सुदर्शन ढकाल

मैले नेपाल खानेपानी संस्थानमा २०४० साल भाद्र १३ गतेबाट तह ४ को कार्यालय सहायक पदमा (लेखा) समुह रही २०७९ साल पुस २९ गतेसम्म ३९ बर्ष ४ महिना १७ दिन कार्य गरिरहँदा थोरै मात्र असजिलो र अरु सबै दिन सुखद् र हाँसीखुसिमा नै बित्यो । शुरुका दिनमा कार्यालय प्रमुख लगायत अन्य ठुला पदका कर्मचारीहरु सबै दाजुहरुका साथी हुनुभएका कारण म कार्यालयमा सबैसँग सजिलै घुलमिल भएँ । त्यतिबेला भएका कर्मचारीहरु मध्ये कम उमेर र सानो कदको थिएँ र मैले पनि सबैलाई आदर गर्थेँ । त्यसैले सबैबाट माया ममता पाउथे ।

कामको सुरुवात दिनमानै तत्कालिन कार्यालय प्रमुख गोबिन्द गौचनले पहिलो पोष्टिङ्ग महशुल शाखामा तोक्नुभयो । त्यहाँ रमेश भण्डारी, उत्तम घिमिरे, सूवर्ण श्रेष्ठ, छत्रबहादुर दाजुहरुबाट धेरै काम सिक्ने मौका पाएँ । रमेश र छत्र बहादुर दाई अलि कडा स्वभावको हुनुहुन्थ्यो । रामकृष्ण थापा, वीरेन्द्र सत्याल, बसन्त घिमिरे, रबि भट्टराई दाजुहरुबाट कार्यालय भनेको के हो, कर्मचारी भएर के गर्नु पर्छ र कार्यालय व्यवस्थापन सम्बन्धमा धेरै कुराहरु सिकाउनु भयो । जसका कारण मैले सजिलोसँग काम गर्न सकेँ । २०४३ सालमा मेरो कामको उच्च मुल्याङ्कन गरेर खानेपानी तथा ढल निकास संस्थानबाट रु ३००० पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको थिएँ । तत्पश्चात लगतै मलाई मिटर रिडिङ्ग शाखा प्रमुख भई कार्य गर्न कार्यालय आदेश दिनुभयो ।

२०४५ सालदेखि २०४८ सालसम्म उत्पादन तथा वितरण शाखाको जिम्मेवारी दिनुभयो । २०४८ सालदेखि २०५४ सालसम्म स्टोर शाखामा खरिद तथा जिन्सि प्रमुख भई कार्य गर्न कार्यालय प्रमुखले आदेश दिनुभयो । त्यहाँ कार्य गरिरहँदा संस्थानको वार्षिकोत्सवमा पुरस्कारस्वरुप दुई गे्रड थप पाएँ । २०५४ सालदेखि २०६९ सालसम्म उत्पादन वितरण शाखामा शाखा प्रमुख भई कार्य गरे । २०५९ सालमा तह ५ को वरिष्ठ सहायक (लेखा) पदमा बढुवा भएँ । नेपाल सरकारको निर्णय अनुसर मिति २०७०/०२/०८ गते नेपाल खानेपानी संस्थान विधिवतरुपमा चल–अचल सम्पति र कार्यरत कर्मचारीहरु बोर्डमा हस्तान्तरण भई हालसम्म कार्य गरिरहेकोमा यस व्यवस्थापन बोर्डमा मिति २०७० साल माघ १६ गतेदेखि हालसम्म नि. कार्यकारी निर्देशक पदमा रही बोर्डले दिएको जिम्मेवारी सम्हाल्दै आइरहेको छु ।

मलाई स्मरण छ, संस्थानबाट बोर्डमा हस्तान्तरण हुँदा पानी उत्पादनमा सारै न्यून र मासिक आम्दानीबाट साधारण खर्च धान्न समेत नसक्ने अवस्था थियो । म आफैँ सुरु–सुरुमा कार्यालय सन्चालन गर्न रकम अपुग हुने भएर सबै सरकारी कार्यालयहरुमा बक्यौताको विवरण लिएर महशुल उठाउँदै हिँडेको छु । संस्थानका अनुभवी धेरै कर्मचारीहरु संस्थानमा नै सरुवा भई जानुभयो । २०७० साल जेष्ठ ८ गतेबाट नै कार्यालय सन्चालन गर्नुपर्ने त्यो दिनबाट के गर्ने कसो गर्ने मनमा अनेक खुल्दुलि चलिरह्यो निन्द्रा पनि लागेन । सुख्खायाम छ पानी धेरै जसो स्थानमा आउँदैन दैनिकजसो पानीका लागि डेलिगेसन आइरहेको अवस्था छ, कार्यालयको दैनिक कार्य कसरी गर्ने आदी कुराहरु मनमा खेलिरहन्थ्यो । दिउँसो दैनिक कार्यालय सम्बन्धित कार्य र बिहान साँझ बोर्डको योजना, कार्यक्रमहरु र अन्य कार्यालयको बिषयमा सल्लाह गर्दै अगाडि बडिरहेँ ।

बिहान र बेलुकाको काममा सहयोग र हौसला दिन हेटौंडा उपमहानगरपालिकाका इन्जिनियर कृृष्णबहादुर अधिकारी, लेखा अधिकृत मनोज सुवेदी र जगन्नाथ सापकोटा उहाँहरुले बोर्डमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ठूलो भूमिका रहेको छ । मेरो तर्फबाट भन्नुपर्दा व्यक्तिगतरुपमा मैले त्यति सहयोग नपाएको भए सायद बोर्डले यति थोरै समयमा यतिको राम्रो काम गरेर सबै उपभोक्ताहरुको मन जित्नेगरी सफलतापूर्वक यो अवस्थामा आईपुग्ने थिएन । सर्वप्रथम बोर्डको कार्यभार सम्हाल्नु भएपछि हेटौंडा–१० टिसिएनमा बोरिङ्ग गरी दैनिक १२ लाख लिटर पानी उत्पादनमा बृद्घि गरी भुटनदेवी, आनन्दटोल, टिसिएन, बसपार्क, चाईनाक्वाटर र मेनरोडको पानीको समस्या समाधान भयो ।

पिप्ले क्षेत्रमा बषौंदेखि पानीको समस्या थियो । हिउँद बर्षानै पानी आउँदैन थियो । कार्यालयमा पानीका लागि धाउँदा आजित भएर धेरै उपभोक्ताहरुले धाराको लाईन बन्द गरी सक्नुभएको थियो । त्यसैले दोस्रो बोरिङ्ग गरी दैनिक ७ लाख लिटर पानी उत्पादनमा थप गरी मास्टर चोक, नवीनटोल, ढकालटोल, कार्कीटोल पिप्लेको सबै क्षेत्रहरुमा पानीको समस्यालाई सम्बोधन गर्न सफल भयौं । बजार क्षेत्रहरु जोशीटोल, संगमचोक, मेनरोड, नगरपालिका रोड, गणेश मन्दिर रोड, स्कुलरोड आदि स्थानहरुमा पानीको अभावलाई पुर्ताल गर्न चौकिटालमा बोरिङ्ग गरियो र एउटा पुरानो बोरिङ्गलाई सुधारगरी दैनिक १५ लाख लिटर पानी थप गर्न सक्यौं ।

त्यसैगरी सामरीमा एउटा समवेल निर्माण गरी दैनिक १८ लाख लिटर पानी थपियो र बजार क्षेत्रमा खानेपानीको समस्या केहि समाधान भएको महसुस भयो । खानेपानी बोर्डको मुख्य आम्दानीको स्रोत नै खानेपानी महसुल भएको हुँदा महसुल बृद्घि नगरेसम्म खानेपानीमा सुधार ल्याउन सकिन्न, मुद्रास्फिदी, कर्मचारीको तलबमा हुने बृद्वि महङ्गी आदि कुरालाई हेरी समय सापेक्ष महसुलमा बृद्घि नभए कार्यालय नियमित सन्चालन हुन नसक्ने र पानी उत्पादन र वितरणमा समस्या श्रृजना हुने भएको हूँदा उपभोक्ताहरुलाई ठूलो व्यायभार नहुने गरी बाध्यताबस महसुलमा बृद्घि गरिएको हो ।

सीमित श्रोत र साधनको बाबजुत पनि बोर्डले स्थानीय सरकारसँग सहकार्य गरेर पानी उत्पादनमा बृद्घि , वितरण र भौतिक संरचना निर्माण, मर्मत संभारको कार्यमा अगाडि बढन सफल भए पश्चात बोर्डले ९ वर्षे रणनीतिक कार्ययोजना तयार गरियो । जसअनुसार जडान भएका सबै धाराहरुमा कम्तिमा नियमित सरदर ५ देखि ६ घण्टा पानी पुर्याउने, भण्डारण क्षमातामा बृद्घि गर्ने, शुद्घ खानेपानी वितरण गर्ने, क्षेत्र विस्तार गर्ने कार्यहरु लगभग पुरा हुँदै गएको छ । यस आर्थिक वर्षदेखि ३ बर्ष भित्र शुद्घ खानेपानी बितरण गर्ने लक्ष्य साथ बोर्ड अगाडि बढिरहेको छ ।

बोर्डको सामु अवसर र चुनौति उतिकै रहेको छ । एकातिर संघ, प्रदेश र स्थानीय सरकारसँग हातेमालो गरी सेवा क्षेत्र बिस्तार गर्दै नगर बासीहरुलाई स्वच्छ र सुपथ मुल्यमा पानी ख्वाउने अवसर छ भने नगरको विकट स्थानहरुमा नयाँ योजना सन्चालनमा लागत मुल्य बढि हुनु र नियमित दैनिक कार्य सन्चालन खर्चले धान्नै नसक्ने हुनु चुनौतिको रुपमा लिन सकिन्छ ।

हेटौंडा उपमहानगरपालिका भित्र बसोबास गर्ने आम नगरबासीहरुले खानेपानका लागि अबका केहि बर्षबाट खासै समस्या झेल्नु पर्ने अवस्था देखिँदैन । अल्पकालिन कार्यहरुमा हेटौडा वडा नं. ११ मा थानाभर्याङ्ग, सिमल्टार क्षेत्र (समवेल ३ वटा, ग्राउण्ड ट्याङ्की ७०० घ.मि. १ वटा, मेन तथा शाखा पाईप लाईन कार्य), वडा नं. १४ को टासलिङ, कालापानीमा (ग्राउण्ड ट्याङकी २०० घ.मि. १ वटा, मेन तथा शाखा पाईप लाईन कार्य), वडा नं. १५ को रातोमाटेमा (ग्राउण्ड ट्याङ्की ३०० घ.मि. १ वटा, मेन तथा शाखा पाईप लाईन कार्य), वडा नं. १६ को हटिया चिसापानी शक्तेश्वर सिपाली चोक आदि क्षेत्रका लागि (डिप बोरिङ्ग ३ वटा, ग्राउण्ड ट्याङ्की ७०० घ.मि. १ वटा, मेन तथा शाखा पाईप लाईन पम्प घर कार्य), वडा नं. ६ मा (ओभरहेड ट्याङ्की २५० घ.मि. १ वटा, मेन तथा शाखा पाईप लाईन कार्य) हरुमा बोर्ड र संघीय खानेपानी तथा सरसफाई डिभिजन कार्यालयसँगको सहलगानीमा (७०/३०) अवधारणा अनुसार विस्तृत अध्ययनको कार्य सम्पन्न भइसकेको छ ।

यसै आ. ब. को माघमहिना भित्र बोलपत्रको कार्य हुनेछ । त्यसैगरी हेटौंडा–१६ को त्रिशुले हाइटमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र यस बोर्डसँगको सहलगानीमा निर्माण गरिएको पानी ट्याङ्कीमा पानी राख्ने, बत्ती जडान कार्य, मेन तथा शाखा पाईप बिस्तार गरी स्थानीय उपभोक्तालाई खानेपानी वितरण गर्ने, हेटौंडा–८ मा गत आ.ब.मा अधुरा रहेका कार्यलाई पुरा गरी पानीको वितरण समय र प्रेसरमा बृद्घि गरिने छ । त्यसैगरी अबका केहि वर्षमा बोर्डको सेवा क्षेत्रमा खानेपानीमा बृहत सुधारका लागि भैंसे दोभानबाट करिब १.५ कि.मि. माथिको पानी दैनिक २४” को व्यासको पाइप करिब बजार ल्याउने, नयाँ पाईपलाईन बिच्छाउने, भूमिगत ढल निर्माण, शुद्घ खानेपानी उत्पादन गरी पानी वितरण कार्य आदी अन्य कार्यका लागि विस्तृत अध्ययन कार्य भैरहेको छ ।

यस व्यवस्थापन बोर्डमा तत्कालनै कर्मचारीहरु बोर्डको संगठन तालिका अनुसार व्यवस्थापन गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । बोर्डको कर्मचारी सेवा सर्त सम्बन्धित बिनियमावली २०७१ लाई संशोधन गराई लोकसेवाको माध्यमबाट कर्मचारीहरु स्थायी पदपूर्ति गर्नुपर्ने देखिन्छ । कर्मचारीहरुमा अनुशासन, आचरण शिष्टता, आज्ञापालन, समयपालन, नियमितता, व्यवहार, कामप्रतिको निष्ठा, समर्पण, लगाव, ईमान्दारितामा ध्यान दिनुपर्छ । बोर्डले जुन किसिमको सेवा प्रभाह गरिरहेको छ अझ बढी सेवा दिन पनि यस्ता कुहिएका आलु बोराबाट झिकेर तत्काल फाल्नुपर्छ अन्यथा फेरी काकाकुलको अवस्था नआउला भन्न सकिन्न र अहिले बोर्डका पदाधिकारी ज्यूहरु र कर्मचारीहरुको उच्च भएको शीर र मनोबललाई खस्काउने दुसास नगरीयोस् ।

आम हेटौंडाबासीले पिउने पानीमा खेलवाड नगरियोस् र फेरी गाग्री बोकेर पानी खोज्न हिँड्न नपरोस् भन्दै बोर्डले आगामी ५ बर्षभित्र गरिने कामको फेहरिस्त र गर्नुपर्ने केहि सुधारको खाँचो औँल्याएको छु । अन्तमा म बोर्डको कार्यकारी निर्देशक भई कार्य गरिरहँदा आम हेटौंडाका खानेपानी उपभोक्ताहरुको मनमस्तिकमा केहि अपशब्द बोली ठेस पु¥याइएको भए काम गर्ने क्रममा भुलबस केही गल्ति गरेको भए क्षमा चाहान्छु भन्दै अबका मितिबाट कार्यालय सम्बन्धी केहि कुराहरु सोधपुछ गर्नुपर्ने भएमा मोबाईल नम्बर ९८५५०१२७०८, ०५७–५२३७०८ मा संम्पर्क गर्नुहुन समेत अनुरोध गर्दै आजैका मितिबाट नोकरी जिबनबाट अवकास लिइएको व्याहोरा अवगत गराउन चाहान्छु ।

बिगत ९ वर्षदेखि अबिछिन्न रुपमा कार्यकारी निर्देशक भई कार्य गरिरहँदा बोर्डबाट विश्वासका साथ दिनु भएको जिम्मेवारी, माया ममता साथै प्राप्त हौसलाको सम्मान गर्दै विभिन्न तहमा कार्य गरी आउनु भएका मेरा स्नेहि सहयोगी कर्मचारीहरुबाट सकारात्मक सोच राखी दिनुभएको साथ सहयोगको सधै ऋणि रहिरहनेछु ।

(लेखक हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबाट उमेर हदका कारण अवकाश हुनुभएको छ ।)