मकवानपुर जिल्लामा खेलकुदका गतिविधि बढ्दै गइरहेको छ । विद्यालय तहदेखि राष्ट्रियस्तरका विभिन्न खेलसँग सम्बन्धित प्रतियोगिताहरु एकपछि अर्को गर्दै भइरहेका छन् । खेल क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारले केही हदसम्म बजेट खर्च गर्न थालेका छन् । खेलसँग सम्बद्ध संघसंस्था एवम् अन्य सामाजिक संघसंस्थाले पनि खेलकुद प्रतियोगिता र खेलाडी प्रशिक्षणका लागि विभिन्न कार्यक्रम गरिरहेका छन् । बागमती प्रदेशको राजधानी भइसकेपछि हेटौंडामा खेल गतिविधि जति हुनुपथ्र्यो त्यति हुन सकेको छैन । हेटौंडामा खेलकुद प्रतियोगिताका लागि उपयुक्त पूर्वाधार नहुँदा खेलकुदका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सहज भने भइरहको छैन । खेल गतिविधि सञ्चालनका लागि पूर्वाधार निर्माण र खेलाडी उत्पादनका योजनाहरु प्रभावकारीरुपमा सञ्चालन नहुँदा खेलप्रेमी तथा खेलाडी सन्तुष्ट हुन सकिरहेका छैनन् ।

मकवानपुरमा केही दिनअघि मात्र बागमती गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । केही साताअघि राष्ट्रिय भेट्रान्स फुटबल भएको थियो । आगामी माघ २९ गतेबाट मकवानपुर गोल्डकप हुँदैछ । विभिन्न पालिका तथा स्थानीय तहहरुले पनि फुटबल तथा भलिबलका विविध प्रतियोगिताहरु सञ्चालन गरिरहेका छन् । विद्यालय तहको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताको रुपमा रहेको राष्ट्रपति रनिङशिल्ड पनि धमाधम सञ्चालन भइरहेको छ । हेटौंडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड आज सोमबारबाट सुरु हुँदैछ भने इन्द्रसरोवरले शुक्रबार प्रतियोगिता सम्पन्न गरिसकेको छ । अन्य पालिकाहरुले पनि यो प्रतियोगिता सञ्चालन गर्दैछन् । महिला फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण गराइरहेको हेटौंडा फुटबल एकेडेमीलाई हेटौंडा उपमहानगरपालिकाले एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

पछिल्लो समय हेटौंडामा खेलकुदका लागि विभिन्न पूर्वाधार निर्माण भइरहेका छन् । हेटौंडा–५, क्याम्पाडाँडामा क्याम्पा रंगशाला निर्माण भएर विभिन्न प्रतियोगिताहरु सञ्चालन भइरहेको छ । उक्त रंगशालाले पूर्णता भने पाइसकेको छैन । वि.सं २०४० सालमा प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना भएको हेटौंडाको गौरीटार रंगशालामा विभिन्न खेलसँग सम्बन्धित पूर्वाधारहरु निर्माण भइरहेका छन् । २०६६ सालमै केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माण गर्न शिलान्यास भएको रंगशालालाई प्रदेश सरकारको समेत लगानीमा पूर्णता दिन लागिएको छ । २३ विगाह क्षेत्रफलमा फैलिएको उक्त रंगशाला निर्माण सम्पन्न भएपछि हेटौंडामा थुप्रै खेलका आवासीय प्रशिक्षण तगा प्रतियोगिता सहज बन्नेछ । हेटौंडा बजार क्षेत्रमा रहेको हुप्रचौरमा प्यारापिटसहितको भलिबल कोर्ट निर्माण भइरहेको छ । हेटौंडा–४ मा रहेको कभर्ड हलको निर्माण कार्य सम्पन्न भइसकेको छ । यस्तै, हेटौंडा–५ मा बक्सिङ कभर्डहल तथा हेटौंडा–४, कर्रामा तेक्वान्दो कभर्डहल निर्माण भएका छन् ।

मकवानपुर जिल्ला खेडाली उत्पादनको हिसाबले देशमै अग्रणी छ । यहाँ देशका लागि खेल्ने थुप्रै राष्ट्रिय खेलाडी तयार भएका छन् । फुटबल, भलिबल, हक्की तथा मार्सल आर्टका थुप्रै राष्ट्रिय खेलाडी उत्पादन भइरहेको अवस्थामा यहाँ पर्याप्त खेल पूर्वाधार र उचित प्रशिक्षण हुने हो भने थप खेलाडी उत्पादन हुनसक्ने सम्भावना छ । देशकै मध्यभागमा रहेको र संघीय राजधानीबाट नजिक भएका कारण हेटौंडामा आवश्यक खेलकुद पूर्वाधार निर्माण गरी थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने सम्भावना व्यापक छ । खेल क्षेत्रको विकास र क्षमतावान खेलाडी उत्पादन गर्न नियमित प्रशिक्षण र खेल अभ्यास आवश्यक हुन्छ । खेल क्षेत्रको विकासका लागि देशका विभिन्न ठाउँमा विभिन्न खेलकाक सुविधासम्पन्न प्रशिक्षण केन्द्र तथा प्रशिक्षकको व्यवस्था हुनुपर्छ । प्रशिक्षण गरिरहेका खेलाडीलाई उनीहरुको खेल क्षमता देखाउने अवसर प्रदान गर्न समयसमयमा प्रतियोगिता सञ्चालन गरिनुपर्छ । राज्यका तीनै तहका सरकारले खेल क्षेत्रको विकासका लागि उचित कार्यक्रम र आवश्यक बजेटको व्यवस्था गर्नु आवश्यक छ ।