हेटौंडाः चाडपर्वको लामो समयको बिदापछि मकवानपुरका शैक्षिक संस्थाहरु आज सोमबारदेखि खुल्दै छन् । न्यून संख्याका केही शैक्षिक संस्था दशैं र तिहारको बीचमा खुलेका थिएन । गत असोज ९ गतेदेखि बन्द भएका विद्यालय दशैं, तिहार र छठपर्व सकिएसँगै आजदेखि खुल्ने भएको हो ।
केही विद्यालय भने भोलि मंगलबारदेखि खुल्ने छन् । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले तयार पारेको वार्षिक शैक्षिक क्यालेण्डरमा भने आज सोमबार विद्यालय बन्द रहने उल्लेख गरिएको छ । हेटौंडा–१, चाइनाक्वाटरस्थित अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीले शैक्षिक क्यालेण्डरअनुसार नै सोमबारदेखि पठनपाठन सुचारु हुने जानकारी दिनुभयो ।
हेटौंडा–५, पिप्लेस्थित जेनिथ बोर्डिङका शिक्षक प्रिया पाण्डेले आज सोमबारदेखि विद्यालयमा पठनपाठन सुरु गरिने बताउनुभयो । यस्तै मंगलबारदेखि विद्यालय खुला हुने भएसँगै आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले विद्यालयको खेलमैदान सरसफाइ गरेको छ । लामो समयको विदापछि विद्यार्थी विद्यालय आउन लाग्दा सरसफाई गरेर आकर्षित गर्ने प्रयास गरिएको विद्यालयले जनाएको छ ।