काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. ईन्द्रमणि श्रेष्ठ

शिक्षण विधि र पद्दतिका विषयमा अनेकौं अध्ययन–अनुसन्धान भइरहेका छन् । बालबालिकालाई प्रभावकारी शिक्षा दिलाउन शिक्षण विधि र पद्दतिमा सरलीकरणका प्रयासहरु उल्लेखनीय हुन सकेको छैन । पछिल्लो समय स्टीम विधि अर्थात विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई एकीकृतरुपमा शिक्षण विधिमा प्रयोग गर्ने अवधारणाले शिक्षण अभ्यास प्रभावकारी हुने दावी गरिँदै आएको छ । यही स्टीम विधिको विषयमा हेटौंडामा केही विद्यालयका विद्यार्थी र शिक्षकलाई सहजीकरण गर्न हेटौंडा आइपुग्नुभएका काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. ईन्द्रमणि श्रेष्ठसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ गर्नुभएको कुराकानीः

के परियोजना के कार्यक्रमका लागि हेटौंडा आउनु भयो ?

श्रेष्ठः काठमाडौं विश्वविद्यालयले शिक्षालाई तल्लो तहसम्म पुर्याउने सन्दर्भमा अहिले विभिन्न विद्यालयसँग सहकार्य गरेर काम गरिरहेको अवस्थामा त्यस्तै कारखाना नेपाल भन्ने छ । उनीहरुसँग पनि सहकार्य गरेर विभिन्न ठाउँहरुमा जाँदै विभिन्न प्राईभेट बोर्डिङ स्कुल र सामुदायिक स्कुलहरुमा शिक्षामा के गर्न सकिन्छ भनेर विभिन्न कार्यशालाहरु चलाउने गर्छौं । स्टिम एजुकेशन बिधिबाट कसरी शिक्षा दिन सकिन्छ भन्ने सन्दर्भमा म एउटा कार्यशालामा सहभागी हुन हेटौंडा आइपुगेको हुँ ।

शिक्षण अभ्यासमा स्टिम बिधिलाई कसरी बुझ्न सक्छौं ?

श्रेष्ठः यो बुझ्नलाई धेरै गहिराईमा जाने नै होईन । यो एउटा बिधि हो । यसमा अंगे्रजी पाँच वटा अक्षर हुन्छ । एस, टी, ई, ए, एम जसको अर्थ हुन्छ एस–साईन्स, टी–टेक्नोलोजी, ई–ईन्जीनियरिङ, ए–आर्टस्, एम–म्याथम्याटिक्स । नेपाली विषय पढाउनेले पनि यो बिधि लगाउन सक्छ । जसमा साईन्स भनेको अनुसन्धात्मक हो । जसमा साईन्स अर्थात नेपाली वा कुनै पनि विषय पढाउँदा अनुसन्धान गराउन सकिन्छ । त्यस्तै टी अर्थात टेक्नोलोजी त्यसको चै सही तरिकाले टेक्नोलोजीको प्रयोग कसरी गर्ने टेक्नोलोजी भनेको कम्प्युटर ल्यापटप यो हाइफाई मोर्डन मात्र होईन । हाम्रो लोकल टेक्नोलोजी पनि छ । जस्तै ढिकी, जाँतो यिनीहरुलाई कसरी सही प्रयोग गरेर शिक्षण सिकाईमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा भयो ।

यस्तै ईन्जिनियरिङ छ । ईन्जिनियरिङ भनेको ठुला–ठुला भवन पुल बनाउने होईन । ईन्जिनियरिङ भनेको डिजाईन थिङ्कीङ हो । त्यसले प्लान गर्ने, खाका–योजना बनाउने हो । निश्चित बिधिबाट बच्चालाई कसरी पढाउन, सिकाउन सकिन्छ भन्ने हो । त्यसपछि आर्टस् छ । आर्टस् भन्ने बित्तिकै साईन्स, म्याथ पढ्न नसक्नेले पढ्ने हो भन्ने बुझिन्थ्यो तर त्यो होईन । आर्टस् भनेको एउटा कला, कलाले मान्छेलाई क्रियटिभिटी, सिर्जनशिलता, कल्पनाशिल बनाउने हो । यसले बच्चाहरुलाई पोजिटिभ एटिच्युड बढाउँछ । अनि म्याथम्याटिक्स भनेको दुई तियाई छ, चार पन्चे बीस भन्ने मात्र होईन । यसले गणनात्मक सोच बढाउँछ ।

कुनै विद्यालयले स्टिम अवधारणा कार्यान्वयन गर्छु भन्यो भने विद्यालयले गर्नुपर्ने तयारी के हुन्छ ?

श्रेष्ठः एकदम सजिलो छ । सर्वप्रथम म विद्यालयका शिक्षकहरुलाई स्टिमको बिधि बुझाउनु पर्यो, ट्रेनिङ दिनु प¥यो । त्यसको लगत्तै उहाँहरु कक्षामा जान सक्नु हुन्छ । बस यत्ति हो कि शिक्षकले आफ्नो सोच बदल्नु पर्यो र स्टिम बिधि राम्ररी बुझ्नु अथवा सिक्नु चै पर्यो ।

स्टिम बिधिलाई कार्यान्वयन गर्न अहिले उपलब्ध विद्यालयका शिक्षक, प्रधानाध्यापकबाट सम्भव देख्नुहुन्छ ?

श्रेष्ठः एकदम मजाले सकिन्छ । पहिलो कुरो के भन्दा सोँचमा परिवर्तन आउनु पर्यो ।

त्यहि सोच परिवर्तन गर्न चैं के गर्नु पर्यो ?

श्रेष्ठः त्यसको लागि नियमित छलफलमा जानु पर्यो ।

विद्यालयमा अभिभावक आउँदैनन् भनेर प्रधानाध्यापक, शिक्षकहरु अभिभावक नै नबोलाउने शैलीमा १०–४ को जागिर कटाउने बाहेक नयाँ काम भएको देखिँदैन ।

श्रेष्ठः त्यो सब पहल नभएर हो । विद्यालयमा भेला भएर ठुलै मेला चलाउनु पर्छ भन्ने छैन । जतिखेर अभिभावक भ्याउनु हुन्छ त्यतिखेर हामी उहाँको घरमै पुग्न सक्छौं नि ।

सिंगो पालिका भित्र नै यो कार्यक्रम लागु गरौं भनेर जानु पर्यो भने पालिकालाई हामीले कसरी बुझाउन सक्छौं ?

श्रेष्ठः त्यसका लागि सबैभन्दा पहिला पालिकाले बजेट छुट्याउनु पर्यो । काठमाडौं युनिभर्सिटीसँग सम्झौता गर्ने, सम्झौता गरिसकेपछि कुन–कुन कार्यक्रमहरु कसरी लाने त्यो योजनाहरु हामी उपलब्ध गराउँछौं ।

कार्यशालामा सहभागी हुने विद्यार्थीहरुले यसलाई कसरी बुझ्ने ?

श्रेष्ठः यसबाट विद्यार्थीहरुले बुझ्ने के हो भन्दा अब साईन्स पढाउन फलाने शिक्षक आउनु हुन्छ अनि हामीलाई पढाउनु, सिकाउनु हुन्छ भनेर बस्नु भन्दा पनि यो त हामी आफैँले खोज्ने रहेछ अनि अल्झेको ठाउँमा शिक्षकहरुले सहयोग गर्नु हुने रहेछ । आफैँ गर्यो भने सबै हुने रहेछ, नसकेको कुराहरु अभिभावक–शिक्षक सबै हुनुहुन्छ । त्यो सोचमा परिवर्तन आएपछि म गर्न सक्छु वा हामी मिलेर गर्न सक्छौं भन्ने पोजेटिभ चरित्र र विश्वास बढ्छ ।