बिनु बिक
विद्यालय त्यो स्थान हो, जहाँ शिक्षा आदान-प्रदान गर्न सकिन्छ । विद्यालयलाई पाठशाला पनि भन्ने गरिन्छ । यसमा धेरै तहका विद्यालयहरु पर्दछन् । त्यसैगरी कक्षा दशसम्म तीन तहका विद्यालयहरु पर्दछन् । जुन पहिलो तहमा नर्सरी, दोस्रो आधारभूत र तेस्रो माध्यमिक तहको रुपमा रहन्छ । शिक्षा हाम्रो जीवनको एक महत्वपूर्ण अंश हो । शिक्षा बिना हामी केही गर्न सक्दैनौं । ज्ञान बिना हामी अधुरा छौं । शिक्षा त्यो ज्ञान हो, जसले अरु भन्दा अलग बनाउन मद्दत गर्दछ । शिक्षा हामीले विद्यालयबाट नै प्राप्त गछौं ।
शिक्षा प्राप्त गर्नका लागि विद्यालयको वातावरण निकै महत्व हुन्छ । कतिपय विकट ठाउँहरुमा पढाई राम्रो हुँदैन । शिक्षकको अभाव, अभिभावकमा चेतनाको अभाव रहन्छ । सहरी क्षेत्रमा अभिभावकले आफ्ना नानीबाबुलाई सकेसम्म निजी स्कुलमा नै पढाउने गरेका छन् । ग्रामीण क्षेत्रमा न्यून संख्यामा विद्यार्थी हुनु, शिक्षकको अभाव हुनु जस्ता कारणले दुईवटा, तीनवटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिन्छ ।
विद्यार्थीको पढाईप्रति रुची कम र शिक्षकमा पनि पढाउने जाँगर नहुँदा विद्यार्थीले उचित शिक्षा हासिल गर्न पाइरहेका छैनन् । विद्यालयमा विद्यार्थीका लागि आवश्यक खेलकुद सामान, पढ्नका लागि पुस्तकालय, कम्प्युटर कक्षा, शिक्षकको कोठा, सभा कक्ष, खाजा खाने ठाउँ, कार्यालय, शौचालय आदिजस्ता स्थानहरुको कतिपय विद्यालयहरुमा राम्रो व्यवस्था छ भने कतिपय विद्यालयमा राम्रो व्यवस्था छैन । जुन विद्यार्थीको शिक्षाका लागि अत्यन्तै महत्वपूर्ण हुन्छ । विद्यालयमा नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा, नैतिक शिक्षा, भुगोल, इतिहास, धर्म, संस्कृति, कला, साहित्य, कृषि सबै विषयको अध्ययन गराइन्छ । जसबाट विद्यार्थीले शिक्षा हासिल गर्दछन् । कतिपय विद्यार्थीले यी सबै शिक्षा हासिल गरेका हुँदैनन् । जुन विद्यार्थीले नपढ्नाले तथा शिक्षकले सिकाउन नजान्नाले शिक्षा हासिल गर्न सकेका हुँदैनन् । विद्यालयमा विद्यार्थीको बुद्धि विकासका लागि वादविवाद, वक्तृत्व कला, नाटक जस्ता क्रियाकलाप तथा विभिन्न क्लब, किशोरी समूह जस्ता विभिन्न संगठन गरिन्छ । कुनै विद्यालयमा यस्ता क्रियाकलाप तथा संगठन हुँदैन ।
विद्यालयका शिक्षक शिक्षिकाले पाठ्यक्रम तथा आवश्यक सामानको व्यवस्था गरिदिनु पर्दछ । उचित खाले शिक्षा दिने सम्पूर्ण विद्यार्थीलाई एकैखाले शिक्षा प्रदान गर्नुपर्दछ । अभिभावकले पनि आफ्ना छोराछोरीलाई दैनिक विद्यालय पठाउने तथा विद्यालयमा गई आफ्ना छोराछोरीको पढाईका बारेमा बुझ्ने गर्नुपर्दछ । जिम्मेवार अभिभावक, मिहिनेती शिक्षक, कुशल प्रधानाध्यापक, कुशल व्यवस्थापन समिति र सचेत समाज रह्यो भने विद्यालय साँच्चै शिक्षाको मन्दिर बन्छ, विद्यार्थीले पढ्ने, शिक्षकले पढाउने वातावरण बन्छ । यसर्थ सम्पूर्ण सरोकारवालामा विद्यार्थीले रहर गरेर पढ्ने, बुझ्ने, सिक्ने थलोको रुपमा विद्यालय परिसरलाई विकसित गरी सुन्दर भविष्यका कर्णधारलाई असल शिक्षा प्राप्त हुने सुनिश्चित गरौं ।
कक्षा–११, मकवानपुर बहुमुखी क्याम्पस ।