मकवानपुर जिल्लामा लागूऔषधको कारोबार निकै बढिरहेको छ । मकवानपुर प्रहरीले दिनहुँजसो लागूऔषध बरामद गर्दै आएको छ । लागूऔषध गाँजा र चरेसका लागि कहलिएको मकवानपुर जिल्ला लागूऔषध ओसारपसारको पनि केन्द्र बन्दै गएको छ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारको मुख्य नाका वीरगञ्ज–रक्सौल र संघीय राजधानी काठमाडौंसँग निकट रहेकाले हेटौंडा लागूऔषध ओसारपसारको मुख्य मार्ग बनिरहेको छ । हेटौंडा भएर राजधानीमात्र नभई पूर्व–पश्चिम जताततै लागूऔषध ओसारपसार हुने गरेका कारण हेटौंडामा लागूऔषधसहित मानिसहरु पक्राउ पर्ने गरेका हुन् । प्रहरीले उल्लेख्य परिमाणमा लागूऔषध बरामदसमेत गर्दै आएको छ । लागूऔषधसहित पक्राउ परेका मानिसलाई अनुसन्धान गरेर कानुनी कारबाहीका लागि मुद्दा चलाउने गरिएका कारण अदालतमा पनि लागूऔषधसम्बन्धी मुद्दा धेरै रहेका छन् । अन्य प्रकृतिको मुद्दाको तुलनामा जिल्ला अदालत मकवानपुरमा लागूऔषधसम्बन्धी मुद्दा बढी पाइएको हो ।
अदालतमा दर्ता भएका सरकारवादी फौजदारी मुद्दाहरु लागूऔषधसम्बन्धी हुने गरेका छन् । जिल्ला अदालत मकवानपुरमा लागूऔषधसम्बन्धी सरकारवादी फौजदारी मुद्दाहरु बढी आएको बताइएको छ । दुनियावादी देवानीको रुपमा रहने सम्बन्धविच्छेदको मुद्दा पनि अदालतमा बढी आउने गरेको छ । जिल्ला अदालत मकवानपुरमा अघिल्लो आर्थिक वर्षमा फैसला हुन बाँकी २३४ वटा सरकारवादी फौजदारी मुद्दा छन् । अदालतमा फैसला हुन बाँकी एक हजार २२२ मुद्दामध्ये झण्डै २० प्रतिशत मुद्दा लागूऔषसम्बन्धी रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म पनि जिल्ला अदालतमा २ सय ६८ सरकारवादी फौजदारी मुद्दा दर्ता भएका छन् । यस अवधिमा एक हजार २८७ मुद्दा दर्ता भएकोमा लागूऔषधसम्बन्धी (सरकारवादी फौजदारी) मुद्दा २१ प्रतिशत रहेका छन् । गत वर्षको फैसला हुन बाँकी र चालु वर्षको फागुनसम्म २ हजार ५०९ मुद्दा अदालतमा रहेकोमा ५०२ वटा मुद्दा लागूऔषसम्बन्धी छ । चालु आर्थिक वर्षको फागुनसम्म २ सय लागूऔषसम्बन्धी मुद्दा अदालतबाट फैसलासमेत भएको छ ।
मकवानपुर प्रहरीले चालु आर्थिक वर्षको पहिलो ८ महिनामा करिब ५ हजार केजी लागूऔषध गाँजा बरामद गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा प्रहरीले ४ हजार एक सय ८० केजी लागूऔषध गाँजा बरामद गरेको हो । मकवानपुर प्रहरीले साउन महिनामा ४ सय ८० केजी, भदौमा एक हजार ९२ केजी, असोजमा २ सय ४८ केजी र कार्तिकमा ११ केजी गाँजा बरामद गरेको छ । यस्तै, मंसिरमा १ सय ४२ केजी, पुसमा २३ केजी, माघमा ४९ केजी र फागुनमा २ हजार १ सय ३१ केजी लागूऔषध गाँजा बरामद गरेको छ । ८ महिनाको तथ्यांक हेर्दा फागुनमा मात्रै २ हजार १ सय ३१ केजी गाँजा बरामद भएको छ । कार्तिकमा सबैभन्दा कम ११ केजी गाँजा बरामद भएको छ । यस अवधिमा प्रहरीले लागूऔषध मुद्धामा १ सय ७० जना मानिस पक्राउसमेत गरेको छ ।
दिनहुँलागूऔषध ओसारपसारमा संलग्न व्यक्तिहरु पक्राउ परिरहनुले लागूऔषध दुव्र्यसनी पनि बढ्दै गएको अनुमान गर्न सकिन्छ । लागूपदार्थको ओसारपसार र प्रयोग दिनदिनै बढ्दै जाँदा समाजमा थुप्रै विकृति पैदा भएको छ । लागूपदार्थसँगै जन्मिने आपराधिक मानसिकता वास्तवमै खतरनाक र चिन्ताजनक बनिरहेको छ । लागूपदार्थ दुव्र्यसनीमो युवापुस्ता फस्दै जाँदा त्यसले व्यक्ति स्वयम्को भविश्य, स्वास्थ्य र जीवनमा गम्भीर नकारात्मक असर पुग्ने गर्दछ । विश्वभर लागूऔषधको दुरुपयोगबाट धेरै राष्ट्र गम्भीर समस्यामा परेका छन् । अधिकांश मुलुकमा कलिला उमेरका किशोरकिशोरीहरु लागूपदार्थको नशामा फसेका छन् । लागूऔषध दुरुपयोगका गतिविधि रोक्न, न्यूनीकरण गर्न र सुधार गर्न जरुरी छ । लागूऔषध नियन्त्रणमा कानुनी उपायमात्रै प्रभावकारी हुन नसक्ने भएकाले राज्यले यो समस्याको दीर्घकालीन समाधानका लागि विशेष नीति निर्माण गर्न जरुरी छ ।