प्रदेश सभा सचिव नियुक्त हुनुभएका पौडेललाई सपथ ग्रहण गराउनुहुँदै सभामुख भुवनकुमार पाठक ।

हेटौँडा : बागमती प्रदेशसभाको सचिवमा रामकुमार पौडेल नियुक्त हुनुभएको छ । बुधबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभाको सचिवमा पौडेललाई नियुक्त गर्नुभएको हो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १९५ को उपधारा (१) अनुसार पौडेललाई सभाको सचिवमा नियुक्त गरिएको हो । महालक्ष्मी नगरापालिका–९, लामाटार स्थायी ठेगाना भएका पौडेल नेपाल सरकारका सहसचिव हुनुहुन्छ । प्रतिनिधिसभा सचिवालयमा सहसचिव पदमा कार्यरत पौडेलले प्रदेशसभाको सचिवमा नियुक्त हुनका लागि गत चैत १७ गते उक्त पदबाट राजिनामा दिएका थिए । घरायसी कारणले राजीनामा दिएको उल्लेख गर्नुभएका उहाँको चैत १७ मा नै राजीनामा स्वीकृत भएको बुझिएको छ ।

संघीय संसदमा १७ वर्ष सेवा गरेका उहाँलाई प्रदेशसभाको ५ वर्ष अवधिका लागि नियुक्त गरिएको हो । नियुक्तिसँगै सचिव पौडेलले बुधबार नै पद तथा गोपनीयताको सपथ समेत ग्रहण गर्नुभएको छ । सभामुख पाठकले नवनियुक्त सचिव पौडेललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको हो । सपथ ग्रहण समारोहमा उपसभामुख अप्सरा चापागाईको पनि उपस्थिति रहेको थियो । सचिव पौडेलले बुधबार नै पदभार ग्रहण गरिसक्नुभएको छ ।