निर्वाचन समीक्षा बैठकमा सहभागी नेकपा समाजवादीका नेताहरु ।

हेटौंडाः मंसिर ४ गते सम्पन्न निर्वाचनमा लोकतान्त्रिक–बाम गठबन्धनको साझा उम्मेदवार बन्नुभएका विरोध खतिवडा पराजित हुनुमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको आकर्षण प्रमुख कारण भएको नेकपा एकीकृत समाजवादी मकवानपुरले निश्कर्ष निकालेको छ ।

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य समेत रहनुभएका खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महेश कुमार बर्तौलासँग पराजित हुनुभएको हो । बर्तौला ३४ हजार ९ सय १६ मतसहित विजयी हुँदा खतिवडा ३० हजार ३ सय ९६ मत प्राप्त गरी पराजित हुनुभएको हो ।

नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला कमिटीले आइतबार हेटौंडा–४ स्थित पार्टी कार्यालयमा उम्मेदवारसहित पार्टीका नेता, कार्यकर्ताको उपस्थितिमा निर्वाचनको समीक्षा गरेको हो । नेकपा एकीकृत समाजवादी मकवानपुर अध्यक्ष सूर्यचन्द्र न्यौपानेका अनुसार गठबन्धन दलबाट सन्तोषजनक मत प्राप्त भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको आकर्षणका कारण पराजित हुनुपरेको उल्लेख गर्नुभयो । समीक्षाका क्रममा थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रको एक समूह असन्तुष्ट रहँदा पनि मत कम आएको अध्यक्ष न्यौपानेले बताउनुभयो । पार्टी निर्माणको छोटो अवधिमै दुईवटा निर्वाचनमा प्रतिस्पर्धा गर्नुपरेकोले पनि नतीजा आफ्नो पक्षमा पार्न सफल नभएको न्यौपानेले बताउनुभयो ।

समीक्षा बैठकमा विरोध खतिवडाले गठबन्धनबीच समन्वयको अभाव हुनु, मतदाता शिक्षाको अभावमा हँसिया तारा चुनाव चिन्हमा नेकपा माओवादी केन्द्रको मत जानु, नेपाली काँग्रेसको आन्तरिक द्वन्द्व, पार्टी निर्माणकै क्रममा रहेकाले कार्यकर्ताको अभाव हुनु प्रमुख समस्याको रुपमा पहिचान गरिएको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष सूर्यचन्द्र न्यौपानेको अध्यक्षतामा भएको निर्वाचन समीक्षामा नेकपा समाजवादीका स्थायी कमिटी सदस्य एवम् मकवानपुर–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विरोध खतिवडा, उपाध्यक्ष केदारप्रसाद न्यौपाने, स्थायी कमिटी सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज ललित बस्नेत, केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला सहइन्चार्ज राजाराम स्याङ्तान, केन्द्रीय सदस्य गोमा तिमल्सिनाको पनि सहभागिता रहेको थियो ।