राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले मकवानपुर प्रहरीलाई ध्यानाकर्षणपत्र बुझाउदैँ ।

हेटौंडाः बलात्कार जस्तो जघन्य अपराधसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले मकवानपुर प्रहरीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । बलात्कारको अभियोगमा पक्राउ परेका ईन्द्रप्रसाद बन्जारा (रमेश) को मुद्दामा रास्वपा मकवानपुर जिल्ला सभापति भरत पराजुलीको हस्ताक्षर भएको ध्यानाकर्षणपत्र बुधबार रास्वपा मकवानपुरका नेताहरुको एक समूहले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीलाई बुझाएका छन् ।

गत चैत ३० गतेका दिन एक महिलाले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै बन्जाराविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएका थिए । प्रहरीले चैत ३० गते नै बन्जारालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले अनुसन्धान गरिरहेको मुद्दामा पार्टीले ध्यानाकर्षण बुझाएको विषयमा मकवानपुर प्रहरी प्रमुख बामदेव गौतमले कसैको दबाव र प्रभावमा रहेर मुद्दाको अनुसन्धान प्रभावित नहुने स्पष्ट पार्नुभयो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको र कसैको पक्ष या विपक्षमा नभई निश्पक्ष भएर अनुसन्धान गर्छौं ।

कानुनले दिएको जिम्मेवारी प्रहरीले पूरा गर्ने बताउनुहुँदै प्रहरी उपरीक्षक गौतमले भन्नुभयो, “प्रहरीले कसैको दबाव, प्रभाव, आग्रह, पूर्वाग्रह परेर काम गर्दैन । जिल्ला प्रहरी कार्यालयले ९१ वटा मुद्दामा अनुसन्धान गरिरहेको छ । यो मुद्दामा पनि अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेका छौं ।” बलात्कारजस्तो जघन्य अपराधमा राजनीतिक दलले ध्यानाकर्षणपत्र बुझाएकोप्रति माइती नेपाल मकवानपुरकी माया लामाले आश्चर्य प्रकट गर्नुभएको छ । बुधबार साँझ समृद्ध समाजसँग कुरा गर्नुहुँदै अधिकारकर्मी लामाले भन्नुभयो, “अहिलेसम्म यसरी कुनै राजनीतिक दलले बलात्कारको घटनामा ध्यानाकर्षणपत्र बुझाएको थाहा छैन । राज्यका निकायले अनुसन्धान गरिरहेका बेला लिखित नै ध्यानाकर्षणपत्र बुझाउनु आश्चर्यको विषय हो ।”

रास्वपा मकवानपुरले सञ्चार माध्यममा आएका समाचार सीसीटीभी फुटेजका आधारमा बन्जारालाई सुनियोजितरुपमा फसाउन खोजको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । “समाचारमा उल्लेख र अन्य सामग्री हेर्दा पत्रकार बन्जारालाई सुनियोजित रुपमा फसाउन खोजेको भन्ने जनगुनासो जनस्तरबाट आएको, घटना प्रकृतिहरु हेर्दा पुराना विभिन्न बदलाभाव जस्तो देखिएकोले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।” सभापति भरत पराजुलीले प्रहरीलाई बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । “समाचार लेखेकै भरमा विभिन्न प्रपन्च रची फसाउन खोजेको भन्ने जनगुनासो आएकोले यस घटनाको सत्यतथ्य छानविन र अनुसन्धान सुक्ष्मरुपले र समयमै गर्न, गराउन राष्ट्रिय स्वतन्त्र पार्टी जोडदार माग गर्दछ ।” ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

रास्वपा मकवानपुरका सभापति भरत पराजुलीले बुधबार साँझ समृद्ध समाजसँग कुरा गर्दै भन्नुभयो, “बन्जाराका अनेक कमजोरी र गल्ती होलान् तर यो घटनामा फसाउन खोजिएको, फसाइएको छ । उ निर्दोष छ भने फस्नु हुन्न, फसाइनु हुन्न भनेर प्रहरीको ध्यानाकर्षण गराइएको हो ।” यसै विषयमा रास्वपाका केन्द्रीय सदस्य समेत रहनुभएकी हेटौंडाकी एसिड पीडित विन्दबासिनी कंशाकारले ध्यानाकर्षणपत्रको विषयमा आफूले बुझ्ने बताउनुभएको छ ।

रास्वपा मकवानपुरले प्रहरीलाई बुझाएको ध्यानाकर्षणपत्र । प्रहरी प्रवक्ता कार्कीलाई ध्यानाकर्षणपत्र बुझाउँदै रास्वपा मकवानपुरका नेताहरु ।