औपचारिक शिक्षाको मूल उद्देश्य रोजगारीको अवसर प्राप्त गर्नु भन्ने हुन्छ । विश्वविद्यालय तहको अध्ययन पूरा गरेका विद्यार्थीले कत्ति राम्रो रोजगारीको अवसर प्राप्त ग¥यो भनेर समाजले चियोचर्चा गरिरहेको हुन्छ । विकसित समाजमा त शिक्षा आर्जनपछि रोजगारी मात्रै नभएर उद्यम, व्यवसाय र सिर्जनशीलताको विषयमा पनि उत्तिकै चासो राखिन्छ । विकसित भनिएको समाजमा शिक्षाको सार्थकता नै विद्यार्थीको सार्थक जीवनसँग जोडेर हेरिन्छ । परिवर्तित समाजअनुसार सक्षम नागरिक निर्माण गर्नु शिक्षाको पनि मूल उद्देश्य रहन्छ । तर, नेपालको सन्दर्भमा शिक्षा र रोजगारीबीच तालमेल मिल्न नसकेको भनी आलोचना हुने गरेको छ ।

पढेका व्यक्तिले रोजगारीको अवसर पाउन नसकेको गुनसो नेपाली समाजको मौलिकता जस्तै बनिसकेको छ । शिक्षित, उच्च शिक्षितले नै रोजगारी पाउन नसकेको भन्दै औपचारिक शिक्षाको औचित्यमाथि निरन्तरजसो आलोचना हुने गरेको छ । शिक्षा र रोजगारीको अवसरको विषयमा लामो समयदेखि टिका–टिप्पणी भए पनि शिक्षाअनुसारको रोजगारी र रोजगारीअनुसारको शिक्षाका लागि सरोकारवालाले ध्यान दिन सकेका छैनन् । देशको पुरानो र जेठो त्रिभुवन विश्वविद्यालयको बेहालले मुलुकको समग्र उच्च शिक्षाको हालत लथालिङ्ग जस्तै छ । विश्वविद्यालय तहको शिक्षा आर्जन गर्ने व्यक्तिको पेशा र व्यावसायिक क्षमताले सिंगो समाजको मार्गचित्र सुनिश्चित हुनेछ । तर, उच्च शिक्षाको बेहालकै कारण यतिबेला शिक्षाप्रति आम नागरिकको वितृष्णा छ ।

यस्तो सन्दर्भमा हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टले स्नातक तहको अध्ययन पूरा गर्दै गरेका विद्यार्थी र रोजगारदाताबीच भेटवार्ताको अवसर मिलाएको छ । गत बर्षदेखि म्यानेजमेन्टले रोजगार मेलाको रुपमा आयोजना गरेको कार्यक्रममा स्नातक तहको अन्तिम बर्षका विद्यार्थी र मकवानपुर जिल्लाका केही प्रतिष्ठित रोजगारदाता कम्पनिका सञ्चालक एवम् प्रतिनिधिबीच भेटवार्ताको अवसर मिलाएको छ । विद्यार्थीको शैक्षिक योग्यता, उनीहरुको रुचिको क्षेत्र, सीप, दक्षता र कला समेत समेटिएर एउटा व्यक्तिगत विवरण र रोजगारदाता कम्पनिको एउटा समूहबीच एक अर्कालाई छनोटको अवसरपछि अन्तरवार्ताको अवसर सिर्जना गरिएको छ । यसरी आपसमा भेटवार्ताको अवसरले मूलतः रोजगारदातालाई दक्ष जनशक्ति प्राप्त हुने अवसर रहन्छ भने रोजगारीको आवश्यकता र अवसरको खोजीमा रहने विद्यार्थीलाई रोजगारीको सम्भावना रहन्छ ।

दुई बर्ष आयोजना भएको रोजगार मेलामा रोजगारदाता, रोजगारीको खोजीमा रहने विद्यार्थी र शैक्षिक संस्था तीनै पक्षले अपेक्षित उपलब्धी त हासिल भएको मान्न नसकिएला । तर, यो प्रयासले तीनै पक्षलाई आगामी दिनमा अझै कुन कुन पक्षमा सुधार गर्न सकियो भने अपेक्षित लाभ हासिल गर्न सकिन्छ भन्ने महसुस भएको हुनुपर्छ । सिंगो मुलुकमै शिक्षा र रोजगारीको विषयमा तालमेल नभए पनि मकवानपुर जिल्लाजस्तो एउटा भुगोलमा एउटा निश्चित योजना बनाएर अगाडि बढ्दा शिक्षा र रोजगारीको अवसरको विषयमा तालमेल मिलाएर जान सकिन्छ भन्ने निक्र्योल गर्न सकिन्छ होला । हेटौंडा स्कूल अफ म्यानेजमेन्टले थालनी गरेको प्रयास मकवानपुर जिल्लामा उच्च शिक्षा अध्यापन गराउने अन्य शैक्षिक संस्थाका लागि पनि सराहना गर्न मिल्ने कार्य हुन सक्छ । औद्योगिक जिल्लाको रुपमा परिचित मकवानपुरमा प्राप्त हुन सक्ने अवसरलाई आत्मसात गर्ने गरी आवश्यक शिक्षासँगै सीप, दक्षता र कुशलता अभिवृद्धि गरी नयाँ पुस्तालाई रोजगारदाताको आवश्यकताअनुसारको शिक्षा दिलाउन तथा आर्जन गरेको शिक्षाअनुसार रोजगारीको अवसर प्राप्त गर्ने वातावरण बनाउन सकिन्छ । जसले भोलिका दिनमा अन्य जिल्ला र सिंगो देशभर नै सिकाई हुनेछ ।