हेटौंडाः केही वर्ष अघिसम्म उराठलाग्दो बगरका रुपमा रहेको कुखरेनी, कर्रा र राप्ती नदीको संगमस्थल अहिले आकर्षक र रमणीय स्थलका रुपमा विकास भएको छ । ढु्ङ्गा र बालुवाले भरिएको ठाउँ अहिले फूलैफूलले सजिएको देख्दा जो कोही पनि एक पटक आश्चर्यले चकित हुन्छन् ।
मानिस कहिँ कतैबाट झुक्किएर मात्र पुग्ने ठाउँ अहिले दिनहुँ हजारौँ मानिसको मन आकर्षित गर्ने ठाउँ बनेको छ । कुष्माण्ड सरोवर त्रिवेणीधामको नामले सबैतिर आफ्नो परिचय बनाइसकेको यो स्थान लकडाउनको समयमासमेत प्रकृतिप्रेमीका लागि गन्तव्य बनेको छ ।
धर्मप्रति आस्था राख्नेहरुका लागि मन्दिरले आकर्षित त गरेको छ नै प्रकृतिमा रमाउनेहरुका लागि पनि अहिले यो स्थानले आफूतिर तानिरहेको छ । सुन्दर बगैँचामा रमाउन होस् वा जलाशयमा डुङ्गामा विहार गरी जलयात्राको आनन्द लिन किन नहोस् सबैको ध्यान खिचिरहेको अचेल यो स्थानले ।
हरियाली बोट बिरुवाको सौन्दर्यता र फूलैफूलको मनै लोभ्याउने सुन्दर बगैंचाले बगरको उराठतालाई थिचेको छ । यहाँ बनिरहेको मूर्तिहरु त झन् अहिले आकर्षणको अर्काे माध्यम बन्दै गइरहेको छ । पाँचपाण्डव, हेडम्बा राक्षस र हिडिम्बाको मूर्तिहरुले त झन् कला मन पराउनेहरुलाई आफूतिर आकर्षित गर्छ नै त्यतिमात्र होइन हेटौंडा परिचय भवन र शिशमहलको सुन्दर भवन त अत्यन्तै आकर्षक देखिन्छ ।