हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की वडा अध्यक्ष जुना दाहाल

विकास निर्माण, सामाजिक क्षेत्र तथा वडा तहमा हुने स–साना उपलब्धीहरुमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ । स्थानीय तहमा नयाँ सरकार निर्वाचित भएको ६ महिना पूरा भएको छ । ६ महिनाको अवधिमा भएका उपलब्धी, अनुभव, अवसर र आगामी दिनको योजनाहरुको विषयमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की वडा अध्यक्ष जुना दाहालसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः वडा अध्यक्षको रुपमा तपाईंको दैनिकी कस्तो भइरहेको छ ?

दाहालः ब्यस्तताभन्दा पनि वडाबाट दैनिक दिने सेवाहरुमा अलि बढि ब्यस्त हुन्छु । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म वडामै ब्यस्त हुन्छु । त्यसपछिको समयमा वडामा टोल विकासहरुको भेला, वडामा हुने विभिन्न खाले कार्यक्रम वा भेलाहरुमा एउटा जनप्रतिनिधि उपस्थिति हुनुपर्ने हुँदा सकेसम्म समयानुकूल रहेसम्म वडाका जनतालाई दिनुपर्ने सेवामा अबरोध नपुग्ने गरी म सबै कार्यक्रममा पुग्न खोज्छु । त्यो समयको ब्यवस्थापन गरिरहेको हुन्छु । मैले नभ्याउदा ४ जना वडा सदस्य हुनुहुन्छ । उहाँहरुलाई पनि कार्यक्रममा सहभागी हुन सहकार्य गर्छु ।

समाजः म महिला वडा अध्यक्ष हुँ भन्ने हिसाबले तपाईंले कस्तो महसुस गरिरहनु भएको छ ?

दाहालः बिगतमा पनि म जनप्रतिनिधि भएको र निरन्तर काम गरिरहेको हुँदा मेरो अनुभव साथै जनताले मेरो कामको मूल्यांकन पनि गरेर ११ नम्बर वडाबासीले निर्वाचित गर्नुभएको छ । धेरै चुनौती हुँदाहुँदै पनि वडा अध्यक्षको रुपमा मलाई एउटा काम गर्ने अबसर प्रदान गर्नुभएको छ । म अत्यन्तै खुशी छु । वडा अध्यक्ष भएर काम गरेर जनताका लागि केहि न केहि काम गर्ने र उहाँहरुको हरेक समस्यामा पुग्नसक्ने, गर्नसक्ने सेवाहरु दिन पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ ।

समाजः तपाईं एक कार्यकाल वडा सदस्य हुनुभयो । वडा सदस्य हुँदा र अहिले वडा अध्यक्ष हुँदा के कुरा फरक पाउनुभयो ?

दाहालः वडा सदस्य हुँदा वडा अध्यक्ष पनि हुनुहुन्थ्यो । अध्यक्षले नभ्याएका ठाउँहरुमा जाने, हरेक विकास निर्माणका काममा सहभागी हुने अवसर थियो । कोरोना माहामारीको रुपमा फैलिएपछि त्यो समयमा वडाबासीको घरघरमा गएर आफूले सकेको सहयोग गरियो । औषधिसहित आवश्यक सहयोग लिएर स्वास्थ्यकर्मीसहित वडाबासीको घरमा जान्थ्यौं । हरेक विकास निर्माणको काममा पनि म आफैंले अनुभूति गरेअनुसार हरेक ठाउँमा पुगिरहन्थेँ । अहिले वडा अध्यक्ष भइरहँदा सुरुका केही दिन वडा कार्यालय जाँदा मलाई अप्ठेरो भएको महसुस भयो । किनभने पहिले अध्यक्ष हुनुहुन्थ्यो । काम त गरिन्थ्यो, आफ्नै हिसाबले प्रमुख जिम्मेवारी उहाँकै हुन्थ्यो । अध्यक्ष भएर आफैं जिम्मेवार भएर आउँदाचाहिँ न मैले केही गल्ती गर्छु कि भन्ने लाग्नेरहेछ । एउटा सदस्य हुँदा र अध्यक्ष हुँदा धेरै फरक हुन्छ, कामको हिसाबले ।

समाजः २०७४ सालमा वडा सदस्य हुनुहुन्थ्यो । त्यतिबेला वडा सदस्य नै हुन्छु भन्ने थियो कि पाएको भए म वडा अध्यक्ष हुन्छु भन्ने पनि थियो ?

दाहालः पार्टीले अवसर दिएको भए र जनताले साथ दिएको भए अध्यक्ष हुन्छु भन्ने त थियो । जनताले मलाई कति बुझेका थिए, भुगोलले मलाई कति चिनेको थियो त्यो आफ्नै ठाउँमा रह्यो । म स्कूलदेखि नै अनेरास्ववियुमा लागेर केन्द्रीय सदस्यसमेत भएँ । यो बीचमा विवाह भयो । विवाहपछि पनि ट्रेड युनियनमा महिलाको प्रमुख र अञ्चल कमिटी सदस्य भएर काम गरेँ । म राजनीतिसँग जोडिएको थिएँ । त्यतिबेला म वडा सदस्य हुँदा पनि पाँच जनामध्ये सबैभन्दा बढि मत पाएको थिएँ । त्यतिबेला पनि कार्यपालिकाको सदस्य भएर काम गर्ने जिम्मेवारी पाउँछु कि भन्ने लागेको थियो । मैले जिम्मेवारी पाएको भए बहन गर्थें । अब मलाई के लाग्छ भने अब म जहाँ छु, म त्यहीँ नै भिज्छु र काम गर्छु । अब मैले असन्तुष्टि गर्नेभन्दा पनि मैले जहाँ सेवा गर्ने अबसर पाउँछु, म त्यही काम गर्छु भनेर वडा सदस्यको रुपमा जिम्मेवारी सम्हालेको थिएँ । वडा सदस्यको रुपमा विभिन्न शिक्षा समिति, लेखा समितिलगायतका समितिहरुमा रहेर काम गर्ने अवसर पाएँ ।

समाजः २०७९ को चुनावको मिति घोषणा भइसकेपछि तपाईंले कस्तो–कस्तो सन्दर्भमा अध्यक्ष लड्छु भनेर अठोट गर्नुभयो ?

दाहालः पूर्वअध्यक्ष गोकर्ण पराजुलीले अब ४ जना सदस्यहरु मध्येबाट हुनुपर्छ भन्नुभएको थियो । मैले अलिकति माइन्ड मेकअपचाहिँ गरेको थिएँ । मैले अध्यक्षको उम्मेदवारीको टिकट पाएँ भने जित्ने गरी मैले काम पनि गर्नुपर्छ भन्ने थियो । म आफू अध्यक्षको लागि तयार हुनुपर्छ भनेर तयारी गरेँ । अरु पनि तयार हुनुहुन्थ्यो, आफ्नो ठाउँमा रह्यो । तर म पनि अलि अपडेट भएर जानुपर्छ । चुनावको समयमा जस्तोसुकै समस्या, चुनौती आएपनि सामना गर्न सक्छु भन्ने थियो । त्यसमा सबै पार्टी संगठन, ११ नम्बर वडाबासीले माया गर्नुहुन्छ र मलाई त्यो अबसर प्रदान गर्नुहुन्छ भन्नेमा म बिश्वस्त थिएँ ।

समाजः अध्यक्षको उम्मेदवार भइरहँदा तपाईंका के कस्ता कामले मतदातालाई तपाईंप्रति आकर्षित गर्यो ?

दाहालः मूल्यांकनको कुरा गर्दा कामको आधारमा नै हुने हो । मैले राजनीति गरेको पृष्ठभूमि देखिएको छैन । राजनीतिक देनहरु आफ्ना ठाउँमा छन् । तर, जनताको सानो ठूलो काममा, दुःखमा सम्झेर जान्थेँ । स्थानीयको दुःख सुखमा घुलमिल भएको थिएँ । यसले पनि स्थानीयको मत तान्न सहयोग गरेको थियो । वडा अध्यक्ष भएपछि भने सबै ठाउँमा पुग्न भ्याइँदैन कि भन्ने छ । तर, पनि मैले सबैलाई मिलाएर अगाडि बढिरहेको छु । स्थानीयसँग भेटेर उनीहरुको समस्याहरु बुझ्दै आएको छु ।

समाजः वडा अध्यक्ष भइरहँदा ६ महिनाको अवधिमा मुख्य उपलब्धीहरु के–के भएका छन् ?

दाहालः सडक निर्माणको आधा जति काम सकिएको छ । दोस्रो सभाबाट थपिएका कामहरु गर्न बाँकी छन् । सबैभन्दा कम आय भएको पशुपालन गरिरहनुभएका किसानहरुलाई वडाले बिमा गरिदिएको छ । त्यो महत्वपूर्ण कामजस्तो लाग्छ । वडास्तरीय फुटबल, भलिवल आयोजना गरेका थियौं । भौतिक निर्माणसँगै शैक्षिक सामाग्री वितरण गर्ने काम गरिरहेका छौं । ११ नम्बर वडाका सबै बालबालिका विद्यालय जाने वातावरण तयार गर्न प्रमुख प्राथमिकता दिएकी छु । महिलाहरुको आवश्यकता, रोजगारी र आयआर्जनको विषयलाई जोड्ने योजना बनाइरहेका छौं । तालिमहरु सञ्चालन गर्ने विषयमा छलफल गरिरहेका छौं । महिलाहरुलाई आयआर्जन गर्न आवश्यकताअनुसार समूहहरुमा लगानी गर्ने भनेर बजेट छुट्याएका छौं ।

समाजः वडा तहमा कार्य विभाजन कसरी गरिरहनु भएको छ ?

दाहालः शिक्षा, सहकारीमा सदस्यहरुलाई नै जिम्मेवारी दिएका छौं । बैठकले गरेका निर्णयहरुमा पनि सदस्यहरुलाई कार्यकारीरुपमा जिम्मेवारी दिएका छौं । सबैजना सक्रिय भएर काम गरिरहेका छौं । बैठकमा पनि सदस्यहरुको सक्रिय सहभागिता रहेको छ । हाम्रो समूहमा केही फरकरुपमा काम गर्ने, केही नयाँ काम गर्ने भन्ने सबैको भावना रहेको छ ।

समाजः नगरभित्रका वडाहरुमध्ये हेटौंडा वडा नम्बर ११ मा सबल पक्ष के–के देख्नु भएको छ ?

दाहालः विकासको हिसाबले सडक व्यवस्थित छ । थानाभर्याङ २ हजार एक सय घरधुरी भएको एउटै टोल छ । यो अरु वडाभन्दा फरक छ । ११ नम्बर वडाको आधा घरधुरीलाई खानेपानीको व्यवस्था छैन । अव्यवस्थित बस्ती छ । उनीहरुलाई खानेपानीको व्यवस्था गर्न सकिएको छैन । लालपूर्जा दिन सकिएको छैन । भूमिहीन सुकुम्बासीहरुलाई लालपूर्जा दिने महत्वपूर्ण काम छ । ५ वटा टोल विकास संस्थामा खानेपानीको अत्यन्त आवश्यक छ । यो वर्ष नै टेण्डर गरेर काम गर्ने योजनामा छौं । बजेटको माग पनि गरेका छौं । सबैभन्दा पहिले लालपूर्जा र त्यसपछि खानेपानी हाम्रो दोस्रो प्राथमिकतामा रहेको छ ।