एकालाल श्रेष्ठ प्रदेश सभा सदस्य उम्मेदवार मकवानपुर १ (ख)

सबैभन्दा पहिले २०७९ साल मंसिर ४ गतेका दिन प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदान गरी आफ्नो महत्वपूर्ण अधिकार उपयोग गर्नुहुन म आम मतदातालाई आग्रह गर्न चाहन्छु । नेपाली जनताले आफ्नो प्रतिनिधि चयन गरेर आफ्नो राजनीतिक अधिकार प्रयोग गर्नुहुन अपील गर्दछु । उत्तरआधुनिक आजको युगमा मोवाइल सेटमा संसार चियाउने नेपाली जनता आफ्नो मुलुकको अवस्था देखेर निराश छन् । जनता तीव्र गतिको विकास चाहन्छ । तर, आज नेपालका प्रमुख राजनीतिक दल जनताको अपेक्षा पूरा गर्ने गरी काम गर्न सक्ने क्षमता राख्छन् भन्नेमा जनता विश्वस्त हुन सक्ने अवस्था छैन ।

निराश जनता सामु ११ दिनपछि हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्नुपर्ने आवश्यकता पुष्टि हुने आधार केही छैन । तर पनि प्रशस्त विकल्पको अवसर रहने लोकतन्त्र आफैंमा निर्विकल्प शासन व्यवस्था हो । आजको हाम्रो लोकतन्त्र आम लोककै लागि सन्तुष्टिको झिनो आशा नभए पनि यही व्यवस्थामा कायमै रहेर यसैलाई सुधार गर्नुको विकल्प हामीसँग छैन । नेपालको लोकतान्त्रिकीकरणलाई हेर्ने हो भने असाध्यै उतार–चढावपूर्ण छ । २००७ सालको परिवर्तन आजको पुस्ताका लागि कथा जस्तै छ ।

२०४६ सालको परिवर्तनमा अगुवाई गर्ने पुस्ताका लागि समेत आसन्न निर्वाचन अन्तिम अवसर हो । २०६२÷६३ को आन्दोलनमा अग्रज पुस्तामा उत्साह भर्ने युवा पुस्तामाथि भोलिको नेपालीको अगुवाई गर्नुपर्ने जिम्मेवारी हस्तान्तरण हुँदैछ । आज मेरो पुस्ताले नेपालको राजनीतिको नेतृत्व गर्ने अवसरलाई असाध्यै जिम्मेवार, संयमित, अनुशासित भएर सशक्त योजना बनाई राष्ट्रिय शक्तिबीचको सहकार्य, स्वस्थ प्रतिस्पर्धा गरी अन्तर्राष्ट्रिय समुदायको विश्वास लिएर अगाडि बढ्नुपर्ने छ । २०६२÷६३ को राजनीतिक परिवर्तनपछि मूलतः संविधान निर्माणको प्रक्रिया महत्वपूर्ण रह्यो । संविधान निर्माणको प्रक्रियामा भएको ढिलाईले आम नागरिकलाई निराश बनायो । प्रमुख राजनीतिक दलहरुकै कमिकमजोरीले जनताका प्रतिनिधि रहेको संविधानसभाबाट संविधान जारी हुन केही समय लाग्यो ।

जनप्रतिनिधिमूलक संस्था संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएपछि पनि दलहरुले जिम्मेवारीपूर्ण भूमिका नहुनुका कारण आज मुलुक जटिल अवस्थामा छ । २०७४ सालमा भएको स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनले संविधानको कार्यान्वयनमा महत्वपूर्ण आधार तयार गर्‍यो । अहिले हामी नेपालको संविधान २०७२ लाई अझ सवल बनाउन दोस्रो कार्यकालका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन गराउँदै छौं ।

संविधान जारी भएपछि पहिलो पटक स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले आफ्नो ताजा र सशक्त जनादेशलाई सावित तुल्याउँदै जनताको सेवा गर्ने अवसर प्राप्त गर्‍यो । स्थानीय तहको चुनावपछि प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेकै सुझ्बुझ्, अगुवाईमा नेपालको कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने प्रयास भयो । जुन एकहदसम्म सफल सावित भएको थियो । जनताले कम्युनिष्ट एकताको प्रयासमा विश्वास गरेर झण्डै दुईतिहाई मत पनि दिएको थियो ।

दुईतिहाई निकटको शक्तिशाली कम्युनिष्ट शक्तिलाई कमजोर बनाउन, असफल बनाउन राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिले एक हदको सफलता हासिल गर्ने क्रममा हाम्रो पार्टी नेकपा एमालेका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओली नेतृत्वको सरकार विघटन भयो । आम नेपालीको सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्दै जनमतको रक्षार्थ श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीले राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिको दुश्प्रयासलाई विफल बनाउँदै ताजा जनादेशका लागि निर्वँचनमा जाने प्रक्रियामा अग्रसर हुनु भयो । तर, ताजा जनादेशमा जाने प्रक्रियालाई न्यायालयको अवरोध रह्यो । न्यायालयको अवरोधलाई गलत व्याख्या गर्दै नेकपा एमालेलाई मात्रै नभई मुलुकलाई नै असफल बनाउने प्रयास प्रतिगामी तत्वबाट भयो ।

जनताका अपेक्षालाई पूरा गर्ने क्रममा ओली नेतृत्वको सरकारमा केही कमिकमजोरी भए होलान् । ती कमिकमजोरीलाई सच्याउँदै अघि बढ्न तत्कालिन समयमा पार्टीभित्रकै शीर्ष नेतृत्वमै सहयोगीको भूमिका भन्दा प्रतिपक्षीको भूमिका निर्वाह हुँदै जाँदा शक्तिशाली कम्युनिष्ट पार्टी नेकपा आज तीन टुक्रा भएको छ । यद्यपि नेकपा एमाले आज सशक्त कम्युनिष्टको एउटा शक्तिशाली पार्टीको रुपमा स्थापित भएको छ । स्थानीय तहको दोस्रो निर्वाचनमा समेत गठबन्धनविरुद्ध लड्दै गर्दा नेकपा एमाले लोकप्रिय मतमा पहिलो र स्थानीय तहमा विजयी भएको संख्याका आधारमा मुलुकको दोस्रो शक्तिको रुपमा स्थापित छ ।

अदालतको परमादेशमा स्थापित देउवा नेतृत्वको सरकार र सातै प्रदेशमा फेरिएको सरकारले यसबीचमा जनतालाई झिनो आशा समेत देखाउन सकेको छैन । हिजो ओली नेतृत्वको सरकारले काम गरेको थियो र केही आलोचना व्यहोर्नु परेको थियो । आज देउवा नेतृत्वको सरकारले जनताले आलोचना गर्नका लागि अवसर नै सिर्जना नहोस् भनी काम नै नगरी बसेको छ । मुलुक चरम आर्थिक संकटमा रहँदा आम नागरिकको त कुरै नगरौं करोडपति, अर्बपति नै संकटमा छन् । तर, सरकारसँग नागरिकको समस्या, मुलुकको समस्या समाधानको न योजना छ, न समस्या समाधानको प्रयास नै ।

यो चरम संकटको समयमा प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचन मंसिर ४ गते हुँदै गर्दा आम मतदाताले भरपर्दो विकल्पको रुपमा नेकपा एमालेलाई आफ्नो मत प्रदान गर्नेमा हामी विश्वस्त छौं । ओली नेतृत्वको सरकारले तीनै तहमा निर्वाचित नयाँ सरकारहरुलाई स्थापित गर्दै तीनै तहको सरकारलाई सक्रिय र क्रियाशील बनाउन सफल रह्यो । मुलुक नयाँ संरचनामा स्थापित हुँदै गर्दा ७ प्रदेश, ७५३ पालिकामा कुनै किसिमको जटिलताको सामना गर्नुपर्ने अवस्था रहेन । स्थानीय सरकारले विकासको एउटा लहर ल्याउने आशा विस्तार गर्न सफल भएको छ भने प्रदेश सरकारमाथि औचित्यकै प्रश्न उठिरहँदा पनि सक्रियतामा कुनै कमि आएको थिएन । तर, परमादेशको सरकार आएपछि प्रदेश सरकारको चर्चा नै सुनिन छाडेको छ । स्थानीय सरकार दोस्रो कार्यकालका लागि निर्वँचन भएपनि संघीय सरकारको अग्रसरताको अभावमा सुरुवाती समयमा नै शिथिल देखिएको छ ।

यस्तो पृष्ठभूमिमा प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वँचनमा हामी अगाडि बढ्दै गर्दा नेकपा एमालेले आफूलाई जनताको माझमा सशक्त रुपमा प्रस्तुत गरेको छ । सत्तारुढ ५ दलीय गठबन्धनको भीडमा नेकपा एमाले आफ्नो सशक्त र एकल उपस्थिति रहेको छ । यतिबेला नेकपा एमाले राजनीतिक दलको रुपमा एक्लो भएर उभिएको छैन बरु नेपाली जनताको सार्वभौमसत्ता, अखण्डता र स्वाधिनताको रक्षा गर्ने एक मात्रै शक्तिको रुपमा अगाडि आएको छ । यसमा केही साना दलहरुसँग प्रतिगामी शक्तिलाई परास्त गर्न सहकार्य गरेका छौं । नेकपा एमालेले एउटा राजनीतिक दलको रुपमा आफूलाई मात्रै सशक्त बनाएको छैन । बरु मुलुकको अगुवाई गर्ने एक मात्र शक्तिको रुपमा आफूलाई तयार पारेको छ ।

अहिले हामी जनताको घरघरमा गइरहेका छौं । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन मूलतः प्रतिनिधि सभा र प्रदेश सभामा दोस्रो कार्यकालका लागि जनप्रतिनिधि छनोट गर्ने प्रक्रिया हो । आमरुपमा प्रतिनिधि सभा र प्रदेश सभाको भूमिकाका बारेमा आम मतदाताले बुझ्नु जरुरी छ । प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित जनप्रतिनिधि पुगेर आआफ्नो कार्यक्षेत्रका लागि कानुन, नीति, कार्यक्रम, बजेट निर्माण गरी परिचालन गर्ने हो । यस क्रममा जनताको समग्र विकासको अपेक्षालाई पूरा गर्नु जरुरी छ । आमरुपमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारले आआफ्ना निर्वाचन क्षेत्रको विकासको कुरालाई बढी जोड दिइरहेका छौं । आम मतदाता पनि आआफ्नो घरआँगनको विकासको माग गरिरहेका छन् । हामी कुनै निश्चित निर्वाचन क्षेत्रको मतदाताको घरआँगनको विकासको आश्वासन दिने प्रवृत्तिबाट पनि टाढा रहनु जरुरी छ । प्रतिनिधि सभा सदस्यले सिंगो देशलाई हेरेर कानुन, नीति, कार्यक्रम र बजेट तयार पार्नुपर्छ भने प्रदेश सभा सदस्यले आफ्नो प्रदेशको वस्तुस्थिति बुझेर कानुन, नीति, योजना र बजेट तयार पार्ने जिम्मेवारी बुझ्नुपर्छ ।

यतिबेला म बागमती प्रदेशको राजधानी हेटौंडा बजार क्षेत्र (मकवानपुर क्षेत्र नम्बर १ ‘ख’) बाट उम्मेदवार छु । बागमती प्रदेशको राजधानी हेटौंडाबाट उम्मेदवार बन्दै गर्दा मेरा लागि सिंगो प्रदेशको खाका तयार पारेको छु । बागमती प्रदेशलाई देशकै अगुवा प्रदेशको रुपमा स्थापित गर्दै संघीय सरकारको साझेदार प्रदेश सरकारको रुपमा स्थापित गर्न, संघीय सरकारलाई सशक्त नेतृत्व हस्तान्तरण गर्ने गरी प्रदेश सरकारले काम गर्नुपर्ने आवश्यकता छ । आम नागरिकको आधारभूत जीवनलाई सुनिश्चित गर्न संघीय सरकार र स्थानीय सरकारसँग सहकार्य गर्ने गरी प्रदेश सरकारलाई स्थापित गर्नुपर्नेछ । देश भित्रने पर्यटक भन्दा देश छाड्ने नागरिक बढ्दो क्रममा छ । नेपाली जनता नेपालमै सुरक्षित र सुखी रहन सक्ने बनाउनु छ । यसका लागि तीव्र आर्थिक विकास, युवा पुस्तालाई पर्याप्त स्रोत, साधन, विधि, प्रविधि उपलब्ध गराएर सुन्दर अवसर सिर्जना गर्नुछ ।

प्रदेश सभा र प्रतिनिधि सभालाई व्यस्त र गतिशील बनाउने सशक्त अगुवाको रुपमा श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि राखेर हामी युवा पुस्ताले मुलुक हाँक्ने अवसर पाउने छौं र त्यसका लागि आम मतदाता मंसिर ४ गतेको प्रतिक्षामा हुनुहुन्छ । अन्तमा आम मतदातामा अपील गर्दछु कि मंसिर ४ गते तपाइँ मात्रै होइन, तपाइँका आफन्त, साथीभाई, चिनेजानेका सबैलाई मतदानस्थलसम्म पु¥याई सूर्य चिन्हमा मतदान गर्नुहुन पनि विनम्र आग्रह गर्दछु ।