महिला जनप्रतिनिधिहरु आफ्नो नियमित काममा क्रियाशील हुनुहुन्छ । वडा सदस्यको रुपमा वडाका विषयमा निरन्तर सक्रिय वडा सदस्यहरु आफ्नो पनि क्षमता अभिवृद्धिको प्रयास गरिरहनुभएको छ । महिला जनप्रतिनिधिको नियमित कामकारवाही र वडामा रहेर गरिरहनुभएका कामका विषयमा समृद्ध समाज दैनिकका लागि संगी लामाले वडा सदस्य मिनु विश्वकर्मा र उर्मिला चुनारसँग गर्नुभएको कुराकानीको सम्पादित अंश
समाजः पहिलो कार्यकाल कस्तो रह्यो र पहिलेको तुलनामा अहिलेको कार्यकालमा काम गर्न कत्तिको सहज हुँदैछ ?
मिनुः दलित महिलालाई कोटा वा अवसर दिने क्रममा पहिलाको कार्यकालका लागि निर्वाचित भएको थिएँ । शुरुमा त वडा सदस्य भनेको केही होइन, वडा सदस्यको केही भूमिका नै छैन जस्तो लाग्थ्यो र विस्तारै काम गर्दै जाँदा वडा सदस्यहरुको पनि धेरै जिम्मेवारी हुँदो रहेछ भन्ने बुझँे । र त्यसैअनुसार सिक्दै काम गर्दै जाँदा पहिलो कार्यकाल सक्यो । तर मलाई वडाबासीहरुले रुचाएर दोस्रो कार्यकालका लागि भारी मत दिएर निर्वाचित गराइदिनुभयो । पहिलाको अनुभवले गर्दा पहिलेभन्दा अहिले काम गर्न एकदम सहज महसुस भएको छ ।
समाजः १५ नम्बर वडाबासी महिलाहरुको समस्याहरु नियाल्न भ्याउनुभएको छ त ?
मिनुः भौगोलिक बनावटको हिसाबले १५ नम्बर वडा धेरै ठूलो छ । त्यसकारणले गर्दा वडाको केही भाग दुर्गम छन् । विशेषगरी त्यस दुर्गम क्षेत्रका महिला र पुरुष दुवै अशिक्षित छन् । त्यहाँ विद्यालय, मोटरबाटो जस्ता पूर्वाधार विकासको अभाव रहेको छ । हामीले त्यस ठाउँमा पहिलो कार्यकालमै एउटा सिकाई केन्द्र खोलिदिएका थियौँ । त्यस्तै हामीले त्यस ठाउँका महिला र पुरुष दुवैलाई शिक्षित बनाउने, रोजगारी दिलाउने प्रयासहरु गरिरहेका छाँै । हामीले त्यस क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सचेतनामुलक कार्यक्रमहरु लाने, कृषि अनुदान दिने, तालिमहरु आयोजना गर्ने लगायतका प्रयासहरु गरिरहेका छाँैँ । सकभर हामीले त्यस क्षेत्रका मानिसहरुको जीवनस्तर सुधार्ने र आर्थिक पाटोमा सक्षम बनाउने गरी योजनाहरु पनि बनाउँदै छाँै ।
समाजः तपाई वडामा रहेर काम गर्दै गर्दा १७ नम्बर वडाका महिलाहरु कस्तो समस्या लिएर वडामा आएका पाउनुभयो ?
उर्मिलाः १७ नम्बर वडाका महिला दिदीबहिनीहरु चाहिँ धेरैजसो स्वरोजगारमुलक तालिमको माग र अनुदानहरु माग गर्न वडामा आउनुभएको मैले पाएँ । उहाँहरु आर्थिक रुपमा आत्मनिर्भर हुनका लागि यस्ता तालिम तथा कार्यक्रमहरु माग गर्दै आउनुभएको छ । हामीले पनि त्यसैअनुसारको योजनाहरु बनाउँदै छौँ ।
समाजः १७ नम्बर वडाका महिलाको शिक्षाको अवस्था कस्तो छ ?
उर्मिलाः शिक्षाको अवस्था हेर्ने हो भने अलि उमेर बितिसकेकाहरु त कमै मात्रामा शिक्षित हुनुहुन्छ तर अहिलेका नयाँ पुस्ताहरुमा चाहिँ शिक्षामा त्यस्तो कमी भएको जस्तो मलाई लाग्दैन । हाम्रो वडामा स्कुल, कलेजहरु टाढा नभएकाले पनि यहाका मानिसहरु प्रायः सबैजना शिक्षित नै हुनुहुन्छ ।
समाजः एउटा महिलालाई घरको जिम्मेवारीसँगै वडाको जिम्मेवारी सम्हाल्न कत्तिको सहज हुन्छ ?
उर्मिलाः सहजता भनेको आफैले बनाउने कुरा हो । मेरो चाँहि घर परिवार सबैले एकदम सहयोग गर्ने भएकाले जुनसुकै बेला जहाँ पनि जान पाएकी छु । घरमा जस्तोसुकै काम भए तापनि श्रीमान् र छोरीले सम्हालिदिने भएकाले जतिसुकै बेला म घरबाट कार्यक्रमहरुका लागि निस्कन पाएकी छु । त्यसकारण अहिलेसम्म मलाई गारो भएको छैन र म जतिबेला पनि वडामा जान सक्छु ।
समाजः १५ नम्बर वडामा शिक्षाको अवस्था कस्तो छ ?
मिनुः अहिलेको अवस्थामा प्रायः सबैले कम्तीमा प्लस टु पास गरेकै पाइन्छ । शिक्षितहरुलाई उहाँहरुको शिक्षा, क्षमता अनुसार केही न केही रोजगार पाइरहेकै छ । रोजगारीलाई हेर्ने हो भने नेपालभर नै रोजगारीमा समस्या रहेको छ । रोजगारीको सिर्जना स्थानीय सरकारले मात्र नभई केन्द्रीय र प्रदेश सरकारको चासोको विषय हुनुपर्ने देखिन्छ । आमाबुबा अशिक्षित हुनुभए पनि आफ्ना छोरा र छोरी दुवैलाई पढाउनुपर्छ भन्ने चेतना सम्पूर्ण वडाबासीमा पाइन्छ । तर, नेपालमा पढाइअनुसारको रोजगारीको सिर्जना भने भएको पाइँदैन ।
समाजः यदि तपाईलाई १७ नम्बर वडाले एउटा समस्या समाधान गर्ने मौका दियो भने तपाईको पहिलो प्राथमिकतामा के रहन्छ ?
उर्मिलाः हाम्रो १७ नम्बर वडामा चाहिँ धेरैजसो वडाबासीहरु शिक्षित भए तापनि अझै जातीय भेदभाव हट्न सकेको छैन । उहाँहरु कागजी शिक्षित मात्र हुनुभयो तर व्यवहारले भने कहिल्यै शिक्षित हुन सकेको देखिँदैन । त्यसकारण मलाई वडाले यस्तो मौका दियो भने म पहिलो प्राथमिकताको रुपमा जातीय भेदभावलाई हटाउथेँ ।
समाजः अहिलेको समाजमा महिला मात्र नभएर पुरुष पनि पीडित भइरहेको हुन्छ, यस्तो अवस्थामा पीडित पुरुषहरुको पक्षमा वडाले कस्तो भूमिका खेल्न सक्छ ?
मिनुः मेरो विचारमा समग्र वडामा हेर्ने हो भने महिला मात्र नभएर पुरुषहरु पनि अन्यायमा परेका छन् । योभन्दा पहिला चाहिँ महिलाहरु विभिन्न हिंसा र अन्यायमा परेको थियो । त्यसकारण महिला अधिकारका कुरा कानुनमा पनि धेरै व्यवस्थाहरु गरेको छ । त्यस्तै, महिलाहरु पीडित हुँदा उजुरी र गुनासो सुन्ने र महिला अधिकारको लागि लड्ने थुप्रै निकाय तथा संघसंस्थाहरु रहेको छ । तर पुरुषहरु अन्यायमा पर्दा सम्बन्धित उजुरी गर्ने ठाउँ पनि छैन । यसका लागि प्रत्येक वडामा महिला समुह गठन गरेझैँ बुद्धिजीवि पुरुषहरुको पनि एउटा समुह गठन गर्न आवश्यक देखिन्छ ।