प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएर मतगणनाको नतिजा सार्वजनिक हुने क्रम पनि अन्तिममा पुगेको छ । मतदान सम्पन्न भएको एक सातामा प्रतिनिधिसभातर्फ प्रत्यक्षको एक सय ५७ सिटको नतिजा सार्वजनिक भएको छ । ५ क्षेत्रमा मगतणना गारी छ भने ३ क्षेत्रमा विविध कारणवश निर्वाचन÷मतगणना स्थगित भएकोले नतिजामा केही ढिलाई हुने सम्भावना छ । प्रतिनिधिसभासँगै प्रदेशसभातर्फका पनि अधिकांश सिटको मतगणना परिणाम सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फको मतगणना पनि सम्पन्न हुने चरणमा पुगेको छ । केही दिनपछि समानुपातिकको सिट संख्या टुंगो लागेसँगै प्रतिनिधिसभा तथा प्रदेशसभाले पूर्णता पाउनेछन् । त्यसपछि राजनीतिक दलहरुबीच सरकार गठनका लागि रस्सकस्सी चल्ने देखिएको छ । घोषित निर्वाचन परिणामअनुसार कुनै पनि दलले संघ तथा प्रदेशमा स्पष्ट बहुमत ल्याउने सम्भावना देखिएको छैन । दुई वा सोभन्दा बढी दलहरुको गठबन्धनबाटै आगामी सरकार गठन हुने निश्चितप्रायः भएको छ ।
यसअघिको निर्वाचनमा एमाले, माओवादी, जनमोर्चालगायत बाम गठबन्धनले स्पष्ट बहुमत पाएको थियो । गठबन्धनसँग झण्डै दुई तिहाइको सुविधाजनक बहुमत भएका कारण केपी ओली नेतृत्वमा सहजै सरकार गठन भएको थियो । तर, एमालेभित्रकै गुटबन्दी र अदालतको आदेशले माओवादी एमालेबाट अलग हुनपुग्यो । एमालेकै सांसद तथा नेताहरुले केपी ओलीको कार्यशैलीको विरोध गर्दै माधव नेपालको नेतृत्वमा पार्टी विभाजनसमेत गरिएको थियो । त्यसको असर अहिलेको निर्वाचनमा पनि देखिएको छ । मुलुकको समृद्धि र विकासँगै आर्थिक, सामाजिक रुपान्तरण गर्ने आशा र विश्वास गरिएको करिब दुई तिहाई बहुमतसहितको केपी ओली नेतृत्वको सरकारसमेत पूरा समय टिक्न नसकेको सन्दर्भमा अब बन्ने सरकार त्योभन्दा कमजोर हुने निश्चित छ । प्रत्यक्षतर्फ सत्ता गठबन्धनको बहुमत रहेको अवस्थामा समानुपातिकको मतगणना पूरा भएर सिट बाँडफाँड हुँदा वर्तमान सत्ता गठबन्धनका दलबाटै सरकार निर्माणको पहल हुने सम्भावना देखिएको छ ।
२ सय ७५ सदस्य रहने प्रतिनिधिसभामा नेपाली कांग्रेसले एक सय हाराहारीमा र नेकपा एमालले ८० भन्दा बढी सिट प्राप्त गर्ने सम्भावना देखिएको छ । यी दुई राजनीतिक दल मिलेर सरकार बनाउने सम्भावना न्यून रहेको अवस्थामा सत्ता गठबन्धन कायमै रहेमा नेपाली कांग्रेसकै नेतृत्वमा सरकार गठन हुने अनुमान गर्न सकिन्छ । प्रतिनिधिसभामा वर्तमान सत्ता गठबन्धनको बहुमत पुग्ने सम्भावनासँगै ती दलहरुबीच सरकार गठनको गृहकार्य सुरु हुनेछ । सत्ता गठबन्धनका दलहरुबीच सरकारको भागबण्डा मिलेमा नयाँ सरकार गठनमा केही सहजता देखिएको छ । प्राविधिकरुपमा सरकार जुन दलको नेतृत्वमा बने पनि गठबन्धनभित्र भागबण्डामा किचलो हुनसक्ने सम्भावना पनि उत्तिकै छ । राजनीतिक दल र तिनका नेतृत्वले निर्वाचनको समयमा जतिसुकै आदर्शका भाषण गरे पनि सत्ता स्वार्थबाट उनीहरु अलग रहने आशा गर्न सकिने अवस्था छैन ।
नेपालको सन्दर्भमा आम निर्वाचन कुनै दलका नेतालाई सत्तामा पुर्याउने र उनीहरु नै रमाउने अनि कमाउने माध्यम बनिरहेको छ । कुनै एक दलको स्पष्ट बहुमत नआउँदा राजनीतिक अस्थिरता बढ्ने भए पनि यस पटक मतदाताले दलहरुलाई त्यस्तो सुविधा दिएनन् । यसले कतिपय नेताहरु निर्वाचनमा पराजित पनि हुनुपर्यो । सत्ता केन्द्रित राजनीतिलाई अन्त्य गरी स्थिर सरकार बनाउन अब नेतृत्वमा चेत खुल्नुपर्छ । राजनीतिक स्थायित्व र विधिको शासनको आशा गरिरहेका जनतालाई अब पनि धोका दिने काम दल तथा नेतृत्वले गर्नुहुन्न । अबको संसदको कार्यदिशा जनमतको सम्मान गर्नेतर्फ अग्रसर हुनुपर्छ ।