हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले करिब ४ महिनाको अवधिमा शिक्षा क्षेत्रमा करिब एकचौथाई बजेट खर्च गरेको छ । गत साउन महिनादेखि कार्तिक १६ गतेसम्म उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा स्वीकृत बजेटको २५ दशमलब ५४ प्रतिशत खर्च गरेको हो ।
उपमहानगरपालिकाले सामाजिक विकास शीर्षकअन्तर्गत् शिक्षातर्फको सशर्त र आन्तरिक गरी विनियोजन भएको ६८ करोड २३ लाख ८८ हजार रुपैयाँको कुल बजेटमध्ये १७ करोड ४२ लाख ७७ हजार ७ सय ३३ रुपैयाँ खर्र्च भएको जनाइएको छ । जसमा ५० करोड ८१ लाख १० हजार २ सय ६७ रुपैयाँ मौज्दात रहेको शिक्षा विकास महाशाखा हेटौंडा उपमहानगरपालिकाका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिनुभयो ।
४ महिनाको अवधिमा शिक्षा विकास महाशाखा हेटौंडाले शिक्षकहरुको मासिक तलब भुक्तानी, दिवा खाजा कार्यक्रमको रकम निकासा, विद्यालय व्यवस्थापन समिति गठन, शिक्षा समिति बैठक आयोजना गरेको छ । यस्तै, स्थानीय पाठ्यक्रम वितरण, सिकाई केन्द्र निर्माण, लेखापरीक्षणका लागि सूचना प्रकाशन, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका विद्यालयसँग सम्झौता, कक्षा थपको अनुमति, सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई आइसीटी तथा विद्यालय सफ्टवेयरबारे २ दिने तालिम दिएको छ ।
शिक्षा क्षेत्रमा ठूलो रकम विनियोजन भएको भए पनि अधिकांश रकम शिक्षकको मासिक तलब भुक्तानीका लागि बजेट खर्च हुने शिक्षा अधिकृत खड्काले बताउनुभयो । साउन र भदौ महिनाको दिवा खाजा निकासा गर्दा ५३ लाख ३९ हजार ३ सय २५ रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो ।