हेटौंडाः कृषि सामग्री कम्पनि लिमिटेडको हेटौंडास्थित कार्यालयले भोलि सोमबार ७३ टन युरिया मल वितरण गर्ने भएको छ । जिल्लाका दस वटै स्थानीय तहका सहकारी संस्थालाई मल वितरण गर्न लागेको कृषि सामग्री कम्पनि लिमिटेड हेटौंडाका लेखा प्रमुख छवि शर्माले जानकारी दिनुभयो । उपलब्ध मललाई समानुपातिक ढंगले वितरण गर्न लागिएको शर्माको भनाइ छ । सरकारले कृषि सामग्री कम्पनिमार्फत कृषकलाई अनुदानको मल वितरण गरिरहेको छ ।

कृषि सामग्री कम्पनिले हेटौंडा उपमहानगरपालिकाका १७ वटा सहकारी संस्था, थाहा नगरपालिकाका १२ वटा सहकारी संस्था, मनहरी गाउँपालिकाका ११ वटा सहकारी, ईन्द्रसरोवर गाउँपालिकाका ६ वटा सहकारी र मकवानपुरगढी गाउँपालिकाका ३ वटा सहकारीलाई १/१ टनका दरले मल वितरण गर्ने जनाएको छ । यस्तै बकैया गाउँपालिकाका ३ वटा सहकारीलाई २/२ टन, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाको १/१ वटा सहकारीलाई ४/४ टन मल वितरण गर्ने शर्माले बताउनुभयो । भीमफेदी गाउँपालिकाका दुई वटा सहकारीलाई ५ टन र बागमती गाउँपालिकाको एउटा सहकारीलाई ५ टन मल वितरण गर्न लागिएको उहाँले बताउनुभयो ।

स्थानीय तहमा सहकारीको संख्याका आधारमा मलको वितरण गरिएको शर्माको भनाइ छ । गत वर्षको तुलना मलको उपलब्धता बढे पनि माग नघटेको उहाँले बताउनुभयो । यस वर्ष करिब २ हजार टन मल वितरणको हिसावले अहिले माग कम हुनुपर्ने उल्लेख गर्नुुहुँदै शर्माले भन्नुभयो, ‘सहकारी र किसानले नै मल स्टक गरेका कारण अहिले पनि माग बढेको हुन सक्छ ।’

कृषि सामग्री कम्पनिले चालु आर्थिक वर्षमा दुई हजार पाँच सय टन मल विक्री गर्ने लक्ष्य लिएको छ ।