यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबारबाट सुरु हुँदैछ । विगतमा कक्षा १० सम्मलाई विद्यालय शिक्षा मानिँदा कक्षा १० को अन्त्यमा लिइने परीक्षालाई एसएलसी भनिन्थ्यो । अहिले कक्षा १२ सम्मलाई विद्यालय शिक्षामा समावेश गरेपछि कक्षा १० को अन्त्यमा लिइने परीक्षा एसईई भएको छ । अब कक्षा १२ को अन्त्यमा लिइने परीक्षा एसएलसी भएको छ । वर्तमान शिक्षा ऐनले कक्षा १२ को अन्त्यमा राष्ट्रियस्तरमा एसएलसी परीक्षा हुने र कक्षा १० को अन्त्यमा क्षेत्रीय वा प्रादेशिकस्तरमा परीक्षा हुने व्यवस्था गरेको भए पनि कक्षा १० को अन्त्यमा हुने एसईई परीक्षा राष्ट्रियस्तरमै सञ्चालन भइरहेको छ । कक्षा १० को परीक्षालाई एसएलसीको सट्टा एसईई नाम दिएर देशव्यापी एउटै प्रश्नपत्रबाट एकै समयमा सञ्चालन गरिँदै आएको छ । आम विद्यार्थीलाई एसएलसी वा एसईई अनि प्रादेशिक वा राष्ट्रियस्तर जेसुकै भए पनि खासै अन्तर रहँदैन । हाम्रो परीक्षा प्रणाली र विषयगत ग्रिड निश्चित भइसकेको अवस्थामा परीक्षाको नाम र स्तरले विद्यार्थीलाई खासै प्रभाव पर्दैन ।
आज शुक्रबारदेखि सुरु हुने एसईईमा ४ लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदैछन् । २ लाख ४२ हजार ७१२ छात्रा र २ लाख ४२ हजार ६७४ छात्र परीक्षामा सहभागी हुनेछन् । परीक्षार्थीमध्ये प्राविधिक धारतर्फ १५ हजार ४६१ जना छन् । बागमती प्रदेशबाट एक लाख एक हजार ७ सय ३३ जना परीक्षार्थी एसईईमा सहभागी हुने भएका छन् । प्रदेशका १३ जिल्लामध्ये काठमाडौंबाट सबैभन्दा बढी ३६ हजार ५ सय ७७ जना र रसुवाबाट सबैभन्दा कम ६ सय २८ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । भक्तपुरबाट ५ हजार ८ सय, ललितपुरबाट ९ हजार ८ सय ९९, काभ्रेपलाञ्चोकबाट ६ हजार ४ सय ३६ र सिन्धुपाल्चोकबाट ३ हजार ९ सय ८५ जना परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् । नुवाकोटबाट ४ हजार ३ सय, धादिङबाट ५ हजार ३ सय ८६, मकवानपुरबाट ६ हजार ३ सय ३३, चितवनबाट १० हजार ८ सय ५६, रामेछापबाट ३ हजार २ सय २५, दोलखाबाट ३ हजार ६२ र सिन्धुलीबाट ५ हजार २ सय ४१ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् ।
बिहान ८ बजेदेखि सुरु हुने परीक्षाका लागि देशभर २ हजार ३७ परीक्षा केन्द्र तोकिएको छ । बागमती प्रदेशभर ४३४ परीक्षा केन्द्र तोकिएको छ भने मकवानपुर जिल्लामा २५ परीक्षा केन्द्र रहेका छन् । प्रदेशको काठमाडौंमा १२३, भक्तपुरमा २३, ललितपुरमा ३५, काभ्रेमा ४०, सिन्धुपाल्चोकमा २४, नुवाकोटमा २४, रसुवामा ५, धादिङमा २८, चितवनमा ४२, रामेछापमा २२, दोलखामा १९ र सिन्धुलीमा २६ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षालाई व्यवस्थित र मर्यादितरुपमा सञ्चालन गर्न पर्याप्त जनशक्ति खटाइएको छ । परीक्षामा देशभर केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक÷सहयोगी कर्मचारी र सुरक्षाकर्मीसमेत ७७ हजार ९९२ जना जनशक्ति प्रत्यक्षरुपमा परीक्षा केन्द्रहरुमा खटिनेछन् । बागमती प्रदेशमा ४ सय ३४ जना केन्द्राध्यक्ष खटाइएको छ । यस्तै, सहायक केन्द्रध्यक्ष ७ सय ३७ जना, निरीक्षक ५ हजार ८६ जना, परीक्षा सहायक १ हजार ६४ जना, कार्यालय सहयोगी २ हजार ५५ जना र सुरक्षाकर्मी ६ हजार ५ सय १० जना एसईई परीक्षामा खटिने भएका छन् ।
प्रत्येक शैक्षिक वर्षको अन्त्यमा लिइने सबै परीक्षा विद्यार्थीका लागि उत्तिकै महत्वपूर्ण हुन्छ । शैक्षिक सत्रको अन्त्यमा लिइने परीक्षाको नतिजाले विद्यार्थीलाई माथिल्लो कक्षामा जाने आधार तयार गर्दछ । अहिलेको एसईई परीक्षा पनि त्यस्तै हो । कक्षा १० बाट ११ मा जान विद्यार्थीको मूल्याङ्कन गर्ने एउटा सामान्य परीक्षाको रुपमा एसईईलाई लिनुपर्ने भए पनि यसलाई एसएलसीसरह महत्व दिइने गरिएको छ । कक्षा १२ मा राष्ट्रियस्तरको एसएलसी परीक्षा लिने भएपछि कक्षा १० को परीक्षालाई सामान्य बनाउनुपर्छ । एसईईलाई बढी महत्व दिँदा यसको त्रासले विद्यार्थीमा दवाव र प्रभाव बढी पर्दा परीक्षा बिग्रन सक्छ । परीक्षालाई सामान्य मानेर नडराई परीक्षा दिनु आवश्यक छ । इसईई परीक्षामा सम्मिलित सबै परीक्षार्थीलाई सफलताको शुभकामना ।