चालु शैक्षिक सत्रको आधाभन्दा बढी समय सकिसकेको छ । शैक्षिक सत्रको उपलब्धी कस्तो रह्यो भनेर आमरुपमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतीजाका आधारमा मूल्यांकन गर्ने परम्परागत अभ्यास छ । सरल र सहजरुपमा विद्यार्थीले एसईईको सामना गर्ने वातावरण बनाउने भन्दै सरकारले अनेकौं रणनीति लिए पनि विद्यार्थीमा परीक्षाको भय कम हुन सकेको छैन । यसैसन्दर्भमा एसईईको तयारीमा रहेका विद्यार्थीहरु हेटौंडा–५ स्थित जीएस निकेतनका आयुष विष्ट, संस्कृति सिलवाल र सलिसा मैनाली समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

एसईई परीक्षाको तयारीमा लागिरहँदा दैनिकी कस्तो हुँदैछ ?

संस्कृतिः बिहान ५ बजे उठेर कोचिङ क्लास जान्छु । बिहान ९ बजे कोचिङ क्लासबाट छुट्टी भएर घर जान्छु । एकछिन गृहकार्य गर्छु र स्कुल जान्छु । अझै कतिपय विषयको गृहकार्य गर्न नभ्याउने भएकोले कुनै विषय पढाउने शिक्षक अनुपस्थित हुनुभएको छ भने स्कुलमै गृहकार्य सकाउँछु । स्कुल छुट्टी भएपछि बेलुका घर आउँछु र पढ्ने तथा गृहकार्य गर्नतिर लाग्छु । जेहोस एसईईको तयारीका लागि भ्याई नभ्याई छ ।

शिक्षकहरुले तपाईहरुलाई एसईईको तयारीको बारेमा के भन्नुहुन्छ ?

संस्कृतिः शिक्षकहरुले हामीलाई धेरै प्रेसर नलिई पढ्न सल्लाह दिनुहुन्छ । नतिजा ल्याउनका लागि कक्षामा शिक्षकले पढाउँदा ध्यान दिएर पढ्ने र गृहकार्यहरु नियमित गर्ने गर्नुपर्दछ भन्नुहुन्छ ।

एसईईको तयारी गरिरहँदा कत्तिको प्रेसर लागिरहेको छ ?

आयुषः परीक्षा भन्ने बित्तिकै डराउने सबै विद्यार्थीको प्रकृति नै हो । प्रायः सबै विद्यार्थी सकेसम्म राम्रो नतिजा ल्याएर आफ्नो परिवारलाई गर्व महसुस गराउन चाहान्छन् । त्यसकारण हामीले जतिसक्दो धेरै मिहिनेत गरेर चाहे जस्तै नतिजा ल्याउन चाहन्छाँै । त्यसका लागि बिहान उठेदेखि बेलुका नसुत्दासम्म पढाइमा ध्यान दिनुपर्ने भएकोले अलिकति प्रेसर नै लागिरहेको छ ।

सबै विद्यार्थी परीक्षा भन्ने बित्तिकै डराउँछन् । एसईईको तयारी गरिरहँदा के–के कुराको डर लाग्दो रहेछ ?

सलिसाः खासमा यतिबेला लागेको डर शिक्षक, अभिभावकहरु कसैको होइन । एसईई भनेको विद्यालय तहको अन्तिम वर्षको परीक्षा भएकोले पास भएन भने आफुसँगै पढेका साथीहरु पास भएर आफु मात्र फेल हुने हो कि भन्ने कुराको हो । परीक्षा केन्द्र अर्काे स्कुलमा पर्ने भएकोले आफुले पढेर गएको कुराहरु परीक्षा दिने ठाउँमा पुग्दा बिर्सेर चाहेको जस्तो नतिजा ल्याउन नसकिएला कि भन्ने कुराको पनि डर लागेको छ ।

करिब आधा भन्दा बढी समय कक्षा १० मा अध्ययन गरिरहँदा व्यक्तिगत तपाईको के कत्ति कुरामा सुधार भएको छ ?

सलिसाः मेरो व्यक्तिगत रुपमा भन्नुपर्दा, शुरुमा म गणित विषयमा एकदम कमजोर थिएँ । शिक्षकहरुले बुझाउनुभएको हिसाब पनि बुझ्न सक्दिनथेँ । तर अहिले करिब आधा समयको अध्ययनमा आफुले आफैमा धेरै सुधार पाएकी छु । त्यसका लागि स्कुलले होस्टेलमा बस्ने व्यवस्था मिलाइदिनुका साथै शिक्षकहरुले पनि धेरै सहयोग गर्नुभएको छ । आफ्नो तर्फबाट पनि जतिसक्दो मिहिनेत गरेर आफुलाई सुधार गर्दै आएकी छु । त्यस्तै सामाजिक विषयका लागि पाठ्यक्रम भन्दा बाहिरको ज्ञानहरु आवश्यक पर्ने भएकोले बाह्य ज्ञान आर्जन पनि गरिरहेकी छु ।

बाह्य ज्ञान लिन के–कस्ता सामाग्रीहरु प्रयोग गर्नुहुन्छ ?

सलिसाः बाह्य ज्ञानका लागि मैले राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्रपत्रिकाहरु पढ्ने गरेकी छु । नेपालको सामसामायिक कुराहरु खोज्ने, पढ्ने गर्दै आएकी छु ।

एसईई दिने विद्यार्थीको सन्दर्भमा शिक्षकले के कुरामा ध्यान दिनुपर्छ ?

आयुषः मेरो विचारमा शिक्षकहरुले पढाउँदा पाठ्यक्रम भित्रको मात्र नभई बाहिरी ज्ञानहरु पनि दिनुपर्छ जस्तो लाग्छ । पाठ्यक्रमसम्बन्धी बाहिरी ज्ञानहरु खोजी गरी विद्यार्थीलाई बुझाउँदा विद्यार्थी उक्त विषयमा थप स्पष्ट हुन्छ । सबै विद्यार्थीले सोधेको प्रश्नको जवाफ झर्काे नमानी दिनुपर्छ । विद्यार्थीले नबुझेको अवस्थामा विभिन्न विधिहरुमार्फत बुझाइदिनुपर्छ र सधै विद्यार्थीलाई पढ्नको लागि हौसला दिने गर्नुपर्दछ ।

तपाईहरु परीक्षाको तयारीका लागि होस्टेल बस्नुपर्ने कारण के हो ?

संस्कृतिः एसईईको तयारीका लागि घरमा उपयुक्त वातावरण नभएर होस्टेल बसेको चाहिँ होइन । घरमा हामीलाई गाइड गर्ने मान्छे नभएकोले हामी होस्टेल बसेका हौं। होस्टेलमा हामी सबैजना साथीहरु हुने भएकोले एकअर्कासँग सल्लाह गरी पढ्न पाइन्छ । आफुलाई नआएका कुरा साथीहरु लगायत शिक्षकहरुसँग जतिबेला पनि सोध्न सकिन्छ । त्यसले गर्दा हाम्रो पढाइमा सुधार आई आफुले चाहेजस्तो नतिजा ल्याउन सकिन्छ ।

तपाइहरुको एसईई तयारीलाई अझ प्रभावकारी बनाउन शिक्षकहरुले के गरिदिनुपर्ला ?

आयुषः शिक्षकहरुले सबै विद्यार्थीसँग साथी तथा परिवारमा जस्तै घुलमिल भई सबैलाई त्यही अनुसारको व्यवहार गर्नुपर्छ र सोधेका प्रश्नहरुको जवाफ झर्काे नमानी दिनुपर्छ । जसले गर्दा विद्यार्थीहरु आफुलाई नआएका कुरा निडर भएर सोध्न सकिन्छ । पाठ्यक्रमसँग सम्बन्धित प्रश्नहरु बनाएर दिने, नआएका कुरालाई सिकाउने, परीक्षामा प्रश्नको मोडलहरुको समाधान गर्न सहयोग गर्नुपर्छ जस्तो मलाई लाग्छ ।