विष्णुकुमारी लामिछाने अधिकृतस्तर नवौं हेटौंडा उपमहानगरपालिका

हेटौंडा उपमहानगरपालिकाले बालअधिकार संरक्षण एवं प्रबर्धन गर्दै पालिकाको नीति, कार्यक्रम, सेवा प्रवाह र संरचनालाई बालमैत्री बनाउन प्रतिबद्धताका साथ अघि बढेको छ । आ.व. २०७९/८० मा बालमैत्री अभियान सञ्चालन गर्नको लागि बजेट विनियोजन गर्दै नगरस्थित सम्पूर्ण सरोकारवालाहरुलाई गत भाद्र ५ गते अभिमुखिकरण गर्दै सोही कार्यक्रममा नगर प्रमुखको संयोजकत्वमा बालमैत्री स्थानीय शासन नगर समिति गठन गरिएको थियो । नतिजामूखी कार्ययोजना स्वीकृत गरेको र सम्पूर्ण सूचकहरु पुरा गर्दै वडाहरु बालमैत्री बनाएर वि.सं. २०८० मंसिर मसान्तभित्र बालमैत्री उपमहानगरको रुपमा स्थापित गर्ने सम्पूर्ण सरोकारवालाहरुबाट हस्ताक्षरसहित प्रतिबद्धता समेत व्यक्त भएको छ ।

नेपालको संविधान भाग ३ मौलिक हक धारा ३९ मा १० वटा उपधारामा उल्लेखित बालबालिकाका हकहरु नै बालमैत्री स्थानीय शासन सञ्चालनका मूल आधार हुन् । त्यसैगरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ दफा १२ वडा समितिको काम कर्तव्य र अधिकार अन्तर्गत (ग) मा बालउद्यानको व्यवस्था गर्ने, बालसमूह तथा बालसञ्जाल व्यवस्थापन गर्ने, आर्थिक तथा सामाजिक रुपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक लगायतको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने, वडालाई बालमैत्री बनाउने लगायतका जिम्मेवारीहरु उल्लेख गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणा प्रकृयामा सहजता र सबै पालिकामा एकरुपता होस् भनी बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९ जारी गरेको छ । यिनै कानूनको परिधिमा रहेर वि.सं. २०८७ सम्ममा सबै स्थानीय तहले आ–आफ्नो पालिकालाई बालमैत्री बनाउनुपर्ने जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ ।

यो सँगै नेपाल सरकारले जारी गरेको बालबालिका सम्बन्धी ऐन, २०७५ र नियमावली २०७८ लाई कार्यान्वयन गर्न हेटौंडा उपमहानगरपालिकाले बालसमूह सञ्जाल गठन तथा परिचालन निर्देशिका २०७६, बालबालिका सम्बन्धी ऐन २०७७, बालकोष (स्थापना र सञ्चालन) कार्यविधि, २०७९ तथा बालअधिकार संरक्षण नीति २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । नगरस्तरीय बालअधिकार समिति उपप्रमुखको संयोजकत्वमा गठन भई क्रियाशिल रहेको छ । त्यसैगरी नगरप्रमुखको संयोजकत्वमा बालमैत्री स्थानीय शासन नगर समिति र प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन भइ क्रियाशिल रहेका छन् ।

कार्यान्वयन सहजीकरण समितिका पदाधिकारी तथा उपमहानगरमा रहेका विभिन्न गैससका प्रमुख तथा प्रतिनिधिहरुसँग बालमैत्री स्थानीय शासनका सूचक, वस्तुगत विवरणका लागि प्रश्नावली र नगरलाई बालमैत्री बनाउन संघ संस्थाबाट गरिने लगानी सहितको प्रतिबद्धता सम्बन्धि छलफल गरिएको छ । सोही बमोजिम बाल हेल्पलाईन(१०९८), राडो नेपाल, ‍ईस्थर बेन्जामिन तथा मामाघर नेपालबाट प्रतिबद्धता पत्र समेत प्राप्त भइ सोही बमोजिम कार्यक्रमहरुमा सहकार्य भैरहेको छ ।

नगरको बालवस्तुगत विवरण तयारीको लागि तथ्याङ्क संकलन गर्न ३० जना तथ्याङ्क सङ्कलकहरुको लागि भर्ना प्रकृया अगाडी बढेको छ । त्यसैगरी बालमैत्री अभियानलाई चुस्त रुपमा अगाडी बढाउन १९ वटै वडाको लागि १/१ जना वडास्तरीय बालमैत्री सहजकर्ता र १ जना नगरस्तरीय सहजकर्ता गरी जम्मा २० जनाको भर्ना पनि प्रकृयामा नै रहेको छ । वडा बालमैत्री नभई नगर बालमैत्री हुन नसक्ने विषयलाई समेत मध्यनजर गर्दै यो अभियान वडा केन्द्रित भएको छ । सम्पूर्ण वडा सचिवहरु तथा बालमैत्री वडा सम्पर्क व्यक्तिलाई बालमैत्री सूचक र वडाले पूरा गर्नुपर्ने जिम्मेवारीको बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

उपमहानगरका १९ वटै वडामा सम्पूर्ण सरोकारवालाहरुलाई बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । प्रत्येक वडामा वडा अध्यक्षबाट १ जना वडा सदस्यलाई बालमैत्री सम्पर्क व्यक्ति तोकिसकिएको छ । चारै जना वडा सदस्यहरुलाई बालमैत्री अभियान सञ्चालन गर्ने जिम्मेवारीका साथ वडामा रहेका टोल विकास संस्था र भौगोलिक क्षेत्र विभाजन गरिएको छ । त्यसैगरी वडामा बालमैत्री अभियानलाई सार्थक रुपमा संयोजन गर्न सरोकारवालाको सहभागिता रहने गरी वडा अध्यक्षको अध्यक्षतामा १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको छ । प्रत्येक वडाका सरोकारवालाहरुको समन्वयमा बालमैत्री सूचकहरु पूरा गरी वडालाई बालमैत्री बनाउने मिति समेत तय भई प्रतिबद्धतामा सामूहिक हस्ताक्षर भएको छ । अभिमुखीकरण कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका सबै अध्यक्ष, सबै प्रधानाध्यापकहरु, स्वास्थ्य संस्थाका प्रमुख, स्वयंसेविकाहरु, टोलविकास संस्थाका अध्यक्षर प्रतिनिधिहरु, मेलमिलापकर्ता, स्थानीय प्रहरी, बालसमूहका बालबालिकाहरु, महिला जागरण समूह, युवा क्लबको प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

उपमहानगर क्षेत्रभित्र माग्ने काममा या श्रमिकको रुपमा बालबालिका प्रयोग नगर्न विभिन्न सञ्चार माध्यमबाट अपिल गरिएको छ, नगरप्रहरी मार्फत् माइकिङ गरी सूचना प्रसारण पनि गरिएको छ । नगरक्षेत्रभित्र यस्ता घटनाहरु देखिएमा वा कसैले उपमहानगरपालिका, बालहेल्पलाईन, जिल्ला प्रहरी कार्यालय र श्रम कार्यालयमा जानकारी गराएमा यथाशिघ्र कारवाही प्रकृया अगाडी बढाइएको छ । हेटौंडा बाहिरबाट बालबालिका ल्याइ श्रमिकको रुपमा कार्यरत ५ जना बालबालिका माथि उल्लेखित कार्यालयहरुको समन्वयमा व्यवसायी र परिवारका सदस्यहरु उपस्थित गराई उक्त कार्य आगामी दिनमा

नदोहोर्याउने लिखित प्रतिबद्धता गराई पारिवारिक पुनस्र्थापना गराईएको छ । पछिल्लो समयमा बालबालिकाको क्षेत्रमा देखिएको अर्काे समस्याको रुपमा रहेको नशालु पदार्थको सेवन हो । यसको निवारणको लागि घर परिवार, विद्यालय र व्यवसायी सचेत एवं इमान्दार हुनुपर्दछ । अभिभावकले नशालु पदार्थ सेवन नगर्ने र यस्ता वस्तुको खरीदमा बालबालिकाको प्रयोग गर्नुहुँदैन । शिक्षकले सकरात्मक अभिमुखीकरणमार्फत् खराब आचरण तर्फ उन्मूख नहुनको लागि शिक्षा प्रदान गर्ने र व्यवसायीले १८ वर्ष नपुगेका कुनै पनि बालबालिकालाई नशालु पदार्थ बिक्री वितरण नगरी व्यवसायिक धर्म निभाउनुपर्दछ । यत्ति मात्र गर्दा पनि अधिकांश बालबालिका कूलतमा फस्नबाट जोगिन्छन् । १८ वर्ष नपुगेका बालबालिकालाई नशालु पदार्थ बिक्रि वितरण नगर्न सूचना प्रवाह नगरपालिकामार्फत् भैरहेको छ । क्रमशः बजार अनुगमनको क्रममा पनि यो विषयमा नगरपालिकाले ध्यान दिनेछ र यदि कानून विपरितको कार्य भएको पाइएमा कानून बमोजिम कारवाहीको दायरामा ल्याइनेछ ।

हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको यस बालमैत्री अभियानमा शाखारमहाशाखाका कर्मचारी वा नगरपालिकाको मात्र जिम्मेवारी हो भन्ने बुझाई पक्कै पनि वडा कार्यालय, विद्यालय, टोल विकास संस्था, व्यवसायी, गैसस, सञ्चारकर्मी एवं आम नगरवासीले राख्नुहुने छैन भन्ने अपेक्षा हाम्रो छ । बालमैत्री अभियानलाई मूर्तता दिन हरेक व्यक्ति, परिवार, विद्यालय, टोल विकास संस्था, स्वास्थ्य संस्था, सामुदायिक संघ संस्था, सञ्चारमाध्यम अनि सिङ्गो वडाको अहम् भूमिका रहेको हुन्छ । त्यसर्थ सबैले आ–आफ्नो कर्तव्यबोध गर्दै जिम्मेवारी बहन गरी हाम्रो उपमहानगरलाई छिट्टै नै बालमैत्री नगरको रुपमा स्थापित गर्न सबै जुटौं कोही नछुटौं ।