एसईईमा सहभागी हुने हेटौंडा–१८, फुर्केचौरस्थित गोरक्षनाथ माविका विद्यार्थी ।

हेटौंडाः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबारबाट देशभर सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । चैत २९ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बागमती प्रदेशबाट यस वर्ष एक लाखभन्दा बढी परीक्षार्थीले एकैसाथ परीक्षा दिँदैछन् ।

एसईईमा एक लाख एक हजार ७ सय ३३ जना परीक्षार्थीले परीक्षा दिँदैछन् । प्रदेशका १३ जिल्लामध्ये काठमाडौंबाट सबैभन्दा बढी र रसुवाबाट सबैभन्दा कम परीक्षार्थीले परीक्षा दिँदैछन् । काठमाडौंबाट ३६ हजार ५ सय ७७ जना र रसुवाबाट ६ सय २८ जना परीक्षार्थीले परीक्षा दिँदैछन् । बागमती प्रदेशको भक्तपुरबाट ५ हजार ८ सय जना र ललितपुरबाट ९ हजार ८ सय ९९ जना परीक्षार्थीले परीक्षा दिँदैछन् ।

काभ्रेपलाञ्चोकबाट ६ हजार ४ सय ३६ र सिन्धुपाल्चोकबाट ३ हजार ९ सय ८५ जना परीक्षार्थीले परीक्षा दिँदैछन् । यस्तै, नुवाकोटबाट ४ हजार ३ सय जना, रसुवाबाट ६ सय २८ जना, धादिङबाट ५ हजार ३ सय ८६ जना, चितवनबाट १० हजार ८ सय ५६ जना परीक्षार्थीले परीक्षा दिँदैछन् । रामेछापबाट ३ हजार २ सय २५ जना, दोलखाबाट ३ हजार ६२ जना, सिन्धुलीबाट ५ हजार २ सय ४१ जना परीक्षार्थीले परीक्षा दिँदैछन् । मकवानपुरबाट ६ हजार ३ सय ३३ जना परीक्षार्थीले परीक्षा दिँदैछन् । जसमा हेटौंडा—५ स्थित बालज्योति माध्यमिक विद्यालयमा अध्ययनरत् २ जना दृष्टिविहीन परीक्षार्थीले एसईई परीक्षा दिँदैछन् । धनबहादुर दोङ र कृष्णप्रसाद तिमिल्सनाले एसईई परीक्षा दिने बालज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत अर्यालले जानकारी दिनुभयो । यस वर्षदेखि गणित विषयको प्रश्न दृष्टिविहीन विद्यार्थीको लागि फरक आउने, समय थप गर्नुपर्नेजस्ता झन्झट हुने भएकाले होमसेन्टरबाट परीक्षा दिने उहाँले बताउनुभयो । प्रधानाध्यापक अर्यालका अनुसार अघिल्ला वर्षहरुमा अन्य परीक्षार्थीसरह परीक्षा केन्द्रबाट नै परीक्षा दिनुपर्ने प्रावधान थियो ।

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमले मकवानपुरका कारागारहरुबाट एसईई परीक्षा दिने कोही नरहेको जानकारी दिनुभयो । अपाङ्गता भएका विद्यार्थीको हकमा बालज्योति माध्यमिक विद्यालयबाट मात्र २ जना दृष्टिविहीन छात्रमात्र एसईई परीक्षामा सहभागी हुने उहाँले बताउनुभयो । काठमाडौंका एक सय २३, भक्तपुरका २३, ललितपुरका ३५ वटा परीक्षा केन्द्रबाट परीक्षार्थीले परीक्षा दिँदैछन् । यस्तै, काभ्रेपलाञ्चोकका ४०, सिन्धुपाल्चोकका २४, नुवाकोटका २४, रसुवाका ५, धादिङका २८, मकवानपुरका २५, चितवनका ४२, रामेछापका २२, दोलखाका १९ र सिन्धुलीका २६ वटा परीक्षा केन्द्रबाट परीक्षार्थीले परीक्षा दिँदैछन् ।

बागमती प्रदेशको ४ सय ३४ वटा परीक्षा केन्द्रबाट परीक्षार्थीहरुले एकैसाथ परीक्षा दिँदैछन् । केन्द्राध्यक्ष ४ सय ३४ जना, सहायक केन्द्राध्यक्ष ७ सय ३७ जना, निरीक्षक ५ हजार ८६ जना, परीक्षा सहायक १ हजार ६४ जना, कार्यालय सहयोगी २ हजार ५५ जना र सुरक्षाकर्मी ६ हजार ५ सय १० जना गरी १५ हजार ८ सय ८६ जना जनशक्ति एसईई परीक्षामा खटिँदैछन् । परीक्षाका लागि प्रदेशभित्रका सबै जिल्लाका परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पु¥याइसकिएको जनाइएको छ । यस्तै, परीक्षा केन्द्र नजिक रहेको प्रहरी चौकीमा प्रश्नपत्र पुगिसकेको, केन्द्राध्यक्ष नियुक्ति गरी अभिमुखीकरण कार्यसमेत गरी परीक्षासम्बन्धी पूर्वतयारीको सम्पूर्ण कार्य सम्पन्न गरिसकिएको जनाइएको छ । बिहान ११ बजेसम्म सञ्चालन हुने एसईई परीक्षालाई मर्यादित, भयरहित, निर्धक्करुपमा परीक्षा दिने वातावरण निर्माण गर्न अभिभावक, विद्यालयलाई आग्रह गरिएको छ । स्वास्थ्यमा सुरक्षा व्यवस्थापनका लागि नर्सलाई समेत व्यवस्थापन गर्न आग्रह गरिएको छ ।