जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रको २७ औं सम्मेलन (कोप–२७) आइतदेखि सुरु भएको छ । मंसिर २ गतेसम्म चल्ने सम्मेलन इजिप्टको शार्म एल–शेखमा भइरहेको छ । उत्सर्जन न्यूनीकरण, अनुकूलन प्रयासलाई बढावा दिने र उपयुक्त वित्तको बढ्दो प्रवाहको माध्यमबाट विश्वव्यापी जलवायु कार्यलाई गति दिने लक्ष्यका साथ सम्मेलन भएको हो । सम्मेलनमा वन तथा वातावरण मन्त्रालयले नेपालका तर्फबाट प्रस्तुत गर्ने अवधारणापत्र तयार गरेको छ । अवधारणापत्रमा विशेषगरी हिमाली क्षेत्रका मुद्दा, अनुकूलन तथा कृषि र खाद्य सुरक्षा, न्यूनीकरणलगायत विषय रहेको बताइएको छ । हिमाल र योसँगै जोडिएका क्षेत्रको पृथक पहिचान, संकटापन्नता तथा जोखिम र यहाँको अनुकूलन वृद्धिका उपायबारे पनि सम्मेलनमा बहस गर्ने नेपालको तयारी छ ।

जलवायु परिवर्तन अहिलेको जल्दोबल्दो वातावरणीय समस्याको रुपमा विश्वव्यापी देखा परेको समस्या हो । सन् १९६० को दशकपछि पृथ्वीमा भएको द्रुत औद्योगिक विकास तथा जनसंख्या बृद्धिले ल्याएका नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भइरहेको वैज्ञानिकहरुको भनाइ छ । विश्वव्यापीरुपमा बढेको यस समस्याका लागि विश्वका औद्योगिक तथा धनी राष्ट्र बढी जिम्मेवार रहेको यथार्थ विभिन्न अध्ययन प्रतिवेदनले सार्वजनिक गरिसकेका छन् । जलवायु परिवर्तनको प्रमुख कारकको रुपमा देखिएको हरितगृह ग्याँस उत्सर्जनलाई मानिएको छ । धनी र औद्योगिक मुलुकले कार्बनडाइअक्साइड अत्यधिक उत्सर्जन गरेर जलवायु परिवर्तन हुने भए पनि त्यसको मार नेपालजस्ता विकासोन्मुख तथा अति कम विकसित मुलुकहरुले अझै बढी खेप्नु परिरहेको छ ।

विश्वव्यापी जलवायु परिवर्तन र तापमान वृद्धिमा नेपालजस्ता कम विकसित मुलुकहरुको भूमिका निकै कम हुने गर्छ । विकसित मुलुकहरुले ठूलो परिमाणमा उत्सर्जन गर्ने हरितगृह ग्याँसका कारण जलवायु परिवर्तनको समस्या निम्तिरहेको छ । तर, जलवायु परिवर्तनको संकटबाट हरित ग्याँस उत्सर्जनमा कम योगदान गर्ने मुलुकहरु बढी प्रभावित भइरहेका छन् । जलवायु परिवर्तनको बढी असर खेप्ने मुलुकमध्ये नेपाल पहिलो पाँचभित्र पर्दछ । जलवायु परिवर्तनकै कारण जमिनको उत्पादकत्वमा ह्रास आउँदै गएको छ । पानीका मुहान सुक्ने, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टिजस्ता समस्याहरु बढ्दै गएका छन् । जलवायु परिवर्तनका यी केही उदाहरणमात्रै हुन् । जलवायु परिवर्तनको असर मानव जीवन जैविक विविधताका सबैजसो क्षेत्रमा पर्ने गर्छ । जलवायु परिवर्तनले प्रभाव पार्ने विभिन्न क्षेत्रहरुमध्ये कृषि एक प्रमुख क्षेत्र हो, जुन मानिसको प्रत्यक्ष जीवन निर्वाहसँग जोडिएको हुन्छ । जलवायु परिवर्तनका विभिन्न असरहरु जस्तै तापक्रम तथा कार्बनडाइअक्साइडमा बृद्धि, पर्यावरणमा पर्ने असर, वर्षातको पानीको मात्रामा परिवर्तन, हिउँ पग्लनु आदिले कृषि क्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्छ ।

जलवायु परिवर्तनले हाम्रो देशलाई पारिरहेको प्रभाव कम गर्नु आवश्यक छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रमुख दलहरुले सार्वजनिक गरेको घोषणापत्रहरुमा जलवायु परिवर्तनको मुद्दालाई उजागर गरेर केही हदसम्म चासो व्यक्त गरेका छन् । आगामी दिनमा यिनै दलहरुमध्ये कुनै दलले सरकार बनाउने र तिनै दलहरु प्रतिपक्षमा रहने भएकाले जलवायु परिवर्तनका मुद्दामा साझा धारणा र कार्ययोजना बनाउनु आवश्यक छ । जलवायु परिवर्तनले सिर्जना गर्ने समस्याबारे व्यापक बहस चलाउँदै सचेतना वृद्धिका साथै जलवायु अनुकूलनका क्षेत्रमा प्रभावकारी कामहरु हुनु आवश्यक छ । राज्यका तीनै तहका सरकारले जलवायु अनुकूलनका कार्यक्रमहरु प्रभावकारीरुपमा सञ्चालन गर्न सक्नुपर्छ ।