हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक र विद्यार्थीका लागि दुई दिवसीय अनुसन्धानात्मक लेख लेखनसम्बन्धी कार्यशाला भएको छ । मंगलबार र बुधबार दुई दिनका लागि आयोजना गरिएको कार्यशालामा ५० भन्दा बढी प्राध्यापक तथा ५ जना विद्यार्थी सहभागी थिए । कार्यशालामा शिक्षाशास्त्र संकायअन्तर्गत स्नातक तह तथा व्यवस्थापन संकायतर्फ स्नात्तकोत्तर तहका विद्यार्थी सहभागी थिए ।

विश्वविद्यालय तहको शैक्षिक अभ्यासका लागि प्राध्यापक तथा विद्यार्थी समेतले अनुसन्धानात्मक शैक्षिक लेख लेख्नु आवश्यक रहेकाले कार्यशालाको आयोजना गरिएको क्याम्पस प्रशासनले जनाएको छ । कार्यशालामा मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखद्वय डा. रामप्रसाद अधिकारी र डा. यमबहादुर सिलवाल, सहप्राध्यापक डा. लोकराज शर्माले सहजीकरण गर्नुभएको थियो । संकायगतरुपमा प्राध्यापक र विद्यार्थीले अनुसन्धानात्मक लेख लेख्ने तरिकाका बारेमा जानकारी गराइएको थियो । कार्यशालामा सहभागी प्राध्यापक तथा विद्यार्थीको ५ देखि ७ जनाको १० वटा समूहले अनुसन्धानात्मक लेखको खाका तयार पारेका थिए ।

विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धिको क्रियाकलाप गर्दै आएको मकवानपुर बहुमुखी क्याम्पसले क्याम्पसका प्राध्यापकको क्षमता अभिवृद्धिका लागि कार्यशालाको आयोजना गरिएको सहायक क्याम्पस प्रमुख डा. राप्रसाद अधिकारीले जानकारी दिनुभयो । मकवानपुर बहुमुखी क्याम्पसले अनुसन्धानात्मक शैक्षिक लेख प्रकाशनकै लागि अन्तर्राष्ट्रियस्तरको अनलाइन जर्नल प्रकाशन गर्दै आएको छ । यस्तै क्याम्पसका प्राध्यापकहरुले अन्तर्राष्ट्रिय जर्नलहरुमा आफ्नो लेख प्रकाशन गर्दै आउनुभएको छ ।