कुनै पनि देश विकासको अवस्थालाई मापन गर्ने मानव विकास सूचकांकको एक महत्वपूर्ण सूचक शिक्षा हो । शिक्षित नागरिक अर्थात् दक्ष जनशक्तिलाई विकासको एउटा महत्वपूर्ण पूर्वाधार मानिन्छ । देशको नागरिकको स्तर कस्तो छ भन्ने कुरा त्यस देशको शिक्षा प्रणालीमा निर्भर रहन्छ । त्यसैले शिक्षालाई देश निर्माणको आधार पनि भनिन्छ । हाम्रो विद्यालय शिक्षा प्रणाली सैद्धान्तिक छ । प्राविधिक र व्यावसायिक शिक्षा आम विद्यार्थीको पहुँचमा छैन । शिक्षा प्रदान गर्ने विधि तथा पद्दति पनि परम्परागत छ । शिक्षामा धेरै आधुनिक प्रविधिको प्रयोग गर्न सकिने भए पनि अधिकांश विद्यालयमा उचित पूर्वाधार नहुँदा सामुदायिक विद्यालयको शिक्षा सिद्धान्तमा मात्रै सिमित बनिरहेको छ । शिक्षा क्षेत्रमा राज्यको सबैभन्दा बढी लगानी भइरहेको भए पनि प्रविधिमैत्री शिक्षाको विकासमा राज्यको ध्यान पुगेको छैन । विद्यालयहरुलाई प्राविधिक सामग्री र शिक्षकलाई प्रविधि तालिमको व्यवस्था व्यापक बनाउन अति आवश्यक भइसकेको छ ।

सैद्धान्तिक शिक्षण विधिको व्यापकताले विद्यालयमा व्यवहारिक सिकाई नहुँदा गुणस्तरीय शिक्षा दिन नसकेको शिक्षाका सरोकारवालाको भनाइ छ । शुक्रबार हेटौंडा क्याम्पसले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी शिक्षा प्रशासक तथा प्रधानाध्यापकहरुले विद्यालय शिक्षा सिद्धान्तमा मात्र सीमित भएको गुनासो गरेका छन् । शिक्षकहरुलाई आधुनिक प्रविधि प्रयोग गरेर जनशक्तिलाई प्रविधिमैत्री बनाउन नसकिएको भन्दै विद्यालयको गुणस्तर सुधारका लागि शिक्षामा प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताइएको छ । सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब बनाएर कम्प्युटर जडान गरिएको भए पनि त्यसको उचित प्रयोग हुन नसकेको धारणा कार्यक्रममा व्यक्त गरिउको छ । विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्न सैद्धान्तिक सँगै व्यवहारिक शिक्षा आवश्यक रहेको औंल्याइएको छ ।

विद्यालय तहमा मात्र नभएर उच्च शिक्षामा पनि परम्परागत सैद्धान्तिक विषय र विधिको प्रयोग भइरहेको छ । विश्वव्यापीरुपमा प्रविधिको प्रयोग बढिरहेको र विद्यार्थीहरु प्रविधिप्रति आकिर्षत बनिरहेको अवस्थामा सैद्धान्तिक शिक्षा विद्यार्थीको इच्छाविपरित हुन्छ । आजको शैक्षिक क्षेत्रको प्रमुख आवश्यकता भनेको व्यावसायिक र प्राविधिक शिक्षा नै हो । सैद्धान्तिक विषयको अध्यापनमा पनि आधुनिक प्रविधिको प्रयोग अर्को आवश्यकता बनेको छ । अधिकांश विद्यार्थी तथा अभिभावकहरुको ध्यान प्राविधिक शिक्षातर्फ केन्द्रित हुन थालेको छ । विद्यार्थीहरु पनि प्राविधिक तथा व्यावसायिक शिक्षा आर्जन गर्न उत्साहित देखिएका छन् । शिक्षामा प्रविधिको उचित प्रयोगसँगै व्यावसायिक शिक्षाको सहजता नहुँदा अधिकांश नेपाली युवा जनशक्ति विदेशी मुलुकहरुमा जोखिमपूर्ण काम गर्न जान बाध्य बनिरहेका छन् ।

शिक्षामा प्रविधिको प्रयोगसँगै शिक्षालाई व्यवहारिक ज्ञान आर्जनतर्फ केन्द्रित गर्नु आवश्यक देखिएको छ । विद्यार्थीहरुले अध्ययन गर्ने हरेक विषयका विषयवस्तुलाई जीवनउपयोगी र व्यवहारिक बनाउन सक्नुपर्छ । विद्यार्थीलाई पढाइप्रति रुचि पैदा गरी उनीहरुको सिकाइ उपलब्धि वृद्धि गर्नु अपरिहार्य देखिएको छ । विद्यार्थीमा पठन संस्कृतिको विकासका लागि पाठ्यक्रम र पाठ्यपुस्तकका अतिरिक्त स्थानीय र विश्व परिवेशका व्यवहारिक ज्ञान दिनुपर्ने भइसकेको छ । अब तीनै तहको सरकारले प्रत्येक विद्यालयलाई प्रविधियुक्त बनाएर सैद्धान्तिक शिक्षालाई न्यूनीकरण गर्दै जानुपर्छ ।