हेटौंडाः बिहीबार र शुक्रबार दुई दिन हेटौंडामा विद्यार्थीका लागि “सिकाई चौतारी” कार्यक्रमको आयोजना गरिएको छ । विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित पाँच विधालाई एकीकृत गरी विद्यार्थीमाझ प्रभावकारी सिकाई अभ्यास गराउने स्टीम अवधारणा लागु गर्ने उद्देश्यले सिकाई चौतारीमा विद्यार्थीलाई क्रियाकलाप गराउने, शिक्षकलाई शिक्षण विधिबारे अभिमुखीकरण गराउने र नीति निर्माण तहमा रहेका अधिकारी र कार्यान्वयनमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने विद्यालयका प्रिन्सीपल र शिक्षकहरुसँग अन्तरक्रिया समेत गरिएको छ ।
काठमाडौं विश्वविद्यालय र प्रभावकारी सिकाईका लागि स्टीम कार्यक्रमको अभियन्ता संस्था कारखानासँगको सहकार्यमा स्थानीय आयोजकको रुपमा हेटौंडा स्कूल अफ म्यानेजमेन्ट, नवोदय शिशु सदन र बालजागृति इंग्लिस सेकेण्डरी स्कूल रहेका थिए । सिकाई चौतारी कार्यक्रमअन्तर्गत शुक्रबार मकवानपुरका १६ सहित चितवन र बाराका २/२ वटा र सर्लाहीको एउटा गरी कुल २१ विद्यालयका १ सय ५० भन्दा बढी विद्यार्थीले प्रयोगात्मक अभ्यास गरेर विज्ञान र प्रविधिसम्बन्धी अभ्यास गरेका थिए । ३७ वटा समूहमा विद्यार्थीले काराखानाले उपलब्ध गराएको सामग्रीको प्रयोग गरेर विज्ञान र प्रविधिसम्बन्धी क्रियाकलाप गरेका थिए ।
चितवन जिल्लाको भरतपुर–१० स्थित अर्किड माध्यमिक विद्यालयकी छात्रा किन्जल खरेलले कार्यशालाबाट समूहगतरुपमा कार्यविभाजन गरी कसरी कार्य गर्ने भन्ने सिकेको बताउनुभयो । उहाँले फरक–फरक व्यक्तिहरुको फरक–फरक क्षमता र ज्ञान हुने बताउनुभयो । जसअनुसार विभिन्न समूहमा विभाजन गरी फरकफरक सामग्री बनाउने कार्य दिइएको बताउनुभयो । कार्यशालाबाट अन्य समूहमा भएका व्यक्तिको क्षमता, सीप र ज्ञान प्राप्त हुने उहाँको भनाइ छ । सोही विद्यालयकी छात्रा मिनल शर्माले विज्ञानसम्बन्धी कार्यशालाको प्रशिक्षण विद्यालयले दिइरहेकाले उक्त कार्यशालामा कार्य गर्न सजिलो भएको बताउनुभयो । पाठ्यक्रममै उक्त विषय समेटिने भएकाले अतिरिक्त अभ्यास गर्न सजिलो भएको उहाँको भनाइ छ । हेटौंडा–४ स्थित नवोदय शिशु सदनका छात्र उज्वल यादवले बास्केट बल खेलको बारेमा सिकेको बताउनुभयो ।
३ वर्षअघि मिनी भविष्य भनेर बालबालिकाका लागि क्रियाकलाप आयोजना गरेको कारखानाले शुक्रबार आयोजना गरेको सिकाई चौतारीमा सहभागी विद्यार्थीले दिनभर दुख गरेर साँझ खुसी हुँदै यो गर्यौं, त्यो गर्यौं भनेर भनेको देख्दा खुसी लागेको कारखानाका पवित्र बहादुर गौतमले जानकारी दिनुभयो । यसपटक शिक्षकलाई पनि अभिमुखीकरण गर्नु उपलब्धी भएको र आगामी दिनमा यहीँका शिक्षकहरु सक्षम हुँदै जानु उपलब्धीको विषय हुने गौतमको भनाइ छ । शुक्रबार काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक डा. ईन्द्रमणि श्रेष्ठ र कारखानाकी शिक्षक प्रशिक्षक राशी कार्कीले शिक्षकहरुलाई स्टीम अवधारणामा शिक्षणसम्बन्धमा अभिमुखीकरण गराउनुभएको थियो ।
यस्तै साँझ हेटौंडा स्कूल अफ म्यानेजमेन्टकै सभाकक्षमा शिक्षण विधि स्टीममा आधारित भई अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रियामा काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक ईन्द्रमणि श्रेष्ठ, शैक्षिक गुणस्तर परीक्षण केन्द्रका अधिकृत खिलनारायण श्रेष्ठ, राष्ट्रिय परीक्षा बोर्डको हेटौंडास्थित कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरे, प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी वक्ताको रुपमा सहभागी हुनुहुन्थ्यो । कारखानाले हरेक पालिकास्तरमा पुगेर स्टीम अवधारणालाई विद्यालय तहसम्म पुर्याउने लक्ष्य लिएको जनाएको छ । अन्तरक्रियामा कारखानाका पवित्र बहादुर विष्टले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डको हेटौंडास्थित कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरेले मकवानपुरका सरकारी विद्यालयमा नयाँ र पुराना दुबैखाले शिक्षकले स्टीमको अवधारणालाई कार्यान्वयनमा लैजान सक्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालय तहको शिक्षामा अनुगमन तथा निरीक्षणको पाटो कमजोर भएको उल्लेख गर्नुहुँदै घिमिरेले तल्लो तह अर्थात शिक्षक नै चलायमान हुन सके स्टीम अवधारणा प्रभावकारी हुने बताउनुभयो । प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले आफ्नो विद्यालयमा स्टीम अवधारणा लागु गरिसकेको र मकवानपुरका अन्य विद्यालयले पनि यसलाई अभ्यास गर्न सक्ने दावी गर्नुभयो ।