वत्सराज कोइराला

हामीले आफ्नो जीवनसाथीलाई कति सुख र आनन्द दिएका छौं भन्ने प्रश्न सामान्य छ तर यसको जवाफ भूत र वर्तमानको मूल्यांकनमा टिकेको हुन्छ र यसैले भविष्यको आधार तय गर्दछ ।

अग्नि साक्षी राखेर वा प्रेम सम्बन्धबाट वा अरु कुनै औपचारिक रिवाजबाट बाँधिएपछि जीवनसाथी बनिने हो । परिणय बन्धनमा बाँधिएपछि आफ्नो जीवनसाथीले राखेका अपेक्षाहरु पूरा हुन्छन् वा हुँदैनन् उसको आशा पूर्ण गर्ने इमानदार कोशिश भएको छ वा छैन, यसबारे चिन्तन हुनु जरुरी छ । अरु कुनै दिन हुन नसके पनि कम से कम विवाहको वर्षगाँठमा यस विषयमा छलफल हुनै पर्छ ।

हामी विवाह वर्षगाँठलाई धुमधामसँग मनाउँछौं तर दाम्पत्य बन्धनको यो वार्षिक पर्वमा पारस्परिक सम्बन्ध र अपेक्षाहरुको बारेमा चिन्तन गर्दैनौं । विवाहको केही वर्षपछि नै अधिकांश युगल एक–अर्का वास्तै नगर्ने गर्छन् । महिनौं वा वर्षौंसम्म साथ–साथ बसेर पनि दुइवटा मेसिनहरु एकसाथ आ–आफ्नो काम गरे झैं बस्छन् ।

दिन–रात आस–पास रहेर पनि पराइ जस्तो हुनुको प्रमुख कारण हो पारस्परिक प्रेम, निष्ठा र श्रद्धाको अभाव । हुन त केही यस्ता भाग्यमानीहरु पनि छन् जसको दाम्पत्य प्रेम बुढेसकालसम्म जस्ताको तस्तै छ । घर–गृहस्थी र बच्चाहरुको झन्झटको कारण दाम्पत्य जीवन नीरस हुन सक्ला तर यसको जिम्मेवार स्वयम् दम्पति नै हुन् ।

केही अपवादहरु छोडेर भन्न सकिन्छ कि यस्तो हुनुमा अधिकांशतः पुरुष वर्ग जिम्मेदार छन् । पुरुषको मानसिकता स्वेच्छाचारी प्रकृतिको हुन्छ । सम्बन्धको विस्तारको भोक पुरुषलाई बढी हुन्छ तर महिलाहरुमा यस्तो हुँदैन । सुरक्षित दाम्पत्य जीवनप्रति सदैव नारी समर्पित हुन्छे । त्यागी स्वभावकी हुन्छे नारी र सबै स्वाहा गरेर पनि घर–गृहस्थीलाई कायम राख्न हरसम्भव प्रयास गर्छे ।

तर पुरुषको स्वभाव आफ्नो घर–परिवार प्रति लापरवाही गर्ने खालको हुन्छ । धेरैजसो पुरुषहरु सोच्दछन् कि आखिर यो कहाँ जान्छे, सदैव मसँग नै त गुजारा गर्छे । स्त्रीको श्रद्धा, एकनिष्ठता र विश्वासको फाइदा पनि पुरुषले नै उठाई रहन्छ । सद्गृहस्थका लागि यो राम्रो कुरा होइन । आजकल दाम्पत्य जीवनमा हुनुपर्ने शाश्वत माधुर्य र विश्वासको कमी देखिन थालेको छ । आपसी सम्बन्धलाई निभाउने दायित्व नै बिर्सेका छन् दम्पतिले । वास्तवमा एक–अर्काप्रति समर्पणको भावना नै गृहस्थीको मूल आधार हो भन्ने कुरा बिर्सनु हुँदैन ।

हामी केवल दैहिक धरातलको क्षणिक आनन्दका लागि परिणय सूत्रमा बाँधिएका होइनौं । न कुनै स्वार्थी सम्झौता हो विवाह । आपसी विश्वास र आपसी प्रेमबाट मात्र जीवन सुखद हुन्छ । आफ्नो जीवनसाथीलाई उपेक्षित गरेर अर्काको प्रशंसा गर्नु वा आफ्नो जीवनसाथीलाई अरुसँग तुलना गर्नु हुँदैन । यसबाट दुबैको जीवन सुखी हुन सक्दैन । यौवनको जोश समाप्त हुनुअघि नै यस्तो यथार्थको बोध भयो भने ‘न्याउरी मारी पछुतो’ हुने छैन ।
जीवनसाथी केही बर्षका लागि नभई पूरै जिन्दगीभरका लागि हुने हो । हिन्दू शास्त्रले सात जन्मसम्म साथ रहने नाता मानेको छ यसलाई । तर एक जन्ममा नै प्रगाढता नष्ट हुन गयो भने जीवन दुखदायी हुनेछ । परिणय बन्धनको केही समयपछि नै आफ्नो भाग्यलाई सराप्ने मानिसहरुले आफ्नो खुट्टामा आफैं बन्चरो हानिरहेका हुन्छन् ।

जीवनमा आनन्द र मस्ती चाहने हो भने हृदयस्थ प्रेमलाई कदापि बिर्सनु हुँदैन । ईमानदारीसँग दाम्पत्य जीवन निर्वाह गर्नु पर्दछ । आफ्नो जीवनसाथी आफुसँग कति खुशी छ र कति विश्वास गर्छ यही नै दाम्पत्य प्रेमको मापदण्ड हो । प्रेममा स्त्री–पुरुषको भेदसँग कुनै सरोकार हुँदैन । केवल पारस्परिक श्रद्धा, विश्वास र प्रेमसँग सरोकार रहन्छ । त्यसैले आत्मचिन्तन गरौं आफ्नो जीवनसाथीलाई कति खुशी राख्न सकिन्छ ।