कोरोना भाइरस नियन्त्रण लागि सरकारले गरेको बन्दाबन्दीका कारण देशभरका सबै शैक्षिक संस्थाहरु बन्द छन् । माध्यमिकदेखि उच्च शिक्षाका परीक्षाहरु स्थगित भएका छन् । नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । बन्दाबन्दीको अवस्था नभएको भए यतिबेला विद्यार्थी भर्ना अभियान सन्चालन भई सक्ने थियो । निजी विद्यालयहरुले पठन पाठन नै सुरु गरिसकेका हुने थिए । तर यस वर्ष अघिल्लो शैक्षिक सत्रका परीक्षा नै बाँकी छन् । कक्षा नौंसम्म विगतको परीक्षाको मूल्यांकनलाई आधार मानेर विद्यालयहरुले नतिजा प्रकाशन गरेका छन् । कतिपय विद्यालयहरुले अनलाईन पठनपाठन पनि सुरु गरेका छन् । विशेषगरी संस्थागत क्याम्पस तथा विद्यालयहरुले सुरु गरेको अनलाईन कक्षाबाट केही अभिभावकलाई सामान्य राहत भए पनि धेरै अभिभावकहरुलाई तनाव थपिएको छ । सबै अभिभावकले घर वा डेरामा अनलाईन सेवा उपयोग गरेका हुन्छन् भन्ने मान्यता सत्य नहुन सक्छ । जसले गर्दा कतिपय विद्यार्थीहरु सिकाईबाट बन्चित भएका छन् । यसले अभिभावकलाई मानसिक र सामाजिक तनाव दिएको हुन सक्छ ।

पोखरा महानगरपालिकाले त अनलाईन कक्षा सन्चालन नगर्न विद्यालयहरुलाई परिपत्र नै गरेको छ । अनलाईन कक्षाबाट धेरै विद्यार्थीहरु बन्चित हुनु परेको गुनासो सहितको निवेदन परेपछि महानगरपालिकाले त्यस्तो सेवा बन्द गर्न बाध्य भएको हो । यस्तै हेटौंडाका केही निजी विद्यालयहरुले पनि अनलाईन कक्षा सुरु गरेका छन् । यो सराहनीय सुरुवात हो । तर यसले शिक्षामा समान पहुँचको अवस्थाका विषयमा विश्लेषण र अध्ययन हुन आवश्यक छ । कक्षा सुरु गर्दा अभिभावकहरुसँग परामर्श नगरिएको भन्दै सामान्य गुनासो गर्न थालेका छन् । सेवा नै बन्द गराउने भन्दा समस्या कुन ठाउँमा छ त्यसको समाधान कसरी गर्न सकिन्छ भन्ने तर्फ विद्यालय, अभिभावक तथा स्थानीय जनप्रतिनिधि बीच पर्याप्त छलफल हुन आवश्यक छ । ईन्टरनेट सेवा नहुनेका लागि नजिकको अभिभावकसँग समन्वय गर्ने गराउने व्यवस्थाबाट पनि कक्षा सन्चालन निरन्तर हुनु आवश्यक छ । अनलाईनका अतिरिक्त रेडियो वा स्थानीय टिभी च्यानलहरुबाट पनि यस्तो सिकाई थप प्रभाव हुन सक्छ । यस विषयमा पनि छलफल हुनु आवश्यक छ ।

अनलाईन कक्षा सन्चालन सुरु भए पनि विद्युत आपुर्तीमा समस्या हुँदै आएको छ । प्रत्येक दिन पकट–पटक विद्युत आपुर्तीमा समस्या हुने गरेको छ । यस्तै ईन्टरनेट सेवा पनि चुस्त हुन सकेको छैन । यस्ता विषयमा सम्बन्धित निकायहरुबाट उचित व्यवस्थापन हुन आवश्यक छ । यस्तै एउटै घरमा अलग विद्यालय र कक्षामा अध्ययनरत विद्यार्थीहरु छन् भने त्यहाँ पनि समस्या छ । यसका लागि तहगत रुपमा समय निर्धारण गर्ने काम विद्यालयहरु बीचको समन्वयमा हुनु पर्दछ । बिना पूर्वाधार अनलाईन कक्षा सन्चालन गर्दा हुन सक्ने सामाजिक विभेददेखि अभिभावकलाई पर्ने मानसिक दवावलाई पनि ध्यान दिन आवश्यक छ । लकडाउन केही खुकुलो भए पनि तत्काल विद्यालयहरु सन्चालन हुने अवस्था छैन । त्यसैले निश्चित अवधिका लागि ईन्टरनेट सेवामा सहुलियतको व्यवस्था गराउने तर्फ पनि पहल हुन आवश्यक छ । कक्षा लिए वापत शुल्क लाग्ने वा नलाग्ने बारेमा अभिभावकहरु अनविज्ञ छन् । हुन त शिक्षा मन्त्रालयले अनलाईन कक्षा वापतको शुल्क नलाग्ने भनेको छ । अभ्यासका क्रममा भएका कमजोरी सुधार गर्दै कक्षाहरु सन्चालन गर्दा विद्यार्थीहरुलाई फाईदा नै पुग्ने छ ।