कुनैपनि देशको राजनीतिलाई त्यसको विचारले दिशानिर्देश गरेको हुन्छ । बहुदलीय व्यवस्थामा दलहरुलाई यही विचारको धरातलमा जनउत्तरदायी निष्ठापूर्ण कर्मको खम्बाहरुले उभ्याएको हुन्छ । जहाँ इमान्दारिता, सकारात्मक परिवर्तनकारी सोचका निदाल र बलाहरु तेस्र्याउँदै जाँदा एउटा राजनैतिक घरको स्वरुप तयार हुन्छ । यही फरक–फरक विचारले उभ्याएका फरक–फरक घरका स्वरुपहरुमा आफुलाई मनपर्ने घर अर्थात विचारतर्फ आम मानिसहरु गोलवन्द हुँदै जान्छन् । यहि नै हो आदर्श र स्पष्ट वैचारिक मार्गचित्र र यसको प्रयोग । जसको अन्तिम गन्तव्य सदा राष्ट्र र जनहित हुन्छ ।
नेपाली राजनीतिमा, स्पष्ट विचारसहित ७६ वर्षअघि काँग्रेस र ७३ वर्षअघि कम्युनिस्ट पार्टीको स्थापना भयो । तत्कालिन अवस्थामा त्यो चानचुने साहस थिएन । २००७ सालमा राणा शासन, २०३६ र ४६ सालमा निरंकुश पंचायती शासनका विरुद्ध यि मुख्य दलहरुले मिलेर संघर्ष गरे । समय सँगै अन्य दलहरु पनि व्यवस्था विरोधी महासंग्राममा होम्मिँदै गए । फरक वैचारिक धरातलमा उभिएका संसदीय व्यवस्थाका विरुद्ध सशस्त्र संघर्षमा रहेको भूमिगत दल र संसदीय व्यवस्थामा रहेका दलहरुका बीचमा समेत संसारलाई चकित तुल्याउने गज्जबको गठबन्धन बन्यो । परिणाम ! परिणाम देशले गणतन्त्र मात्रै पाएन बरु १० वर्षे रक्तपातपूर्ण द्वन्द्वग्रस्त मेरो देशले शान्तिको मूल मार्ग भेट्टायो । केही राजतन्त्रका मसानहरु बाहेक आम जनतामा खुसी र आशा सन्चारित भयो । हो… यो हो जनअनुमोदन प्राप्त सकारात्मक साझा उद्देश्य प्राप्तीका लागि गरिएको सक्कली गठबन्धन । असली राजनीतिक संस्कार ।
तर, विडम्बनाका साथ भन्नुपर्छ जनताको त्यो आशा आज चरम निराशामा रुपान्तरित भएको छ । ती महान नेता र दलहरु आज खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने कालाबजारी जस्ता भएका छन् । सर्वहारा र श्रमजीवी वर्गको वकालत गर्नेहरु चुनाव जित्न करोडौं खन्याउँछन् । होटल र रिसोर्टका मिटिङहरुमा जनताको टाउका गन्छन् , भाग लगाउँछन् । त्यतिमा मात्र रोकिँदैनन् ।
जनतालाई आफ्नो निजी सम्पत्ति सम्झँदै, कुन टाउकालाई कता कुन चिन्हमा भोट गर्न लगाउने भन्ने समेत आफैं तय गर्छन् । मानौं हाम्रा टाउकामा गिदी नभएर राजनीतिक दलले प्रोग्रामिङ गरेका चिप्सहरु छन् जसको रिमोट कन्ट्रोल यिनकै हातमा छ । नत्र सम्भव हुन्थ्यो होला र ? जनताको बहुदलीय जनवाद हुँदै साम्यवादसम्म पुग्ने विचार बोकेकाहरुको, राजा र धर्मको नाममा राजनीति गर्नेसँग सालनाल जोड्ने संसार कै अनौठो शल्यक्रिया ? जनआन्दोलनमा गोली ठोक्ने र छाती थाप्ने बीचको अस्वभाविक तालमेल ? कसरी सक्थे होलान्, प्रजातान्त्रिक समाजवाद भन्नेहरु माओवाद भन्नेहरुले बनाएको जेरी भित्र चास्नी बनेर पस्न ? टाउको काट्ने र टाउको थाप्नेहरुको बीचमा लगनगाँठो कस्न ? नेपाली राजनीति अहिले वैचारिक रुपमा इतिहासकै सबैभन्दा विकृत र घृणित अवस्थामा पुगेको छ ।
सम्झँदै हाँसो लाग्छ ।
५ वर्ष अघि, राप्तीले के भन्छ, कमल थापाले भन्छ ।
५ वर्षपछि, “कामरेडहरुको मद्दतमा, कमल फुल्छ संसदमा”
५ वर्षअघि प्रचण्डे हुत्तिहारा, १७ हजारको ज्यानमारा
५ वर्षपछि काँग्रेस माओवादी भाइभाइ, भोट हालौं गठबन्धनलाई
यदि यो विधामा नोवेल पुरस्कार दिइन्थ्यो भने निसन्देहः त्यो हाम्रै नेताले पाउँथे । पाउँथे मात्र होइन, लाज पचाएर लिन पनि जान्थे । तर यि मध्ये पुरस्कार कसलाई दिने भन्न चैं, दिग्गज निर्णायकहरुको पनि पसिना छुट्थ्यो होला । आफ्नो वैचारिक धरातल धसिँदै धसिँदै विकृतिको रसातलमा पुगेको अनुभूतिसम्म छैन हाम्रा नेतृत्वहरुलाई । जसको विकृत वाछिटा आज हाम्रो न्यायपालिका, संवैधानिक निकाय र सुरक्षा संयन्त्रसम्ममा परिसकेको छ ।
यति भनिरहँदा दल र नेताहरुलाई मात्र दोष दिएर आफु उम्कने छुट हामीलाई छैन । नेपाली राजनीतिको विचार, नैतिकता र इमान्दारिताको यो हदसम्मको हविगत हुनुमा हामी पनि उत्तिकै जिम्मेवार छौं । नेताका छुद्र भाषणमा ताली बजाएर नेतालाई निरन्तर उकास्ने को ? भ्रष्टाचारमा लिप्त नेताको प्रतिरक्षामा ढाल बनेर उभिने को ? व्यक्तिगत स्वार्थ लिएर नेताहरुको दैलो–दैलो चाहार्ने को ? भोट माग्न आउने नेतालाई प्रश्न सोध्नुको सट्टा घडा राखेर स्वागत गर्ने को ?
त्यसैले नेपाली राजनीतिको वैचारिक धरातल खस्किनुको दोषको केही अंश तपाइँ हाम्रो पनि हो । बेलैमा खबरदारी गर्न, व्यक्तिगत स्वार्थबाट माथि उठ्न, भ्रष्ट र नैतिक पतन भएका नेतालाई बहिस्कार गर्न सकेको भए आज नेपाली राजनीतिको स्वरुप नै अर्कै हुनसक्थ्यो । पार्टी र विचारहरु सङ्ला र परिस्कृत हुँदै जान्थे । हाम्रो विडम्बना त यतिसम्म छ कि एमाले भनेको एकीकृत माक्र्सवाद लेनिनवाद हो भन्ने त्यही पार्टीका कट्टर समर्थकलाई थाहा छैन । काँग्रेसको अर्थ के हो ? ३ पुस्ते काँग्रेसीहरु नै जान्दैनन् । अन्यको हालत पनि लगभग यस्तै छ । अनि पर्दैन वैचारिक संकट ?
निश्कर्षमा के भन्छु भने समयसँगै तथ्यहरु परिवर्तन हुँदै जाँदा विचारहरु पनि संशोधित हुँदै जानुपर्छ जसले समयसापेक्ष परिवर्तनलाई पनि स्वस्फूर्त आत्मसात गर्दै जान्छ । गतिशील विश्वको यो स्वभाविक प्रक्रिया नै हो । हिजो आम जनताबाट तिरस्कृत सिके राउतहरु आज विचार परिवर्तन पछि अत्याधिक मतले स्वीकृत भए भने वैचारिक इमान्दारिताको खडेरीको कारण उपेन्द्र यादव प्रवृत्तिहरु ढल्न पुगे । यो भर्खरैको आलो प्रतिनिधि उदाहरण मात्र हो । यस्ता धेरै उदाहरण छ्न् । वालेन, हर्क र रविहरु उदाउनु संयोग मात्र हुँदै होइन बरु जनताको सकारात्मक विद्रोहको संकेत हो ।
तर फगत सत्ता प्राप्तीका लागि गरिने मार्ग परिवर्तन र फरक विचार बीचको अस्वभाविक साँठगाँठको सिन्डिकेट वैधानिक हुँदाहुँदै पनि जनअपेक्षा विपरित छ । जनअनुमोदन प्राप्त जनहितका साझा उद्देश्य प्राप्तीमा गरिने गठबन्धनले भने लोकतन्त्रलाई अझै मजबुत बनाउँदै लैजान्छ । धन्यवाद ।
(जेसीआई हेटौंडाद्वारा आयोजित पब्लिक स्पिकिङ कार्यक्रममा व्यक्त गरिएको विचारबाट साभार र संशोधित अंश)