श्याम ढकाल नेतृत्वको प्यानल घोषणा गर्दै ।

हेटौंडाः निर्माण व्यवसायी संघ मकवानपुरको आज शनिबार र भोलि आइतबार दुईदिनका आयोजना हुने अधिवेशनमा वर्तमान अध्यक्ष श्याम ढकालले पदाधिकारीतर्फ प्यानलै घोषणा गर्नुभएको छ । शुक्रबार साँझ होटल सामनामा पत्रकार सम्मेलन गरेर ढकालले प्यानल घोषणा गर्नुभएको हो । आज शनिबार निर्वाचनको प्रक्रिया सुरु हुने बेलासम्म सदस्यसहित सिंगो प्यानल घोषणा हुने ढकालले स्पष्ट पार्नुभयो ।

ढकालको प्यानलमा प्रथम उपाध्यक्षमा सागर कटुवाल, द्वितीय उपाध्यक्षमा बुद्धिराम डिम्डुङ, तृतीय उपाध्यक्षमा भीमसेन श्रेष्ठ, महासचिवमा राजेन्द्र चौलागाई, उपमहासचिवमा नवराज पाठक (नीतिगत), निर्मला देवकोटा (आन्तरिक), कोषाध्यक्षमा अनल श्रेष्ठ र सहकोषाध्यक्षमा प्रकाश लामा ब्लोनको उम्मेदवारी रहने बताइएको छ ।

निर्माण व्यवसायी संघ मकवानपुरमा नेपाली काँग्रेस निकट व्यवसायीको बाहुल्य छ । ढकालको प्यानलमा काँग्रेस र नेकपा एमाले, नेकपा माओवादी केन्द्र समर्थक व्यवसायीको समूह नै देखिएको छ । यता बालगोपाल कँडेलले पनि अध्यक्षमा उम्मेदवारीको घोषणा गरिसक्नुभएको छ । कँडेलले भने प्यानल घोषणा गर्नुभएको छैन । आज शनिबार संघको साधारणसभाको उद्घाटन समारोहसँगै निर्वाचनको प्रक्रिया सुरु हुनेछ ।