बागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो समय तीनपाङ्ग्रे सवारी साधनको चाप अत्यधिक बढेको छ । तीनपाङ्ग्रे अटो तथा ईरिक्सा (मयूरी)को चापसँगै हेटौंडा बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा उत्तिकै समस्या बनिरहेको छ । सवारी चाप बढेसँगै बजार क्षेत्रमा दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । विशेषगरी अटो तथा मयूरीले जथाभावी रोकेर यात्रु कुर्ने, यात्रु चढाउने र ओराल्ने क्रममा जथाभावी रोक्ने र मोड्ने गर्दा अन्य सवारी पनि दुर्घटनाको जोखिममा पर्ने गरेका छन् । यसले सवारी तथा पैदलयात्रीको आवागमनमा समेत असर पुगेको छ । तिब्र गतिमा अटो चलाउने क्रमसमेत बढ्दै गएको अवस्थामा हेटौंडा उपमहानगरपालिकाले तीनपाङ्ग्रे सवारीको व्यवस्थापनमा चासो देखाएको छ ।

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा सञ्चालन हुने तीनपाङ्ग्रे सवारी व्यवस्थापनका लागि करिब चार वर्षअघि नै हेटौंडा उपमहानगरपालिकाले चासो देखाए पनि प्रभावकारी कार्यान्वयन हुन सकेन । हेटौंडा बजार क्षेत्रमा सञ्चालन हुने अटो तथा ईरिक्सा व्यवस्थापनका लागि हेटौंडा उपमहानगरले यस्ता सवारी दर्ता गरी स्टीकर टाँस गर्ने कार्य सुरुवात गरेको भए पनि त्यसले निरन्तरता नपाउँदा लागू हुन सकेको थिएन । यातायात व्यवस्था कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका तीनपाङ्ग्रे सवारीहरु कति संख्यामा हेटौंडा बजार क्षेत्रमा चलिरहेका छन् भन्ने यकिन तथ्यांक छैन । हेटौंडा बजार क्षेत्रमा रहेको जनसंख्याको चापअनुसार कति संख्यामा यस्ता सवारी आवश्यक पर्ने भन्ने कुनै अध्ययन तथा लेखाजोखा पनि गरिएका छैनन् । यातायात व्यवस्था कार्यालयले जति पनि तीनपाङ्ग्रे सवारी साधन दर्ता गरिरहने र बजार क्षेत्रमा निर्वाध सञ्चालन भइरहँदा सडकमा सवारी चाप निकै बढेको हो ।

अहिले फेरि हेटौंडा उपमहानगरपालिकाले उपमहानगरमा दर्ता भएका अटो तथा मयूरीमा स्टीकर टाँस गरी नगरमा दर्ता नभएका अटो र मयूरी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । सोमबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले विगतमा पनि सुरुवात गरेर निरन्तरता दिन नसकेको तीनपाङ्ग्रे सवारीमा स्टीकर टाँस्ने कार्य फेरि अघि बढाउने भएको हो । तीनपाङ्ग्रे सवारीको व्यवस्थापनका बारेमा अध्ययन गरी सुझाव पेश गर्न उपमहानगरपालिकाले एक समिति बनाएको थियो । समितिले यातायात व्यवसायी संघसंस्था, सुरक्षा निकायसँगको छलफल तथा स्थलगत अध्ययनबाट बजार क्षेत्रमा सञ्चालन हुने तीनपाङ्ग्रे सवारी व्यवस्थापनका लागि स्टीकर टाँस्ने निर्णय गरेको छ । उपमहानगरको मुख्य बजार क्षेत्रको निश्चित प्रवेश विन्दु तोकेर त्यसभित्र स्टीकर नटाँसिएका अटो तथा मयूरीलाई प्रवेश निषेध गर्ने बताइएको छ ।

हेटौंडा बजार क्षेत्रमा सञ्चालन हुने अटो तथा मयूरीको व्यवस्थापन अपरिहार्य बनेको छ । उपमहानगरपालिका क्षेत्रमा कति संख्यामा यस्ता सवारी साधन सञ्चालनमा छन् र कति आवश्यक हो भन्ने यकिन नगरी यसको प्रभावकारी व्यवस्थापन सम्भव छैन । स्टीकर टाँस्ने कार्यले मुख्य बजार क्षेत्रमा तीनपाङ्ग्रे सवारी नियन्त्रणमा केही सहयोग पुगे पनि यो दीर्घकालीन समाधान होइन । सवारीमा स्टीकर टाँस्ने कार्यले तीनपाङ्ग्रे सवारीको संख्या यकिन हुनुका साथै यसको नियमनमा सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । निश्चित रुटमा चल्ने सार्वजनिक यातायातका साधन व्यवस्थापन गर्न सहज हुने भए पनि जहाँसुकै आवतजावत गर्ने अटो तथा ईरिक्साजस्ता साना सवारी व्यवस्थापन त्यति सहज हुँदैन । यसको दीर्घकालीन समाधानका लागि सडक चौडा बनाउने र बजार क्षेत्रमा सञ्चालन हुने तीनपाङ्ग्रे सवारीलाई उपमहानगरपालिकाबाट अनुमति लिनुपर्ने व्यवस्था गर्नु आवश्यक छ ।