नु आवश्यक छैन। बुद्धधर्ममा शरणगमन भनेको हाम्रो चित्तको अवस्था परिवर्तन गर्नुसँग सम्बन्धित छ। यसको अर्थ जीवनलाई केले चाहिँ साँच्चिकै अर्थपूर्ण बनाउँछ, र केले हामीलाई अहिले र भविष्यमा पनि खुशी दिन्छ भन्ने कुरा राम्रोसँग बुझ्नु हो ।
बुद्धधर्ममा तीन रत्न हुन्छन्ः बुद्ध, धर्म र संघ।
१. वुद्धम शरणम् गच्छामीः पूर्ण रूपमा जागृत वा निर्वाण प्राप्त गरेको व्यक्ति बुद्ध हो। यस्ता व्यक्ति लोभ (राग), द्वेष र अज्ञानता सधैंको लागि पार गरेर पूर्ण रूपमा दुःखबाट मुक्त हुन्छन । समस्त वुद्धहरुको संगतमा लाग्नु वुद्धको शरणमा जानु भन्ने हो । शरणगमनपश्चात आफ्नो जीवनका सबै समस्याहरूको सामना गर्न विभिन्न वुद्धहरुको शरणमा जान्छौं ।
२. धर्मम् शरणम् गच्छामीः धर्म जसको अर्थ यथार्थ निरोध र यथार्थ मार्गबोधको चित्तावस्था हो। अर्थात्, हामी आफ्नो चित्तलाई निर्मल गर्दै र सबै सदगुणहरूको विकास गर्दै आफ्ना कमीकमजोरीहरूलाई समाप्त गर्ने र पूर्ण क्षमता हासिल गर्ने पार पाउने प्रयत्न गर्छौं। कमीकमजोरी अन्तर्गत विचलनकारी आवेग (क्लेश), एकाग्रताको कमी, आत्म–पोषणमा रमाउनु, कमजोर सञ्चार क्षमता आदि पर्छन्। सदगुणहरूमा दया, करुणा, धैर्य, समझदारी, क्षमा, इमान्दारी आदि र नैतिक आचरणको कदर, एकाग्रता र अन्तर्दृष्टि पर्छन्। बुद्धले यस्तो अवस्था पूर्णरूपमा र उच्चकोटीका साधकहरूले आंशिक रूपमा हासिल गरिसकेका हुन्छन् । यस दिशामा आफ्नो सुधारको काम गर्नुले निश्चय नै हाम्रो जीवनलाई एक सार्थकता प्रदान गर्छ ।
३.संघम् शरणम् गच्छामीः “संघ” एक संस्कृत शब्द हो, जसको अर्थ हुन्छ “समुदाय”। मोटामोटी रूपमा यसलाई बुद्धका दीक्षित शिष्यहरूको समुदाय अर्थात् भिक्षु र भिक्षुणीको समुदायलाई बुझाउन प्रयोग गरिन्छ । अहिले त पश्चिमी विश्वमा पनि बुद्धधर्म फैलिएको छ र बुद्धधर्म मान्ने सम्पूर्ण समुदाय वा कुनै बुद्धधर्म केन्द्रसँग सम्बन्धित गृहस्थीहरूको सानो समुहलाई पनि संघ भन्ने चलन चलेको छ ।
यदि हामीलाई आफ्नो जीवन एक निश्चित ढर्रामा चलेको, दिक्दारीपूर्ण र व्यर्थमै बितिरहेको जस्तो लाग्छ भने सुधारका लागि सक्रियतापूर्वक पहल गर्नुपर्छ । आफ्नो जीवनलाई एक सकारात्मक बाटोमा लगाउनुपर्छ, जुन आफ्नो लागि मात्र नभएर अरू सबैका लागि हितकर होस् । आफ्ना सबै कमीकमजोरीबाट मुक्त हुने र पूर्ण सकारात्मक क्षमता हासिल गर्ने प्रयत्न नै त्यस्तो बाटो हो । त्यो अवस्था पूर्णरूपमा हासिल गरिसकेका बुद्ध वा आंशिक रूपमा हासिल गरेका उच्च कोटीका साधकहरूकै स्तरमा पुग्ने हाम्रो अन्तिम लक्ष्य रहेनछ भने पनि यो यात्रामा हिँड्नाले हाम्रो जीवनको गुणस्तरमा धेरै नै सुधार आउनेछ।आजको यस पावन अवसरमा सवैमा शान्ति, अहिंसा, मैत्री र करुणाको हार्दिक शुभकामना ।
(स्रोतः स्टडी वुद्धिजम–डा.अलेक्जेण्डर वर्जिन, म्याट लिण्डेनको लेख–विभिन्न पत्रपत्रिकाहरु)