हेटौंडाः विपी काङ्ग्रेसबाट प्रदेश सभा सदस्यतर्फ मकवानपुर क्षेत्र नम्बर २ (ख) का समानुपातिकतर्फका उम्मेदवारहरुले इन्द्र बानियाँलाई सघाउने भएका छन् । बुधबार काङ्ग्रेस प्रदेश पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कुमार बल, रामकुमारी घलान र जानुकी लामाले उम्मेदवारी निस्क्रिय पार्दै गठबन्धनबाट प्रत्यक्षतर्फ मकवानपुर क्षेत्र २ (ख) का उम्मेदवार बानियाँलाई समर्थन गर्ने बताएका छन् ।
आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सिद्धान्तलगायत प्राप्त उपलब्धीहरु गुम्न सक्ने र व्यवस्था विरोधीहरुलाई नै बल पुग्ने खतरा देखेपछि प्राविधिक रुपमा नमिले पनि राजनीतिक रुपमा उम्मेदवारी स्थगन गरेको उनीहरुले प्रष्ट पारेका छन् । उनीहरुले प्रत्यक्ष तर्फका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई विजयी गराउने रहेको उल्लेख गर्दै उनीहरुले सोही अनुसार अघि बढ्न आफ्ना समर्थक, शुभचिन्तक एवम् सबै मतदातालाइ अपिलसमेत गरेका छन् ।
बानियाँले लोकतन्त्र बचाउने कुरामा, लोकतन्त्र मास्नेको लडाईमा यो कुरा बुझेर बल, घलान र लामा काँग्रेसमा फर्किएको बताउनुभयो । बानियाँले उनीहरुलाई कांग्रेसमा पुनः स्वागत गर्दै समान अवसर दिइने बताउनुभयो । पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव भीमसेन महत, संघीय सभापति लोक मुक्तान लगायत कांग्रेस नेताहरुको उपस्थिति रहेको थियो ।