शिव महापुराण लगाउने विषयमा जानकारी दिनुहुँदै राधिका दासी ।

हेटौँडा : राधा फाउन्डेसनले वैशाख २ गतेदेखि १३ गतेसम्म हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शिव महापुराण लगाउने भएको छ । झापाको कन्काइ–६, मनसापुरस्थित आश्रममा आश्रय लिइरहेका बालबालिकाका लागि सञ्चालक राधा फाउन्डेसन तथा पुराण आयोजक समितिले शिव महापुराण लगाउन लागेको मंगलबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ ।

भागवत् कथावाचिका राधिका दासीको नेतृत्वमा फाउन्डेसनमा सरकार, गैरसरकारी निकायको सहयोगको अपेक्षा गरेको दासीले बताउनुभयो । हाल दाताहरुको सहयोगमा झापाको कन्काइ नगरपालिका–६, मनसापुरस्थित १८ कोठे आश्रम तथा सत्संग भवन निर्माण जारी रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा १४ गते हेटौंडाका ९० वर्ष कटेका ज्येष्ठ नागरिक तथा समाजमा धार्मिक तथा साँस्कृतिक जागरण गदै आएका आमा समूहमा रहेकालाई सम्मान गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

शिव महापुराणका लागि वडा अध्यक्ष सुशील घिमिरे संयोजक रहनुभएको छ । वैशाख २ गते राप्तीस्थित गोरक्षेश्वरबाट कलशयात्रा सुरु गरिने आयोजकले जानकारी दिएको छ । राधिका फाउन्डेसनको आफ्नै भवन नभएको अवस्थामा झापाको कन्काइमा घर भाडामा लिइ १५ बालबालिका अंग्रेजी माध्यममा अध्यापन गराइरहेको छ भने ३५ बालबालिका काठमाडौंका विभिन्न विद्यालयमा आवासीयरुपमा रहेको जानकारी दिइएको छ ।