प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी चहलपहल पनि बढ्दै गएको छ । निर्वाचनको लागि उम्मेदवारी दर्ता भएर औपचारिकरुपमा प्रचारप्रसार पनि सुरु भइसकेको छ । आगामी मंसिर ४ गते एकै दिन संघीय व्यवस्थापिका अन्तर्गत्को प्रतिनिधिसभा र प्रदेश व्यवस्थापिका अन्तर्गत्को प्रदेशसभा सदस्य चयनका लागि मतदान हुँदैछ । मतदान गर्ने मिति आउन १७ दिन बाँकी रहेको अवस्थामा अबको दुई हप्ता मुलुक चुनावमय बन्नेछ । यसै निर्वाचनद्वारा निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुमध्येबाटै संघीय र प्रदेश सरकार गठन हुने भएकाले पनि आम नागरिक, राजनीतिक दलका नेता, कार्यकर्ता एवम् निर्वाचनमा सहभागी उम्मेदवारका लागि निर्वाचन विशेष चासोको विषय बनिरहेको छ ।

निर्वाचनमा मतदाताको सहभागिता बढाउन र मत बदर हुन नदिन मतदाता शिक्षाको आवश्यकता पर्दछ । विगतका निर्वाचनहरुमा मतदान गर्ने तरिकाको बारेमा आम मतदातामा राम्रो ज्ञान नहुँदा धेरै मत बदर भएका थिए । यसपटक पनि निर्वाचन प्रक्रियाका बारेमा धेरैजसो मतदाता अन्यौलमै रहेको पाइन्छ । राजनीतिक दल तथा उम्मेदवारहरुले आम मतदाताको घरदैलोमा पुगेर आफू र आफ्ना उम्मेदवारलाई भोट माग्ने काममा जोड दिँदा मतदाता शिक्षा ओझेलमा पर्ने गरेको छ । उम्मेदवारहरुले घरदैलो कार्यक्रम गर्ने क्रममा नै मतदातालाई मतदान गर्ने तरिकाबारे पर्याप्त र स्पष्ट जानकारी गराउन सकेमा निर्वाचनमा मतदाताको सहभागिता बढ्नुका साथै मत बदर हुने सम्भावना कम हुन्छ । यसका लागि निर्वाचन आयोग, तीनै तहका सरकार र राजनीतिक दलहरु केही क्रियाशील बनेका छन् । मकवानपुर जिल्लामा पनि मतदाता शिक्षाको तयारी तिब्र पारिएको छ । निर्वाचनको औपचारिक प्रचारप्रसार सुरु भएसँगै मतदाता शिक्षा पनि सुरु भएको छ ।

यसपटक मतदाताले प्रतिनिधिसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) र समानुपातिक प्रणाली गरी दुईवटा मतपत्र रहनेछन् भने प्रदेशसभा सदस्यतर्फ पनि सोहीअनुसारका दुईवटा मतपत्र रहनेछन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा एक जना मतदाताले फरक–फरक ४ वटा मतपत्रमा स्वष्तिक छाप लगाई मतदान गर्नुपर्छ । यसरी छाप लगाइएको मतपत्रलाई फरकफरक ४ वटै मतपेटिकामा खसाल्नुपर्छ । मतदानको यस्तो प्रक्रियाबारे मतदाता सूचीमा नाम समावेश भएका सबैलाई जानकारी गराउनुपर्छ । मकवानपुर जिल्लामा पनि पालिकास्तरीय मतदाता शिक्षा समिति गठन गरेर मतदातालाई भोट हाल्ने तरिकाबारे जानकारी दिन थालिएको छ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा र प्रत्येक वडामा वडा सचिवको नेतृत्वमा मतदाता शिक्षा समिति गठन गरिएको छ । समितिले आगामी मंसिर १ गतेसम्म मतदाता शिक्षा प्रदान गर्ने कार्यतालिका रहेको छ ।

निर्वाचनमा मतदान गर्न पाउने मतदाताले मतदान प्रक्रियाबारे राम्रोसँग बुझेको हुनुपर्दछ । यसका लागि मतदाता शिक्षा आवश्यक हुन्छ । मतदाता शिक्षाकै क्रममा मतदातालाई आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचनमा भाग लिएका उम्मेदवारहरुको सबलता र दुर्बलता विश्लेषण गर्नसक्ने सक्षमता विकास गराउन सकेमा निर्वाचनमा योग्य, सक्षम र असल उम्मेदवारलाई विजयी गराउन सहयोग पुग्ने सम्भावना अधिक रहन्छ । सकेसम्म सबै मतदातालाई मतदानमा सहभागी गराउन र योग्य उम्मेदवारलाई मतदान गर्ने वातावरण तयार गर्न प्रभावकारी मतदाता शिक्षा सञ्चालन गर्नुपर्छ । निर्वाचन आयोग, राजनीतिक दलहरु, सरकारी निकाय, सामाजिक अभियन्ता सबैले मतदातालाई जागरुक बनाउनु आवश्यक छ ।