नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार हुनुहुन्छ । लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बन्नु भएकी डीनाका लागि सूर्य चिन्हबाट उम्मेदवार हुनुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका दीपक बहादुर सिंह प्रमुख प्रतिस्पर्धीको रुपमा रहनुभएको छ । समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन पार्टीको प्रस्तावलाई अस्वीकार गरी जनतासँग नजिक हुन प्रत्यक्ष निर्वाचनमा सहभागी भएको बताउनुहुन्छ । अहिले चुनावी अभियानमा घरदैलोमा व्यस्त डीनासँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
अहिले मत माग्दै घरदैलो अभियानमा हुनुहुन्छ, मतदाताले तपाईलाई कत्तिको समर्थन गर्ने माहोल देख्नुभएको छ ?
डीनाः घरदैलो भन्दा पनि म यसलाई टोलदैलो भन्न रुचाउँछु । किनकी मेरो क्षेत्र ठुलो र घरधुरी धेरै भएको कारण सबैको घर–घरमा पुग्न सम्भव नभएकाले सकभर सबै टोल टोलमा पुगेर मतदाताहरुलाई व्यक्तिगत तथा सामुहिक रुपमा प्रत्यक्ष भेटिरहेकी छु । विगतमा चुनाव जितेर गएकाहरु फर्केर गाउँ आएनन्, हामीलाई चिनेनन्, हामीले फोन गर्दा फोन उठाएनन् भन्ने सबै मतदाताहरुको साझा गुनासो रहेका छन् । त्यसकारण सबैले तपाई पनि त्यस्तै हुने होकि भन्ने प्रश्न गर्छन् । अहिले ग्रामीण क्षेत्रतिरको प्रमुख समस्या भनेको बाटोघाटो, पुल, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी इत्यादि हुन् । र अहिले मतदाताहरुले पनि यस्तै विकास निर्माणस“ग सम्बन्धित समस्याहरु नै बढी गुनासो गर्ने गरेका छन् ।
पार्टीले तपाईलाई समानुपातिकमा सुरक्षित बस्नु भने तापनि तपाई प्रत्यक्षमा आउनुभयो । तपाईले यति ठूलो चुनौती किन स्वीकार गर्नुभयो ?
डीनाः म पहिला पनि समानुपातिकबाट संविधान बनाउन गइसकेकी छु । म समानुपातिकमा बस्दा कानून निर्माण त गरे तर कार्यान्वयनको पक्ष भने मैले हेर्न पाइन । कानून निर्माण गरिसकेपछि कार्यान्वयन गर्ने पनि दायित्व हुन्छ तर समानुपातिकमा बसेर उक्त दायित्व पूरा गर्न नसकिने भएकोले मैले समानुपातिक छोडेर प्रत्यक्षमा आएकी हुँ । समानुपातिकमा हुँदा जनतासँग प्रत्यक्ष बसेर काम गर्ने मौका नपाएको र अहिले प्रत्यक्षमा आएपछि जनतासँग प्रत्यक्ष भेटेर चिनजान गर्ने मौका पाएको छु ।
उम्मेदवारीको हिसाबले यो चुनावमा तपाईको प्राथमिकतामा परेका मुद्दाहरु के–के छन् ?
डीनाः मेरो प्रमुख उद्देश्य हाम्रो हेंटौंडालाई पहिलेजस्तै औद्योगिक क्षेत्रको रुपमा चिनाउने र बन्द भइसकेका उद्योगहरुलाई पूनः सञ्चालनमा ल्याउने हो । बन्द भएका उद्योगहरुलाई पूनः सञ्चालन गरेर जिल्ला भित्रका करिब दुई हजार युवाहरुलाई रोजगारी दिन सक्ने सम्भावना देखेकी छु । त्यस्तै दिनानुदिन अव्यवस्थित बन्दै गरेको हेंटौडा नगरलाई व्यवस्थित बनाउने, अवसरबाट वञ्चित महिलाहरुलाई शिक्षा, स्वास्थ्य लगायतका सेवासुविधा तथा अवसरहरु दिलाउने र स्वास्थ्य उपचार नपाएर दयनीय अवस्थामा रहेका जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने इत्यादि विषयमा मेरो विशेष ध्यान केन्द्रित भएको छ ।
उम्मेदवार हुँदै गर्दा अहिले तपाईले कस्तो चुनौतीहरु नियालिरहनुभएको छ ?
डीनाः मैले देखेको प्रमुख चुनौती भनेको चुनावलाई भड्काउने तत्वहरु नै हो । बाहिर निर्वाचनले हेरिरहेको भए तापनि भित्र–भित्रै आर्थिक प्रलोभन र आर्थिक कारोबार जस्ता कारणले चुनावलाई भड्किलो बनाउने कार्यहरु भइरहेको छ ।
मतदातालाई के अपिल गर्न चाहानुहुन्छ ?
डीनाः नेपालको संविधान निर्माण गर्दा सबैलाई अट्ने संविधान वा कानून निर्माणका लागि जसरी म लडेकी थिएँ । त्यसको कार्यान्वयन गर्न र संविधानमा जनताका लागि सुनिश्चित रहेको अधिकार म आफ्नो क्षेत्रको जनतालाई उक्त अधिकार प्राप्त गराउँछु भनेर म जनताको माझ आएकी छु । म सांसद मात्र बन्न आएकी होइन, म जनतासँग बसेर काम गर्न आएकी हुँ । त्यसकारण यसपटक मतदाताहरुलाई सोचेर, आफ्नो विवेक पूरा गरेर रुख चिह्नमा मतदान गरी दिनुहुन क्षेत्र नम्बर १ को जनतालाई मेरो विशेष आग्रह र अनुरोध छ ।