हेटौंडाः अन्तर्राष्ट्रिय पुरुष दिवसको अवसरमा हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन तथा कोण सभा भएको छ । कार्यक्रम ग्रामीण महिला सेवा केन्द्र, बाल कल्याण समाज मकवानपुर, लैङ्गिक समानताका लागि पुरुष अभियान र मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जालको संयुक्त आयोजनामा दीप प्रज्वलन तथा कोण सभा भएको हो ।
कार्यक्रम बाल कल्याण समाज मकवानपुर र मानव बेचबिखन विरुद्धको सञ्जालका अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षतामा भएको थियो । दीप प्रज्वलन कार्यक्रममा खतिवडाले लैङ्गिक समानताको कुरा गर्दै समाज र राष्ट्रको विकासका लागि महिला र पुरुष दुबै बराबर रहेको बताउनुभयो । वर्तमान समयमा महिला मात्र नभई पुरुषमा पनि हिंसाको सिकार हुँदै विभिन्न मानसिक तनाव खेपिरहेको र यसको समाधानका लागि विभिन्न संघ, संस्थाहरुको ध्यानाकर्षण हुनुपर्ने खतिवडाले बताउनुभयो ।
कार्यक्रममा ग्रामीण महिला सेवा केन्द्रकी उपाध्यक्ष लक्ष्मी मोक्तान, अनुगमन मुल्याङ्कन अधिकृत उषा मगरसहित विभिन्न संघ, संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।