हेटौंडाः आगामी मंसिर ४ गते प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन एकसाथ हुँदैछ । संसदीय निर्वाचनलाई आम निर्वाचन पनि भन्ने गरिन्छ । संसदीय निर्वाचनमा देशभरबाट सांसद चयनका लागि मतदान हुने भएकोले पनि यसलाई आम निर्वाचन भन्ने गरिएको हो । संसदीय शासन व्यवस्थामा देशभरबाट निर्वाचित जनप्रतिनिधिले सिंगो देशलाई नै मध्यनजर गरेर विशेषगरी नीति, नियम, कानुन निर्माण गर्ने हो ।
हाम्रो मौलिक संसदीय व्यवस्थामा भने प्रधानमन्त्री हुने उम्मेदवारले समेत आफ्नै निर्वँचन क्षेत्रमा गरेका विकास र आगामी दिनमा विकास गर्ने आश्वासन दिएर निर्वाचनमा मतदातासँग मत माग्ने गरेका छन् । आम मतदातासँग मत माग्ने र आम मतदाताका लागि नीतिगत कार्य गर्ने भएकोले पनि आम निर्वाचन भनिने संसदीय निर्वँचनमा पछिल्लो समय आम सभामा ठूला दलकै ध्यान जान सकेको छैन ।
राष्ट्रिय दलहरु नै आम सभाको आयोजना गर्न डराउने गरेका छन् । विशेषगरी आम सभाको आयोजना र आम सभामा मतदातासँग प्रतिवद्धता व्यक्त गर्ने आँट दलका नेता र उम्मेदवारमा नहुनु नै आम सभा बिनाको आम निर्वाचन हुने स्थिति बनेको हो । आम मतदातालाई आफ्नो गहकिला र सान्दर्भिक योजना, नीति, कार्यक्रम प्रस्तुत गर्ने आँट नहुनुले नै आम मतदातासम्म दलका नेता र उम्मेदवार पुग्न सकेका छैनन् । यसले बहुदलीय व्यवस्थालाई नै कमजोर बनाउने खतरा बढेको छ ।
ठूला दलका नेता, उम्मेदवारलाई आम सभाको आयोजना गर्नुपर्ने आवश्यकताका बारेमा जिज्ञासा राख्दा अहिले सबै मतदातालाई विशेषगरी सामाजिक सञ्जालमै अपील गर्ने गरिएको, ससाना समूहमा मतदातालाई भेट्दा नै प्रभावकारी हुने दावी गर्छन् । साना समूहमा रहेर आफ्नो राजनीतिक दलप्रति आस्था राख्ने समूहलाई आग्रह गर्ने र उनीहरुलाई प्रलोभन देखाएर प्रभावित गर्न सहज मान्ने नेता र उम्मेदवारले संसदीय प्रणालीलाई नै विफल पारिरहेको भन्ने चेत आउनु पर्छ । ससाना समूहमा आफू र आफ्नो दलप्रति आस्था राख्नेहरुका अगाडि अनेकौं गफलाई आफ्नै कार्यकर्ता पत्रकारले बनाएका समाचार इमेल गरेर चुनावी प्रचार हुने भ्रम पनि नेता र उम्मेदवारका लागि उत्तिकै खतरनाक छ । आम सभामा गरिएका प्रतिवद्धताप्रति सबैखाले पत्रकारले लेखेका समाचार हेरेर आफ्नो योजना बनाउन सक्ने नेता र उम्मेदवारले मात्रै दलीय व्यवस्थालाई बलियो बनाउन र आफूलाई सक्षम नेता बनाउन सक्नेछ ।
आम सभामा दलका समर्थक, शुभेच्छुक मात्रै नभई प्रतिस्पर्धी दलका समर्थक र शुभेच्छुकदेखि कुनै दलप्रति आवद्ध नभएका तटस्थ मतदाता पनि सहभागी हुन्छन् । आम सभा भनेपछि सबैलाई जुनसुकै पार्टीको आम सभामा सहभागी हुन सहज समेत हुन्छ । आम सभाले नेतालाई जवाफदेही भएर बोल्न बाध्य बनाउँछ भने मतदाता पनि नेता र उम्मेदवारले आम सभामा गरेका प्रतिवद्धताप्रति सकारात्मक हुने सम्भावना रहन्छ । निर्वाचनलाई आम नागरिकको सरोकारको विषय बनाउन पनि आम सभा जरुरी छ । तर, राष्ट्रिय भनिएका दलहरु नै कमजोर धरालतमा रहिरहेका बेला उम्मेदवार समेत कमजोर मानसिकताबाट ग्रस्त भई आम नागरिकलाई आव्हान गर्ने, प्रतिवद्धता व्यक्त गर्ने र दृढताका साथ राजनीतिक चरित्र निर्माणमा भइरहेको कमजोरीले दलीय व्यवस्थालाई नै कमजोर बनाउने जोखिम बढ्दै गएको छ ।
प्रमुख भनिएका दलहरुले प्रतिवद्धतापत्र समेत तारे होटेलमा, सीमित व्यक्तिको उपस्थितिमा सार्वजनिक गरेर निर्वाचनमा जनमत आफ्नो पक्षमा पार्ने चेष्टा गरिरहेका छन् । त्यसैले दलीय व्यवस्थाको सुन्दर पक्षको रुपमा दलले आम नागरिकलाई आव्हान गर्ने, आग्रह गर्ने, आश्वस्त पार्ने आम सभामा नेता र उम्मेदवारको उपस्थिति रहोस् ।