परीक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिँदै ।

हेटौंडाः हेटौंडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयको ५१ औं वार्षिक साधारणसभा तथा अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । भेलामा विद्यालयका प्रधानाध्यापक रमेश सुवेदीले अगामी शैक्षिक कार्ययोजनाबारे जानकारी गराउनुभएको छ ।

विद्यालयको गत शैक्षिक सत्र–२०७८ को वार्षिक परीक्षामा २ सय ४७ जना विद्यार्थीले परीक्षा दिएको उहाँले बताउनुभयो । उक्त वर्ष २ सय ८५ जना विद्यार्थी भर्ना भएका थिए । चालु शैक्षिक सत्रमा भने ३ सय २२ जना विद्यार्थी अध्ययनरत् रहेको उहाँले जानकारी दिनुभयो । विद्यालयका सहायक प्रधानाध्यापक रमा अधिकारीले चालु आर्थिक वर्ष २०७९/०८० मंसिरसम्मको आयव्यय विवरण प्रस्तुत गर्नुभएको छ । विद्यालयको आय ४३ लाख ९७ हजार ९ सय ५७ रुपैयाँ र व्यय ४७ लाख ६८ हजार ३ सय ३७ रुपैयाँ रहेको उहाँले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद नेपालको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष फुर्वा दोर्जे लामाको विशिष्ट आतिथ्य रहेको थियो ।